बैतडी : तीन वर्षमा १३० शिशुको मृत्यु

हिमाल प्रेस ५ फागुन २०७९ ११:०४ | Friday, February 17, 2023
बैतडी : तीन वर्षमा १३० शिशुको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

बैतडी- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो।

यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। आव २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा ५१ नवजात शिशुको मृत्यु भएको उनले जानकारी दिए।

गत आवमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो। यस्तै मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा छ, दशरथचन्द र पाटन नगरपालिकामा पाँच/पाँच, डिलाशैनी र शिवनाथ गाउँपालिकामा चार/चार तथा सुर्नया गाउँपालिकामा दुई नवजात शिशुको मृत्यु भएको छ।

स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मी नहुनु, सुत्केरी हुन स्वास्थ्य संस्था नजानुलगायत कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ। समय अगावै जन्मिनु, नवजात शिशुमा संक्रमण हुनु र निस्सासिएर पनि शिशुको मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ।

जिल्लामा एक सय ३० सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा छन्। नवजात शिशुको मृत्यु रोकथामका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड छ।

प्रकाशित: ५ फागुन २०७९ ११:०४ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast