टाइगर कप भलिबल : पुरुषमा गण्डकी, महिलामा एपीएफ च्याम्पियन

हिमाल प्रेस १४ माघ २०७९ १९:५३
8
SHARES
टाइगर कप भलिबल : पुरुषमा गण्डकी, महिलामा एपीएफ च्याम्पियन

पोखरा– घरेलु टोली गण्डकी प्रदेश र विभागीय एपीएफ क्लब टाइगर कप भलिबल प्रतियोगितामा क्रमशः पुरुष तथा महिलातर्फ च्याम्पियन बनेका छन्।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार फाइनलमा पुरुषतर्फ गण्डकीले विभागीय एपीएफ क्लबलाई ३-२ सेटमा हराउँदै उपाधि जित्दा महिलातर्फ एपीएफले अर्को विभागीय त्रिभुवन आर्मीको चुनौती ३-१ सेटमा पन्छाउँदै उपाधि रक्षा गरेको हो।

पहिलो संस्करण जितेको गण्डकीले दोस्रो पल्ट च्याम्पियन बन्ने क्रममा प्रतिस्पर्धात्मक खेलमा कठिन जीत हात पारेको हो। पहिलो सेट १६-२५ मा गुमाएको गण्डकीले दोस्रो सेटमा २५-१८ मा जितेको थियो। तेस्रो सेटमा २५-१९ ले जित्दै जीत नजिक पुगे पनि चौंथो सेट एपीएफलाई सुम्पियो।

एपीएफ २८-२६ ले खेल जित्दै बराबरी खेलेकोमा पाँचौं तथा अन्तिम सेटमा भने गण्डकीले १५-८ को स्कोरले जित्यो। सेमिफाइनलसम्म अपराजित एपीएफको चुनौती पन्छाउँदै अन्ततः गण्डकी ५ लाख रुपैयाँ पुरस्कारको हकदार बनेको हो। उपविजेताले २ लाख ५० हजार पुरस्कार पाएको छ।

सेमिफाइनलमा त्रिभुवन आर्मीको चुनौती सोझो सेटमा पन्छ्याउँदै गण्डकी फाइनल पुग्दा एपीएफले पनि नेपाल पुलिसलाई सोझो सेटमै पराजित गर्दै उपाधि नजिक पुगेको थियो। गत वर्षको विजेता भने आर्मी हो। पहिलो संस्करणमा आर्मीलाई हराउँदै गण्डकीले पहिलो उपाधि जितेकोमा दोस्रो पल्ट पुनः उपाधि जित्न सफल भएको हो।

नेपाल पुलिस क्लब भने तेस्रो भयो। साविक विजेता आर्मीलाई ३-१ हराउँदै तेस्रो स्थान सुरक्षित गरेको हो। पहिलो सेट २५-२२ ले गुमाएको पुलिसले पछिल्ला सेट २५-१८, २५-२१ र २५-२० ले जितेको हो। यसैगरी, महिलातर्फ आर्मीलाई ३-१ को सेटमा हराउँदै एपीएफले दोस्रो पल्ट उपाधि जितेको छ। फाइनलमा उसले २५-२२, २०-२५, २५-८ र २५-२२ को सेटमा हराएको हो।

टाइगर कपको पहिलो संस्करण पुलिसको पोल्टामा गएको थियो। महिलातर्फ होङवान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले तेश्रो स्थान प्राप्त गर्‍यो।

पुरुषतर्फ गण्डकीका रवि केसी र महिलातर्फ एपीएफकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५ हजार प्राप्त गरेका छन्। महिलातर्फ उत्कृष्ट सेटर ललिना नाथ (डायमन्ड), सर्भर अरुणा शाही (गण्डकी), ब्लकर संगम महतो (आर्मी, लिब्रो सरस्वती जैसी (आर्मी), स्पाइकर निरुता ठगुन्ना (एपीएफ) घोषित भए।

उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी बने। पुरुषतर्फ उत्कृष्ट सेटर विवश आलेमगर (गण्डकी), सर्भर घनश्याम चौधरी (गण्डकी), लिब्रो विनोद चन्द (एपीएफ), स्पाइकर टेकराज अवस्थी (एपीएफ), ब्लकर भारतीय खेलाडी नितिन (गण्डकी) बने। पुरुषतर्फ उत्कृष्ट प्रशिक्षकमा रमेश केसी (गण्डकी) घोषित भए।

महिला-पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन्। दुवैतर्फ तेश्रोलाई १ लाख २५ हजार र सान्त्वनालाई ६५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

विजेता टिम तथा खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लीला थापा, प्रकाश बराल, आयोजक टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण शर्मालगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

सो अवसरमा सदस्यसचिव घिसिङले पूर्वमहिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलाई भलिबल खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरे। फाइनलमा फिल्म ह्यारी की प्यारीका कलाकार जितु नेपाल (मुन्द्रे), साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रस्तुति दिएका थिए।

बोतल हानाहानले केहीबेर रोकियो

फाइनल रोमाञ्चक बनिरहेको बेला एपीएफका खेलाडी र दर्शकबीच बोत्तल हानाहान हुँदा खेल केहीबेर रोकिन पुगेको थियो। तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिँदा अप्रिय घटना हुन पाएन।

उक्त घटनामा कुनै मानवीय तथा भौतिक क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ माघ २०७९ १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =