दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

हिमाल प्रेस १७ माघ २०७९ १३:५६
4
SHARES
दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ। नगरपालिकामा जारी नगरस्तरीय महिला टि२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो।

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए।

नगरपालिकाले पहिलोपटक खेलाडीको हौसला र सम्मानस्वरुप प्रत्येक खेलमा खाजास्वरुप भत्ताको व्यवस्था गरेको हो। नगरपालिकाले खाजा खर्चस्वरुप भत्ताको व्यवस्था गरेपछि खेलाडीहरू पनि खुसी भएका छन्।

खेलाडीको सम्मानस्वरुप भत्ता व्यवस्था गर्दा निकै खुसी लागेको दनपा–२ देहिमाडौँका खेलाडी पिंकी बोहराले बताए। खाजा खर्चवापत दिँदै आएको भत्ताले आफूहरूलाई खेलमा हौसला मिलेको र उक्त रकमले आफूले चाहेअनुसारको खाजा खान पनि सहज भएको बोहराको भनाइ छ।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ। सहिद दिवसका अवसरमा सहिद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगितामा सात टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यस्तै प्रतियोगितामा ‘ओमेन अफ द सिरिज’लाई तीन हजार, ‘बेष्ट बलर’ र ‘बेष्ट ब्याट्स ओमेन’लाई १५÷१५ सय, अनुशासित टोलीलाई तीन हजार र ‘ओमेन अफ म्याच’लाई ट्रफी प्रमाणपत्र दिइने जनाइएको छ।

समापन समारोहमा नगरपालिकाभित्रका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो। खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले बताए।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ।

प्रकाशित: १७ माघ २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =