नेपालले भारत र चीनसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्छौँ : अमेरिका

हिमाल प्रेस १६ माघ २०७९ १९:०७
34
SHARES
नेपालले भारत र चीनसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्छौँ : अमेरिका संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार ललितपुरको पाटन दरबार परिसरमा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- नेपालले आफ्ना छिमेकीहरू (भारत र चीन)सँग बनाएको सुमधुर सम्बन्धलाई अमेरिकाले भित्रैदेखि स्वागत गर्ने जनाएको छ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्ना विशाल दुई छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढेमा नेपालको विकासमा अन्य मुलुकले गर्ने सहयोग र लगानी सहज हुने उल्लेख गरेकी हुन्।

उनले नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा महत्त्वपूर्ण पक्षको रूपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयलाई ध्यान दिन कहिल्यै भुल्न नहुने पनि स्पष्ट पारिन्।

नेपाल यस क्षेत्रमा अमेरिकाले मित्रता गाँसेको पुरानो मुलुक भएको उल्लेख गर्दै उनले भनिन्, ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा पारदर्शी होस्, अर्थात् भ्रष्टाचार नहोस्। नेपालले आफ्ना सबै छिमेकीसँग बनाएको सुमधुर सम्बन्धलाई अमेरिकाले हृदयदेखि नै स्वागत गर्दछ।’

उपविदेशमन्त्री नुल्यान्डले सोमबार आफ्नै मुलुकको सहयोगमा जिर्णोद्वार गरिएको पाटन दरबार क्षेत्रको अवलोकनपछि पत्रकार सम्मेलन गरेर त्यस्तो बताएकी हुन्। उनले नेपालको सीमा जोडिएको भारतसँग अमेरिकाको साँच्चै बलियो सम्बन्ध रहेको र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रूपमा अघि बढिरहेको बताइन्।

गतिशील छिमेकीको बीचमा रहेको नेपालले आफ्नो पहिचान बनाएर सहकार्य गर्न सक्ने उनको सुझाव छ। अमेरिकाले सबै मुलुकलाई लोकतन्त्र र त्यसको पाटोमा जोडिएका पक्षबाट नियाल्ने गर्छ भन्दै उनले भनिन्, ‘नेपाललाई धेरै मौका छन्। छिमेकसँग सुमधुर सम्बन्ध र हामीसँगको सहयोग रहँदा नेपाल साँच्चै माथि पुग्ने विश्वास हाम्रो छ।’

उपमन्त्री नुल्यान्डले अमेरिकाले नेपालमा जे गरे पनि सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको उल्लेख गरिन्। उनले भनिन्, ‘नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्षदेखिको हो। यसलाई अर्को ७५ वर्षसम्मको सहकार्यमा नियाल्ने प्रयास हुनुपर्छ।’

भारतसँगको सहकार्य भइरहेको र चीनसँग पनि अमेरिकाको सहकार्य एवं संलग्नता आगामी दिनमा बढेर जाने उनले बताइन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दई महिना अघि भेटवार्ता भएको र आगामी दिनमा अमेरिकासँगको संलग्नता झनै बढेर जाने नुल्यान्डले बताइन्।

उनले थप स्पष्ट पार्दै भनिन्, ‘अमेरिकाले एउटा वा अर्को भन्दै मुलुक रोज्ने गर्दैन। हामी यहाँ जेजस्ता सहयोगका लागि अग्रसर हुने गरेका छौँ, त्यो भनेको नेपालको आफ्नो लोकतन्त्र र समृद्धिका लागि हो।’

‘हामी जहाँ जे गरिरहेका छौँ, नेपालका जनता र अमेरिकी जनतालाई फाइदा होस् भनेर नै गर्ने हो। दुईपक्षीय सम्बन्धमा दोहोरो फाइदा हेरिन्छ। अमेरिकाको एक मात्र उद्देश्य दुवै मुलुकको लोकतान्त्रिक सम्बन्ध बलियो बनोस्।’

नेपालको छिमेकको प्रगतिको कारण होस् या आफ्नो विगतको कार्यले नेपाललाई साँच्चै धेरै मौका रहेको बताउँदै उनले भनिन्, ‘हामी जहाँ जे गरिरहेका छौँ, नेपालका जनता र अमेरिकी जनतालाई फाइदा होस् भनेर नै गर्ने हो। दुईपक्षीय सम्बन्धमा दोहोरो फाइदा हेरिन्छ। अमेरिकाको एक मात्र उद्देश्य दुवै मुलुकको लोकतान्त्रिक सम्बन्ध बलियो बनोस्।’

लोकतन्त्र र लोकतन्त्रसँग जोडिएका पक्ष बलियो भएको खण्डमा सबै सहकार्य उत्तम हुनेछ। नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत् सहयोग गरिरहेको पनि उनले जानकारी दिइन्।

अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता उनले व्यक्त गरिन्।

नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै नुल्यान्डले भनिन्, ‘नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने हो।’

नेपाल भ्रमणका क्रममा नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन्।

नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो भ्रमणलाई अमेरिकाले सम्बन्ध विस्तारको रुपमा गरिने नियमित भ्रमण भने पनि नेपालमा रहेका विभिन्न प्रकारका जानकारले आफूलाई विज्ञको रूपमा प्रस्तुत गर्दै अनेकन अड्कल बाजी गरिरहेका छन्।

प्रकाशित: १६ माघ २०७९ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =