पोखरा- पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ। सृजना विकास केन्द्रले कास्की जिल्ला भलिबल संघसँग मिलेर सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगिता सुरु गरेको हो।
मंगलबार देखि सुरु भएको प्रतियोगिता फागुन १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ। प्रतियोगितामा ४५ टिमले भाग लिएका छन्। तीमध्ये छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम रहेको सृजना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।
छात्रछात्रा दुवैतर्फ विजेतालाई १–१ लाख, उपविजेतालाई ६०–६० हजार र तृतीय हुने विद्यालयलाई ३५–३५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकको भनाइ छ। उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन्।
भलिबल खेल विकास, विस्तार र खेलाडी उत्पादनका लक्ष्यमा यो प्रतियोगिता सफल हुँदै आएको आयोजक कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङले बताए। सृजना विकास केन्द्रका पूर्वअध्यक्ष एवं सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारीले विगतमा क्लबले विद्यालयस्तरमा सृजना रनिङ सिल्ड आयोजना गरेको बताउँदै सृजना कपका रूपमा यहाँसम्म आइपुग्दा खुसी लागेको बताए।
प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ। ब्चत भएको रकम भलिबल खेलको विकासका लागि कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा सञ्चालित सृजना बालगृहमा सहयोग गरिने संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बताए। उद्घाटनका दिन पहिलो चरणका खेल भएका छन्।
उद्घाटनका अवसरमा कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँले खेलले एक मनसँग अर्को मन जोड्न मद्दत गर्ने बताए। उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको पनि उपस्थिति थियो।



