गंगालाल अस्पताललाई हृदयरोग अध्ययन केन्द्रका रूपमा विकास गरिने

हिमाल प्रेस १५ माघ २०७९ २१:४५
6
SHARES
गंगालाल अस्पताललाई हृदयरोग अध्ययन केन्द्रका रूपमा विकास गरिने

काठमाडौँ– सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने भएको छ। आज २७औँ वार्षिकोत्सव समारोहमा केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुरोगको विशिष्टीकृत सेवासहित मुटुको सबै अध्ययन गरिने भएकाले केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने बताए।

उनका अनुसार केन्द्रमा मुटुरोगको रोकथाम, उपचार र हृयरोगसम्बन्धी उच्चस्तरीय उपचार तथा मुटुसम्बन्धी सबै अध्ययन गरिनेछ। केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले केन्द्रमा वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा विश्वस्तरीय अत्याधुनिक उपकरणसहितको प्रविधिले उपचार गर्दा ‘सुपर स्पेसियालिटी कार्डियक सेन्टर’का रूपमा स्थापित गरिएको बताए।

उनले विश्वमा गरिने जुनुसुकै प्रकारको मुटुको उपचार केन्द्रमा गरिने जानकारी दिए। उनका अनुसार केन्द्रमा गत वर्ष नेपालमा नै पहिलो पटक विना शल्यक्रिया मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ।

केन्द्रले २०७८ फागुन १६ गतेदेखि ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टाभी)’ विधिबाट मुटुको कृत्रिम भल्ब राख्ने सेवा सुरु गरेको छ। उनले अहिलेसम्म सातजनाको टाभी विधिबाट मुटुको कृत्रिम भल्ब राखिएको जानकारी दिए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवालाई विकेन्द्रीत गर्नुपर्ने बइन्। उनले मुटुको उपचार सात प्रदेशबाट सुरुआत गर्नुपर्ने बताए। राज्यमन्त्री कार्कीले मन्त्रालयले केन्द्रको क्षमता विस्तार गर्नका लागि सक्दो सहयोग गर्ने भनाइ राखिन्।

सांसद प्रदीप पौडेलले केन्द्रलाई दक्षिण एसियाको मुटुरोगको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताए। उनले सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने उल्लेख गरे।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले एकमात्र मुटुरोग अस्पतालले उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गरिरहेको भन्दै केन्द्रलाई अझ सर्वोत्कृष्ट बनाउनुपर्ने बताए। उनले केन्द्रले नयाँ प्रविधि भित्र्याई बिरामीलाई थप सेवा दिनका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा डा. भगवान कोइराला, डा. अरुण मास्के, डा. दामोदरप्रसाद पोखरेल, डा. अग्निभूषण उपाध्याय, डा. मनबहादुर केसी र डा. ज्योतेन्द्र शर्मा तथा २५ वर्ष सेवा गरेकालाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ।

०५२ सालमा ९ शय्याबाट मुटुरोगका लागि स्थापना गरिएको केन्द्रमा अहिले २ सय ७० शय्या रहेको छ। केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध रहेको बताइएको छ।

केन्द्रले १ वर्षमा १ लाख ६१ हजार छ सय ६४ जनालाई बहिरंग सेवा र १२ हजार पाँच सय ८१ जनालाई अन्तरंग सेवा, १८ हजार ७९ जनाले आकस्मिक सेवा प्रदान गरेको जनाएको छ।

१ वर्षमा एक हजार छ सय सातजनाको मुटुको शल्यक्रिया र हृदयघात भएर आएका सात सय ३० जनाको प्राइमरी एन्जिओप्लाष्टी गरेको कार्यकारी निर्देशक डा. अधिकारीले जानकारी दिए। प्राइमरी एन्जिओप्लाष्टिक हृदयघात भएको २४ घण्टाभित्र गरिसक्नुपर्दछ।

केन्द्रमा आर्थिक वर्ष ०६३/६४ देखि १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुको उपचार, आव ०६४/६५ देखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र आव ०६६/६७ देखि विना शल्यक्रिया मुटुको साँघुरिएको भल्ब खोल्ने प्रविधि सुरु गरिएको छ।

यस्तै केन्द्रले बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिबी बिरामी राहत सुविधालगायतका सेवासुविधा पनि प्रदान गरिरहेको छ। केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले २७ वर्षमा २२ लाख बिरामीले बहिरंग सेवामार्फत मुटु परीक्षण गराएको बताए।

यस्तै २० हजार जनाको मुटुको शल्यक्रिया, ५० हजार जनाको कोरोनरी एन्जियोग्राम तथा १८ हजारको प्राइमरी एन्जिओप्लाष्टिक गरिएको छ। केन्द्रले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ। भवनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी मन्त्रालयमा स्वीकृतीका लागि पठाइसकेको कार्यकारी निर्देशक डा. अधिकारीले जानकारी दिए। -राससको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =