बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हिमाल प्रेस ४ फागुन २०७९ १८:५४ | Thursday, February 16, 2023
बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बुटवल– बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ। प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गरे।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताए। उनले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताउँदै विद्यालयतहमा खेलाडी उत्पादनका लागि सहकार्य गर्न बुटवल उपमहानगरपालिका सधै तयार रहेको बताए।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका हरि क्षेत्रीले जिल्लाको खेलकुदलाई स्तरीय बनाउनका लागि प्रतिबद्ध रहेको बताए। प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए।

प्रतिगोगिताअन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी रहेको उनले बताए।

प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको १ महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए। उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटनका अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति देखाएको थियो।

प्रकाशित: ४ फागुन २०७९ १८:५४ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast