कर्णाली उत्सव शुक्रबारदेखि

हिमाल प्रेस ४ फागुन २०७९ २०:०५ | Thursday, February 16, 2023
कर्णाली उत्सव शुक्रबारदेखि

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव (कुडा कर्नाली)को चौथो संस्करण भोली (शुक्रबार)देखि हुने भएको छ। वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सुरु हुने भएको हो। कर्णाली उत्सव आयोजक ऋति फाउण्डेशनले बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि उत्सव हुने जानकारी गराएको हो।

उत्सवका अघिल्ला संस्करणको माध्यमबाट कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तनमा सहयोग पुर्याएको आयोजकले बताएको छ। उत्सव २०७६ फागुनबाट निरन्तर हुँदै आएको छ।
गएका वर्षहरूमा कर्णालीको समग्र समृद्धिका लागि सार्थक बहसको नियमित श्रृंखला भइसकेको आयोजकको भनाइ छ।

कर्णाली उत्सव भाषा, साहित्य, संस्कृति र कलामा मात्र सिमित नरही समृद्ध कर्णालीको सार्थक सपनाबारे बहस गर्ने थलो पनि बनेको छ। सोही क्रममा विभिन्न ५० भन्दा बढी विषयमा छलफल गरिसकेको आयोजकको भनाइ छ।
खासगरी सत्ताको केन्द्रीकृत मानसिकतालाई चिर्दै बहुलवाद पहिचान र प्रश्नहरू गर्दै जवाफदेहिताको खोजी गर्ने कुरामा उत्सवमा जोड दिइन्छ। उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको कर्णालीका परम्परागत भाग्य र मानकहरूलाई कसरी बदल्ने भन्ने बारेमा चर्चा गरिन्छ।

शासकसामू उभिन नसक्ने नागरिकका सिमान्त स्वरहरूलाई प्रश्न किन गर्ने भनेर जवाफदेहिताको लागि खबरदारी गर्न सधैँ उत्प्रेरित गरिरहने उद्देश्यले कर्णाली उत्सव आयोजना गरिन्छ। उत्सवको चौथो संकस्करण ‘विचारको एक मात्र प्रहारले समाज बदलिँदैन। त्यसका लागि प्रहारको निरन्तरता जरूरी छ। अनि मात्र जडताको पहाड फोडिन्छ, भन्ने सन्दर्भसहित आयोजना गरिन लागेको उत्सवका संयोजक कमल लम्सालले बताए।

कर्णालीका हिरोहरु भनेर चिनिने पैकेलोका कथाहरु लोकबाजाका प्रस्तुतिहरूका अलावा कर्णाली कन्सर्टका रूपमा हरेक दिन साँझ सांगीतिक साँझ गजल साँझ र कविता साँझले यस वर्ष फेरि बुलबुले परिसर रंगीन हुने अपेक्षा गरिएको छ। उत्सवको उद्घाटन सत्र बिहान १० बजे निर्धारण गरिएको छ। उत्सवमा यस पटक पनि देशदेशावरबाट ५० भन्दा बढी साहित्यकार लेखक, पत्रकार, कलाकारलगायतको उपस्थिति हुनेछ।

उत्सवलाई थप आकर्षक बनाउन निजीक्षेत्र लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग साझेदारी गरिएको छ। यस वर्ष उत्सवका लागि ५० देखि ६० लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।

प्रकाशित: ४ फागुन २०७९ २०:०५ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast