फाइल तस्बिर 
                                            काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतको भनाइमाथि आपत्ति जनाएका छन्।
आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसद पन्तले सहरी विकासमन्त्री विक्रम पाण्डेले संघीयता र धर्मनिरपेक्ष स्वीकार गर्न नसक्ने बताएको भन्दै आपत्ति जनाएका थिए।
पन्तले अहिलेको संविधान बमोजिम सांसद र मन्त्री बनेर व्यवस्था विरोधी गतिविधि गर्न कसैलाई छुट नरहेको बताए।
संविधानको व्यवस्थाबारे प्रधानमन्त्री र मन्त्रीको भनाई फरक फरक रहेको टिप्पणी गर्दै धर्म निरपेक्षता लागू गरेका कारण क्रिश्चियन धर्म नबढेको पनि दाबी गरे ।
माओवादीका सांसद बस्नेतले पनि व्यवस्था बदलिए पनि अवस्था बदलिएन भनेर भ्रम फैलाउने काम राप्रपाले गरेको आरोप लगाए। संघीयताको विरोध गर्नेले देशका विभिन्न भाग पुगेर अध्ययन गर्न पनि उनको आग्रह छ।
पन्त र बस्नेतले बोलेको विषयमा सांसद शाहीले विशेष समयमा आपत्ति जनाए। उनले प्रश्न गर्दै भने, ‘संविधान बनाउने बेलामा संघीयता चाहिन्छ कि चाहिँदैन? धर्मनिरपेक्षता चाहिन्छ कि चाहिँदैन भनेर जनताबाट संकलन गरिएको जनमत आज किन सार्वजनिक गरिएन?’

                                             
                                             
                                             
                                             
                                             
                                             

