अर्थतन्त्र सुधारौँ : धनराज गुरुङ

हिमाल प्रेस ३ फागुन २०७९ २१:२४ | Wednesday, February 15, 2023
अर्थतन्त्र सुधारौँ : धनराज गुरुङ फाइल तस्बिर।

लुम्बिनी- प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्नतर्फ लाग्नुपर्ने बताएका छन्। संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्र उकास्न प्रयत्न गर्नुपर्ने बताएका हुन्।

बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस समारोहलाई बुधबार सम्बोधन गर्दै उनले मुलुक श्रीलंका हुनबाट जोगाउनुपर्ने बताए। ‘मुलुक श्रीलंकाको बाटोमा जाने त हैन भन्ने आमचासो र चिन्ता देखिन्छ’ उनले भने ‘यस्तो अवस्था आउन नदिन हामी सबै राजनीतिक दल, जनप्रतिनिधि र उद्योगी व्यवसायीले सामुहिक प्रयास गर्नुपर्ने देखिन्छ।’ जनप्रतिनिधिहरू सुविधाभोगी हुन नहुने भन्दै मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने पनि बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताए। संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने उनले बताए। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा सहर बनाउने योजना रहेको सुनाए।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई साझा सहरका रूपमा स्थापित गर्ने योजना रहेको बताइन्। बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाइदै आएको छ ।

प्रकाशित: ३ फागुन २०७९ २१:२४ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast