सुदूरपश्‍चिम सरकारले २० दिन बित्दा पनि पाउन सकेन विश्‍वासको मत

मन्त्रिपरिषद् विस्तार नहुदाँ कामकाज प्रभावित

पदमराज भट्ट १६ माघ २०७९ १६:१३
30
SHARES
सुदूरपश्‍चिम सरकारले २० दिन बित्दा पनि पाउन सकेन विश्‍वासको मत

धनगढी– गत पुष २७ गते सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावलले अझै विश्वासको मत लिन सकेका छैनन्। नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्जसमेत रहेका रावल माओवादी केन्द्र, उन्मुक्ति पार्टी र राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा विश्वासको मत दिन नदिने भनेपछि मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसकेका हुन्।

रावलले २९ सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनले २७ सांसदको विश्वासको मत पाउनुपर्छ। २९ जना प्रदेशसभा सदस्यमध्ये माओवादीबाट एक जना सभामुख र नेकपा एमालेबाट एक जना उपसभामुखमा चयन भइसकेका छन्।

विश्वासको मत लिन माघ ११ गते २ बजे बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरीएको छ।

संविधानको धारा १६८ को उपधारा (२) वा (३)र धारा १८८ को उपधारा १ वा २ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ।

सुदूरपश्चिममा सरकार गठन भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै थप दुई जना मन्त्री नियुक्त भए पनि उनीहरू हालसम्म बिनाविभागीय छन्। मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ र नियुक्त भएका मन्त्रीको कार्यविभाजन पनि कहिले तोकिने हो भन्ने टुंगो लागेको छैन।

विभागीय मन्त्री नभएकाले मन्त्रालयका कामकाज प्रभावित भएका छन्। मुख्यमन्त्रीको शपथ लिएकै दिन माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा मन्त्री नियुक्त भएका थिए।

एमाले र माओवादी सांसदहरूको सम्पूर्ण ध्यान विश्वासको मत लिनेमै रहेको भए पनि विश्वसनीय आधार तयार भइसकेको छैन। मुख्यमन्त्री रावलका लागि विश्वासको मत पुग्ने मुख्य आधार नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्। तर, निर्णायक रहेको नागरिक उन्मुक्तिले सरकारमा सहभागिता र विश्वासको मतका लागि पार्टीका संस्थापक रेशम चौधरीसहित अन्य ६ जनालाइ रिहा गर्नुपर्ने माग गर्दै आएको छ।

आफ्ना माग सम्बोधनको प्रक्रिया सुरु गरे मात्र पनि विश्वासको मत दिने तर विश्वस्त वातावरण नबनेसम्म मत नदिने उन्मुक्ति पार्टीको भनाइ छ।

उन्मुक्ति फकाउन मुख्यमन्त्री रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उन्मुक्ति नेता रेशमलगायतसँग भेटघाट गरेर फर्केका थिए। फर्केको चार दिन भइसक्दासमेत उनले विश्वासको मत लिन सुरसार गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =