सांकेतिक तस्बिर
                                            सर्लाही- सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ। पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ।
हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति स्थापना गर्ने तयारी छ। वनभोजस्थल, सेल्फीसेट, जंगल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदैछ । चार करोड ९७ लाखको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए।
‘पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ’, उनले भने, ‘थप रकम नगरपालिकाले विनियोजन गर्नेछ।’ उद्यान निर्माणको ठेक्का गोपिनीगंगा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ। हाल सो कार्यमा ३० कामदार कार्यरत छन् । उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

