शिवरात्रीमा बागमती नदीको बहाव बढाइन्छ : मन्त्री राजेन्द्र लिङ्देन

हिमाल प्रेस ४ फागुन २०७९ १७:०५ | Thursday, February 16, 2023
शिवरात्रीमा बागमती नदीको बहाव बढाइन्छ : मन्त्री राजेन्द्र लिङ्देन

काठमाडौँ- यस वर्षको महाशिवरात्रीका अवसरमा काठमाडौँको बागमती नदीमा प्राकृतिक बहाव बढ्ने भएको छ।  बागमती नदीको प्राकृतिक बहाव बढाउन काठमाडौँको गोकर्णेश्वर नगरपालीका–१ मा निर्माण गरिएको जलाशययुक्त धाप ड्यामको उद्घाटन भएसँगै यसबर्षको महाशिवरात्रीमा बागमतीमा प्राकृतिक बहाव बढ्ने भएको हो।

काठमाडौँको सुन्दरीजलबाट १८ किलोमिटर टाढा निर्माण गरिएको धाप ड्यामको बिहीबार उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले उदघाटन गरे। शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती नदिको बहाव बढाइने बागमती सुधार आयोजनाले जनाएको छ।

धाप ड्यामको उद्घाटन गर्दै लिङ्देनले ड्यामको निर्माणबाट बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरे। उन‍लेधाप ड्याम जस्तै अर्को बागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिए। त्यस्तै शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले बायो इन्जिनियरिङमा ध्यान दिन नसके जलाशययुक्त धाप ड्याम दीर्घकालिन नहुने धारणा राखे।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको जलाशयमा नै धाप ड्याम निर्माण गरिएको हो। जलाशयमा वर्षाको पानी संकलन गरिनेछ। मुख्य बाँधको उचाइ २४ मिटरको रहेको छ भने जलाशयमा ८ लाख ५० हजार घनमिटर पानी सञ्चय गर्न सकिनेछ। आयोजनाको जलाशयबाट बाह्रै महिना बागमती नदीमा खसाल्न सकिने भए पनि हाल आवश्यकताअनुसार बागमतीमा पानी खसालिने बागमती सुधार आयोजनाले जनाएको छ।

प्रकाशित: ४ फागुन २०७९ १७:०५ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast