गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

हिमाल प्रेस ६ फागुन २०७९ ९:१४ | Saturday, February 18, 2023
गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

गुल्मी- गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेपछि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ।

हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो।

जिल्लाको इस्मा गाउँपालिका–२ हस्तिचौरकी लक्ष्मी बुढाथोकी हाडजोर्नीको उपचारका लागि पटकपटक पाल्पा पुगेको सम्झिन्छन्। छोराको उपचारका लागि आएकी लक्ष्मी गुल्मीबाटै उपचार भएपछि खुसी छन्। ‘एकदमै खुसी लागको छ, हाडजोर्नी डाक्टर यही हुनुहुन्छ’ उनले भनिन्, ‘आफ्नै जिल्ला अस्पतालबाट उपचार पाउँदा धेरै सहज भयो।’

रेसुंगा नगरपालिका–१ तम्घासका महाशर्मा भण्डारीको बायाँ हातमा समस्या थियो। उनले यसअघि यस्तो समस्या हुँदा पटकपटक पाल्पा जानुपरेको सुनाइन्। गुल्मीमै हाडजोर्नीका विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि भण्डारीले उपचारमा निकै राहत महसुस गरिन्। ‘पहिले यस्तै समस्या हुँदा अन्यत्र जान्थेँ’, उनले भने, ‘हाडजोर्नीको सबै उपचार यही हुने भएपछि सबैलाई टेवा पुग्यो।’

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाट उपचारका लागि आएका गोपाल पाण्डे यसअघि हाडजोर्नीको निरन्तर जाँचका लागि पाल्पा धाउनुपरेको बताउँछन्। पाल्पा र बुटवलमा हुने उपचार तम्घासबाटै हुने भएपछि आफुहरुलाई निकै सहज भएको उनले बताए। ‘अन्यत्र जाँदा धेरै खर्चिलो हुने र सहयोगीलाई गाह्रो हुन्थ्यो’, उनले भने, ‘धेरै सहज भयो, समयको पनि बचत भयो।’

उनीहरू मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन्। जसमा अधिकांश गुल्मेली र केही अर्घाखाँचीका बिरामीसमेत छन्। प्रत्येक बुधबार हाडजोर्नीका बिरामीको शल्यक्रिया हुँदै आएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर प्रदीप शिवाकोटीले बताए।

गुल्मी अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या रहेको थियो। जसका कारण हाडजोर्नीको सेवा नहुँदा बिरामीलाई सास्ती भएपछि रेसुंगा नगरपालिकाले सहजीकरण गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।

सरकारले दिने तलब बराबर थप भत्ता दिएर विशेषज्ञ डाक्टर टिकाएपछि बिरामीलाई सहज भएको नगर प्रमुख पन्थीको भनाइ छ।

प्रकाशित: ६ फागुन २०७९ ९:१४ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast