सत्तारूढ दलबीच संघीयता र धर्मबारे जुहारी

हिमाल प्रेस १८ माघ २०७९ १७:०२
14
SHARES
सत्तारूढ दलबीच संघीयता र धर्मबारे जुहारी

काठमाडौँ– संघीयता र धर्मको विषयलाई लिएर संसद्मा सत्तारुढ दलबीच जुहारी चलेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने एमाले सांसद रघुजी पन्त र राप्रपाका सांसद डा. धवलशमशेर राणाले धर्म र संघीयतालाई लिएर एकअर्काको आलोचना गरेका हुन्।

सांसद पन्तले संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै सहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गरेपछि राप्रपाका राणा प्रतिवादमा उत्रिएका थिए। उनले आफूहरूले उठाएका मुद्दालाई मन पराएर जनताले जिताएर पठाएकाले नहेप्न आग्रह गरे।

मन्त्री पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनसमेत अवज्ञा गरेको आरोप पन्तको छ। राप्रपाका नेतासमेत रहेका मन्त्री पाण्डेले गृहजिल्ला चितवनमा पुगेर संघीयताविरोधी अभिव्यक्ति दिएका थिए। पन्तले भने, ‘म यो संविधानको आधारभूत मान्यताविरुद्ध नजान म सरकारका मन्त्रीजीहरुको ध्यानाकर्षण गराउन चाहन्छु।’

पन्तले संविधान र कानुनको अधीनमा रहेर मन्त्रीहरुले आफ्नो अभिव्यक्ति दिनुपर्ने बताए। उनले भने, ‘संविधानअनुसार शपथग्रहण गर्नुभएको, संविधान र कानुनअनुसार चल्छु भनेर शपथ लिनुभएका मन्त्रीज्यूहरूले प्रधानमन्त्रीज्यूसँग यसरी आफ्ना कुरामा अन्तरविरोध गर्न मिल्दैन।’ उनले प्रधानमन्त्री र मन्त्री सार्वजनिक रूपमा विवादमा आउनु गलत रहेको बताए।

प्रधानमन्त्रीले संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिने कानुनमन्त्री पाण्डेलाई स्पष्टीकरण सोध्ने चेतावनी दिए पनि राप्रपाले अटेर गरेको पन्तको भनाइ छ। मन्त्री बनेपछि चितवन पुगेका पाण्डेले भनेका थिए, ‘हामीले संघीयता स्वीकार गरेका छैनौँ। राजतन्त्रबारे हामीले कुराकानी गरेका छौँ। धर्म निरपेक्षताको विरोध गरेका छौँ।’

पन्तको अभिव्यक्तिपछि सांसद राणाले राप्रपा राजासहितको प्रजातन्त्र स्थापना गर्ने लक्ष्य लिएर संसद्‌मा आएको बताए। उनले संसद्‌मा राप्रपामाथि प्रहार गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्।

‘मैले पार्टीको कुरा नगर्ने विचार गरेको थिएँ तर माननीयज्यूले प्रहार गर्नुभयो। यो कुरा सत्य हो राप्रपा पार्टी सानो होला तर हामी नेपाली जनताको मनमा भिजेका छौँ,’ उनले भने, ‘हामी नेपालमा फेरि सनातन हिन्दू राष्ट्र कायम गर्न आएका छौँ।’

राणाले आफूहरूको लक्ष्य नै राजासहितको प्रजातन्त्र स्थापना रहेको बताए। उनले भने, ‘त्यो कुरा संविधानले रोक्दैन। संविधानमा यो अपरिवर्तनीय बुँदा भनिएको छैन। हामीले बोल्न पाउनुपर्छ, हामी बोल्छौँ र त्यो हामी समयमा कार्यान्वयन गर्छौँ। त्यसको मतलब यो होइन कि हामी संविधानलाई मान्दैनौँ, व्यवस्थालाई मान्दैनौँ।

संविधानभित्र रहेर पार्टीले बोकेका मूल्यमान्यता कार्यान्वयन गर्ने उनको भनाइ छ। राणाले भने, ‘हामीलाई हेप्ने र होच्याउने काम अब आइन्दा नहोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =