विद्यालयमा ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रम

हिमाल प्रेस ५ फागुन २०७९ १९:५८ | Friday, February 17, 2023
विद्यालयमा ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रम

टीकापुर- कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्र अध्ययनमा विद्यार्थीलाई उत्प्रेरित गर्न शुक्रबारदेखि ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रम सुरु गरिएको हो।

ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेकाले उक्त कार्यक्रम उपलब्धिमूलक हुने गाउँपालिकाको अपेक्षा छ। विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सकेमा कृषि विषय अध्ययन गर्न विद्यार्थीलाई उत्प्रेरित गर्ने र कृषिमा भएका नवीनता प्रविधिसम्बन्धी ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए। ‘हाम्रो पालिकाका अधिकांश किसान कृषिमा निर्भर छन्’ उनले भने, ‘उनीहरूका छोराछोरीलाई कृषिसम्बन्धी ज्ञान दिने उद्देश्य हामीले लिएका छौँ।’

बालबालिका उच्च शिक्षा पढेर बेरोजगार भइरहेको अवस्था रहेको अवस्थामा कृषि पढेमा आफ्नै बारीमै कृषि गरेर पनि राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ थियो। गाउँपालिकाले यस वर्ष जयपार्वती आधारभूत विद्यालय परागीपुर, जनता माध्यमिक विद्यालय अमरावती र अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटामा विद्यार्थी कृषि करेसाबारी कार्यक्रम सञ्चालन गरिरहेको छ।

उक्त कार्यक्रमअन्र्तगत विद्यार्थीलाई कुनै एक बालीका बारेमा सैद्धान्तिक ज्ञान दिने, विद्यार्थीको प्रत्यक्ष सहभागितामा बाली बिरुवामा देखिने विभिन्न समस्या पहिचान गर्ने र समाधानका उपायबारे जानकारी दिइरहेको गाउँपालिकाको भनाइ छ।

उक्त कार्यक्रम लागू भएका विद्यायलमा कृषि प्राविधिक शिक्षक तथा अन्य सहयोगको व्यवस्था गाउँपालिकाले गरेको छ। सातामा एक दिन कृषिबारे सैद्धान्तिक पढाइ हुने र अन्य दिनमा व्यावहारिक तथा प्रयोगात्मक कार्य गरिनेछ । ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रममा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीको सहभागिता हुने कार्यक्रम लागू भएका विद्यालयले बताएका छन्।

यस कार्यक्रमलाई अभिभावकले सकारात्मकरूपमा लिएका छन्। जानकी गाउँपालिकाका कृष्ण धामीले छोरीलाई कृषि प्राविधिक पढाउने तयारी गरिरहेकाले यस कार्यक्रमले सघाउ पुग्ने बताए। ‘पालिकाले विद्यालयमै कृषि पढाउने राम्रो सुरुआत गरेको छ’ उनले भने, ‘यो कार्यक्रम सबै विद्यालयमा लागू हुनुपर्छ।’ कार्यक्रमले कृषियोग्य जमीन संरक्षण हुनुका साथै पढेलेखेका युवालाई कृषिमा रुचि जगाउने उनको भनाइ थियो। रासस

प्रकाशित: ५ फागुन २०७९ १९:५८ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast