 
                             
                                            पोखरा- बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोधमा पोखराका उद्योगी व्यवसायीहरू सडक आन्दोलनमा उत्रिएका छन्।
उद्योग व्यापार नबनेसम्म अर्थतन्त्र नबच्ने भन्दै उनीहरूले बैंकिङ दबाब बन्द गर्नुपर्ने, ब्याजदर एक अंकमा झार्नुपर्ने, ब्याजमा मनपरी प्रिमियम बन्द गर्नुपर्ने, उद्योगी व्यवसायीलाई पीडित घोषणा गर्नुपर्ने, तरलता समस्या समाधान गर्नुपर्ने मागसहित सडक आन्दोलन थालेका हुन्।
बैंक तथा वित्तीय संस्थासम्बन्धी समस्या समन्वय समितिले बिहीबार पोखराको चिप्लेढुंगामा एक घण्टासम्म सवारी आवागमन बन्द गरेर धर्ना दिएको हो। विरोध कार्यक्रममा उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व रहने गरी विभिन्न संघसंस्थाका ब्यानरसहित उपस्थित ठूलो संख्यामा उपस्थित भएका थिए।
कार्यक्रममा समन्वय समिति संयोजक एवं पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की लगायतले बोलेका थिए।
उनीहरूले यो प्रारम्भिक आन्दोलन भएको तर माग सुनुवाइ नभए राष्ट्र बैंक घेर्न जाने चेतावनीसमेत दिए। उद्योग व्यवसायीहरूले कोरोना महामारीका कारण थला पर्दै आएको आफ्नो व्यवसायी अझै चलायमान बन्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले गरेको ब्याजदर वृद्धि तत्काल घटाउनुपर्ने माग गरेका छन्।
आफूहरूलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीले रातको समयमा पनि घरमै आएर दबाब दिने गरेको उनीहरूको गुनासो छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 