राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न एमालेले पठायो दलहरूलाई पत्र

हिमाल प्रेस १३ फागुन २०७९ १९:४७ | Saturday, February 25, 2023
राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न एमालेले पठायो दलहरूलाई पत्र नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक दलहरूलाई औपचारिक पत्र पठाएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले कांग्रेसबाहेक संसदमा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिए।

उनका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र पठाइएको हो।

‘नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य एवम् उपयुक्त उम्मेदवार हुनुहुन्छ, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

यस्तै एमालेले ०७९ सालको नयाँ जनादेशअनुरूप गत पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गराएको जनाएको छ।

यो पनि:

नेकपा एसले भन्यो : ओलीले नेम्बाङलाई भोट मागेर पठाएको पत्रको कुनै अर्थ छैन

प्रकाशित: १३ फागुन २०७९ १९:४७ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast