सुर्खेतमा ‘रन फर युनिटी’ प्रतियोगिता हुँदै

रमा केसी १६ माघ २०७९ १०:१९
14
SHARES
सुर्खेतमा ‘रन फर युनिटी’ प्रतियोगिता हुँदै

सुर्खेत- वीरेन्द्रनगरमा माघ २१ गते एकताका लागि ‘रन फर युनिटी’ प्रतियोगिता हुँदैछ। कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि प्रतियोगिता आयोजना हुन लागेको नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ।

खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रूपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाको भनाइ छ।

करिब एक हजार जनाको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रासमेत समावेश गरिएको छ, जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष/महिला दौड र १० किलोमिटर पुरुष/महिला दौड रहेका छन्।

प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले भाग लिन पाउने छन्।

प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिनेछ। यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रर्दशनीसमेत गर्ने भएको छ। कार्यक्रम वीरेन्द्रनगर खुलामञ्चमा हुनेछ ।

यसैबीच नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाहरूलाई हेलिकोप्टरबाट उद्धार गरेको हो।

हेडक्वार्टरको अर्धवार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै मेजर रेनु शाहले गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिइन्। जसमा कर्णालीका २६ र सुदूरपश्चिमका १५ जना रहेका छन्।

कर्णालीका डोल्पाबाट ४, मुगुबाट २, दैलेखबाट ६, हुम्लाबाट २, रुकुमबाट ३ जना रहेका छन्। जुम्लाबाट १, कालीकोटबाट ३, जाजरकोटबाट ५ सुत्केरीको उद्धार गरिएको छ। यस्तै सुदूपश्चिमको बैतडीकी १, डोटी २, डडेल्धुरा १, बाजुरा ३, दार्चुला ४ र अछामका ४ सुत्केरीको हवाई उद्धार गरिएको हो।

यस्तै सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी घाइते भएका १४ जनाको हेलिकोप्टरबाट उद्धार गरेको छ। १४ हजार ७ सय ३५ केजी राहत सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको सेनाले जानकारी दिएको छ।

प्रकाशित: १६ माघ २०७९ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =