बैंकहरूको ज्यादतिविरुद्ध उद्योगी व्यवसायीको प्रदर्शन

हिमाल प्रेस ५ फागुन २०७९ १७:१५ | Friday, February 17, 2023
बैंकहरूको ज्यादतिविरुद्ध उद्योगी व्यवसायीको प्रदर्शन बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध केही दिनअघि काठमाडौँमा गरिएको प्रदर्शन।

काठमाडौँ- उद्योगी व्यवसायीले बैंकहरूविरुद्ध प्रदर्शन गरेका छन्। शुक्रबार उद्योगी व्यवसायीका ४७ वटा छाता संगठनले बैंकहरूको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उद्योगी व्यवसायी महासंघका ९ वटा महासंघ र ३८ वटा संघले संयुक्त रूपमा बैंकहरूविरुद्ध सडक आन्दोलन गरेका हुन्।

पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदर र बैंकहरूको ज्यादतिविरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताउँदै सडकमा उत्रेका हुन्। विरोध कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाउन माग नगरेको भन्दै व्यंग गरे। उनले बैंकहरूको आतंक बन्द गरिदिन आफूहरूको माग रहेको बताए।

व्यवसायीहरूलाई गरिखान दिने वातावरण बनाइदिन आफूहरुको माग रहेको सिटौलाको भनाइ थियो। देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायीहरू प्रेम आचार्य नै बन्नुपर्ने हो? भन्दै उनले प्रश्न गरे।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताए। उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुनपर्ने बताए। उनले बैंकर्स र वित्तीय संस्थाहरूका सञ्चालक सामन्ती बनिरहेको आरोप पनि लगाए। बैंक तथा वित्रीय संस्थाहरूको ज्यादतिप्रति सरकार मौन बस्न नमिल्ने कार्कीको भनाइ छ।

सरकारले उद्योगमैत्री कानून कडाईका साथ लागू गर्नुपर्ने कार्कीको माग थियो। पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उद्योगी व्यवसायीको छ।

उद्योग तथा व्यापारमा रहेको सिण्डिकेटको अन्त्य गर्नुपर्ने भन्दै उद्योगी व्यवसायीले बैंकहरूको ज्यादती नरोकिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: ५ फागुन २०७९ १७:१५ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast