बागलुङ : चन्दा उठाएर बाल विकास केन्द्र सञ्चालन

हिमाल प्रेस ६ फागुन २०७९ ११:०० | Saturday, February 18, 2023
बागलुङ : चन्दा उठाएर बाल विकास केन्द्र सञ्चालन

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकका अभिभावकले चन्दा उठाएर बाल विकास केन्द्र सञ्चालन गरेका छन्। दमेकको काउले, चौडिल्ला गाउँका अभिभावकले बालबालिकाको सहजताका लागि चन्दा संकलन गरेर बाल विकास केन्द्र सञ्चालनमा ल्याएका हुन्।

काउले चौडिल्लामा २०६२ सालमा गैरसरकारी संस्था सेतो गुराँस बाल विकासले स्थापना गरेको केन्द्र जैमिनी नगरपालिकाले तीन वर्षअघि सुन्तलाचौर माविमा स्थानान्तरण गरेको थियो।

तीन वर्षदेखि गाउँ नजिक बाल विकास केन्द्र नभएकाले बालबालिकालाई असहज भएको भन्दै गाउँले मिलेर ‘नमूना बाल विकास केन्द्र’ सञ्चालन गरिएको स्थानीय अभिभावक धनबहादुर जिसीले बताए।

गाउँलेले आफ्नै स्रोतमा एक जना बाल विकास सहजकर्ता नियुक्त गरेका छन्। ‘पहिले यहाँ नमूना बाल विकास केन्द्र थियो, पछि बालबालिकाको संख्या निकै कम हुँदा सुन्तलाचौरमा स्थानान्तरण गरियो’, जिसीले भने, ‘स्थानान्तरणको समयमा चार जना मात्रै बालबालिका थिए, अहिले संख्या बढेर आठ जना पुगेको छ, पहिले बाल विकास केन्द्र थियो विद्यार्थी थिएनन, अहिले विद्यार्थी छन्, बाल विकास केन्द्र छैन।’

स्थानान्तरणको समयमा बाल विकास केन्द्रका लागि आवश्यक बालबालिकाको संख्या पुगेमा यथावत रहने गरी स्थानान्तरणको पत्र नगरपालिकाले थमाएको थियो। विद्यार्थी संख्या पुगेपछि वडा कार्यालय र नगरपालिकाको शिक्षा शाखामार्फत बाल विकास केन्द्र पुनः सञ्चालनका लागि स्थानीयले पहल थालेका थिए।

शैक्षिक सत्र सकिनै लाग्दासमेत बाल विकास केन्द्र पुनः सञ्चालनमा आउन नसकेपछि तीन महिनादेखि अभिभावककै सक्रियतामा बाल विकास केन्द्र सञ्चालनमा ल्याएको जिसीले बताए।

नगरपालिकाले काउले, चौडिल्लामा बाल विकास केन्द्र पुनःस्थापनाको लागि तयारी भइरहेको जनाएको छ। ‘त्यो बेला नमूनामा विद्यार्थी थिएनन, सुन्तलाचौरमा विद्यार्थी थिए तर बाल विकास थिएन, त्यसैले स्थानान्तरण गरियो’, नगर शिक्षा अधिकारी खेम आचार्यले भने, ‘वडा कार्यालयले बाल विकास सहजकर्ता माग गरेर सिफारिस पठाएको छ, छिट्टै पठाउँछौँ।’

प्रकाशित: ६ फागुन २०७९ ११:०० | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast