यात्रा संस्मरण

लोमान्थाङको अलौकिक पाँचतले गुफा [तस्बिरहरू]

अजय अलौकिक १४ माघ २०७९ ९:०७
100
SHARES
लोमान्थाङको अलौकिक पाँचतले गुफा [तस्बिरहरू]

केही महिनाअगाडि अमेरिकी फोटोग्राफर किटिया पवलास्की पवलास्कीले आफ्नो वेबसाइटमा अति दुर्लभ जनावर हिउँचितुवाको सगरमाथा क्षेत्रको आसपासमा पुगेर खिचेको फोटो राखेकी थिइन्। जुन निकै भाइरल भएको थियो। तर त्यो तस्बिर एडिट गरिएको तथ्य प्रमाणित भएपछि उनी गलत साबित भइन्। जे होस्, त्यसले विश्वमा नेपालका बारेमा राम्रै चर्चा भयो।

लगत्तै नेपाली वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाले केही वर्षअघि खिचेको हिउँचितुवाको तस्बिर पनि सामाजिक सञ्जालमा देखिएको थियो। साढे दुई वर्षअघि उनको क्यामेरामा कैद भएका ती फोटो मैले हालसालै हेर्न पाएँ। उनका फोटो पनि भाइरल भए।

त्यही बखत राससका फोटो पत्रकार साथी रत्न श्रेष्ठको लोमान्थाङको मनमोहक फोटो पनि हेर्न पाएँ। उनको त्यो फोटोलाई विभिन्न पोर्टलले उनको नामबिना तथा उनलाई क्रेडिटसमेत नदिई प्रकाशन गरेका रहेछन्, जसमा उनको गुनासो र आपत्ति थियो। यसप्रति मेरो पनि शतप्रतिशत समर्थन छ। यसरी उनको लोमान्थाङको रमणीय फोटो देखेर म भने सम्झनामा हराउन पुगेँ।

केही वर्षअघि म पनि लोमान्थाङ पुगेको थिएँ। मैले पनि अनेकन् तस्बिरहरू मेरो क्यामेरामा कैद गरेको थिएँ। हो, ती फोटोहरूलाई उहिले नै आजाद गर्नुपर्ने थियो, तर यो ढलमल जीवनको अलमलमा म ‘प्रोकास्टिनेट’को सिकार छु भनेर मैलै स्वीकार्नैपर्छ।

हेर्नुस् न, त्यो यात्रालाई शृंखलाबद्ध ढंगले नियात्राका रूपमा पाठकमाझ ल्याउँछु भनेको नि एकादेशको कथा बनिसक्यो। साथै ती मन हर्ने गाउँठाउँका तस्बिरलाई पनि उनेर फोटो माला बनाई प्रकाशन गर्छु भनेको पनि ढुसी परिसकेथ्यो। तर यसपटक ती विशिष्ट फोटोग्राफरका दुर्लभ र मनमोहक तस्बिरहरू मेरा लागि ‘डबल सट अमेरिकानो’ बनेर आइदिएको छ।

कुरा हो, २०१७ को। पाँच वर्ष बितिसकेछ त। (चुनावको उम्मेदवारजस्तो पो भइएछ त, पाँचमा एक पटक घरदैलो भनेजस्तै।)

भाइ बिदामा नेपाल फर्केर कहिले गोक्यो, कहिले अन्नपूर्ण सर्किट, यस्तै कता कता गइरहने गर्थ्यो। सो साल पनि भाइ नेपाल घुम्ने योजनामा थियो र म पनि बिदामा नेपाल फर्कँदै थिएँ। अगस्तमा कम वर्षा हुने या भन्दा मनसुनले नछुने ठाउँको खोजी गर्दा लोमान्थाङको यात्रा तय भएको थियो।

१५ दिन लामो ट्रेकिङको वृतान्त बिस्तारै लेखूँला। आजचाहिँ लोमान्थाङको सिजा झोङ गुफाको केही चर्चा गर्न चाहन्छु साथमा तस्बिर छँदैछन्। सुन्दर तस्बिर हो कि ठाउँ हो, त्यो खुट्याउने काम तपाईँलाई नै सुम्पेँ।

लोमान्थाङ कुनै समय निषिद्ध राज्य थियो, दि ल्यान्ड अफ फोरबिडन किङडमको नामले परिचित थियो। लोमान्थाङ अर्थात् उपल्लो मुस्ताङ सन् १९९२ देखि सबैका लागि खुला भएको हो। योसँगै विश्वभरका मानिसले यहाँको प्राकृतिक दृश्य, कला तथा संस्कृतिको अवलोकन गर्न अनुमति पाएका छन्।

हिमालपारिको जिल्ला भनिने मुस्ताङमा पाइने वनस्पति, जनावर, चराचुरुंगीका साथै जैविक, भौगोलिक र सांस्कृतिक तथा सामाजिक दृश्य, चालचलन, रहनसहनको अध्ययन, अनुसन्धान तथा अवलोकनको एउटा फरक अनुभव सङ्गाल्ने अवसरका साथै मानव इतिहासको नयाँ खोजको समेत सम्भावना बोकेको छ।

ल्यान्ड अफ फोरबिडन किङडमको नाम सुनेदेखि नै आकर्षित छु म। सन् २०१२/१३ तिर हुनुपर्छ, त्यहाँ तीन हजार वर्ष पुरानो मानव सभ्यताको प्रमाण भेट्टाइयो। यस्तै केही गुफा छ भन्ने सुन्नमा आएपछि मेरो लामो भ्रमण गन्तव्य सूचीमा यो ठाउँको स्थान उक्लेको थियो।

वास्तवमा सन् २००७ मा नै नेपाल सरकारले अनुसन्धानकर्ता, पुरातत्त्वविद्, भूगर्भविद्, इतिहासविद्को टोलीलाई मुस्ताङको गुफा अध्ययन तथा फोटो खिच्न मात्र अनुमति दिएको रहेछ। यस्तै सन् २००८ मा अर्को एउटा टोलीलाई ‘उद्धार र पुनःस्थापना अभियान’ का रूपमा गुफामा पठाइएको र सो टोलीले विविध कागजपत्र संकलन गरेको रहेछ।

सन् २०१० मा अर्को टोलीले कलाकृति र मानव अवशेष संकलन गरेको थियो। त्यसपछि यस गुफालाई पुरातात्त्विक, सांस्कृतिक सम्पदाको साथमा पर्यटन गन्तव्यका रूपमा विकास गरेको देखिन्छ।

के तपाईँलाई थाहा छ? यी गुफा लगभग तीन हजार वर्षपहिले मुख्यतया शव गाड्नका लागि बनाइएका थिए रे। लगभग १ हजार वर्ष पहिले यी गुफालाई मानिसले शत्रुबाट सुरक्षित रहन वासस्थानका रूपमा प्रयोग गरे। यसबाहेक गुफा पूजा र प्रार्थनाका लागि पनि प्रयोग हुन्थ्यो।

यो गुफालाई विश्वको ठूलो पुरातात्त्विक रहस्यमध्ये एक मानिएको छ। मानव सभ्यताको विकाससँगै गुफाको प्रयोगमा विविधता र भिन्नता देखिएको अनुसन्धानविद्को निष्कर्ष छ। लोमान्थाङको छोस्सेरमा अवस्थित यो गुफा देखेर जोकोही आश्चर्यचकित हुन्छन्।

स्काई केभ पनि भनिने यसलाई स्थानीय सिजा झोङ गुफा भन्दा रहेछन्। बाहिरबाट हेर्दा एउटा चट्टाने पहाड मात्रै हो। तर वरपरका पहाडभन्दा यसको स्वरूप भिन्न पनि देखिन्छ किनकि यसमा प्वाल खोपिएका देखिन्छन्।

हुन त कागबेनीमै प्वालैप्वालको पहाड हेरेर आएको थिएँ। यहाँ धेरै हावा चल्छ। त्यसैले हावा र हिउँले पहाडलाई कोतर्दै या खियाउँदै लगेको बताइन्छ। धेरै पहाडका छातीमा धेरैधेरै छिद्र र प्वाल हेर्दै अगाडि बढेका थियौँ, हामी (भाइ अक्षय, पथप्रदर्शक तासी र म)।

लोमान्थाङसम्मको पदयात्रामा यसरी खियाउँदै लगेपछिको प्वालैप्वालको पहाड तथा विभिन्न आकृतिका पहाड र ढिस्काले मोहित बनाएको थियो। यस्ता अनौठा लाग्ने, मोहित बनाउने प्राकृतिक दृश्यहरूबीच कतै यस्तै पहाडी गुफामा गुम्बा पनि थियो।

पौराणिक कथामा उल्लेख भएजस्तो ऋषिमुनिको तपस्थल लाग्ने, त्यस्तै बेताल (फ्यान्टम) कमिक्सको सम्झना दिलाउने खालका थिए।

यो गुफाको बाहिरी दृश्य फरक थियो नै फेरि पहाडको छातीमा त्यो प्वाल नभएर झ्यालजस्तो लाग्ने अनि पहाड एउटा विशाल भवनजस्तो पनि देखिन्थ्यो। त्यसमाथि ९अवश्य पनि पछि निर्माण गरेको हुनुपर्छ० बरन्डासमेत निकालिएको छ। बाह्य स्वरूपले पहाडलाई झ्यालढोकासहितको घरको आकार दिइएको देखिन्थ्यो।

यो दृश्यले मानव विकासचक्र बुझाएजस्तो पनि लाग्यो। त्यो विशालकाय पहाडी गुफाको दृश्य निकै आकर्षक थियो। म र भाइ तस्बिर खिच्न थाल्यौँ। तासी टिकट किन्न लागे। अनि भित्र प्रवेश गरियो, पाँचतले र १४४ कोठाको पहाडी गुफा।

यो झोङ गुफाभित्र अझै रमणीय छ। आकाशे गुफाभित्र तलमाथि यताउता गर्ने क्रममा तासीले केही किंवदन्ती पनि सुनाएका थिए।

उहिले लुटेराहरूबाट बच्न स्थानीयहरू यो गुफामा गएर बस्ने तथा प्रतिकारसमेत गर्ने उद्देश्यले किल्लाका रूपमा प्रयोग हुने गरेको उनको भनाइ थियो। यसै गरी तिब्बती आतंककारी समूहले छोस्सेरमा आक्रमण गर्दा यहाँका बासिन्दा यसै गुफामा गएर लुक्दाखेरि आतंककारीले गुफाभरि तेल पोखिदिएको भन्ने जनविश्वास रहेको पनि उनले सुनाए। त्यसै कारण अहिले पनि गुफाभित्र धेरै ठाउँमा तेल पोतिएजस्तो देखिन्छ।

गुफामा कतैकतै तेल पोतेको जस्तै छ त कतै आगोको मुस्लोले कालो बनाएको जस्तो पनि देखिन्छ।

कोठा पनि सानाठूला सबै खालका छन्। कतै निहुरिएर हिँड्नपर्ने त कतै मजाले उभिन सकिने ७र८ फिट उचाइको पनि थियो।

अहिले सुविधाका लागि भर्याङको व्यवस्था छ। पहिले के कसरी तलमाथि गर्थे भन्ने अनुमानमा आधारित केही जानकारी राखिएको भए र त्यसैगरी त्यहाँको उत्खनन्बाट प्राप्त वस्तु र तथ्यहरूको जानकारी दिने व्यवस्था गरिएको भए पर्यटक थप रोमाञ्चित बन्ने देखिन्छ। साथै तीन हजार वर्षदेखिको मानव सभ्यताको विकासको अवस्थाबारे देखाउँदै गर्दा सोही ठाउँमा आफू उभिँदाको अनुभव बेग्लै हुनेछ।

केही कोठामा कलाकृति, केही पूजाआजाका सामग्री तथा केही हतियारजस्ता सामग्री छन्। अहिले कोठामा बत्तीको सुविधा छ। एक कोठाबाट अर्को कोठा जाने सुरुङजस्तै बाटा छन्। एक ठाउँमा सानो प्वालबाट बलपूर्वक सशरीर छिराएर अर्को कोठामा गएको सम्झँदा अहिले पनि रोचक लाग्छ।

अर्को सबैभन्दा चित्ताकर्षक दृश्य भनेको यो गुफाको प्वालरूपी झ्यालबाट बाहिर चियाउनु हो। मनमोहक! अति सुन्दर! ओहो! यस्ता रोमाञ्चित शब्दहरू तपाईँको मुख, आँखा र सशरीरले बोल्नेछन्। ती प्वालबाट देखिने लोमान्थाङको सौन्दर्यको बयान गर्न मसँग शब्दको अभाव छ। त्यसैले त भन्ने गरिन्छ नि, एउटा चित्रले हजार शब्द बोल्छ।

यही गुफा नपुग्दै यस्तै पहाडी गुफामा एउटा गुम्बा पनि छ। लोवो न्यिफुग नामिरोल नोर्बुलिङ गुम्बा अलौकिक छ। यी आश्चर्यलाग्दो गुफा र गुम्बाको व्यापक प्रचारप्रसार सँगसँगै खोज, अनुसन्धानमा विशेष जोड दिनुपर्ने देखिन्छ।

तपाईँ यो गुफासम्मै दुई, चार पांग्राको सहयोगबाट सहज रूपमा पुग्न सकिन्छ। हामीले भने जोमसोमदेखि पदयात्रा गरेका थियौँ। यो गुफा, यो छोस्सेर र लोमान्थाङ मात्रै होइन यो हिमालपारिको मुस्ताङको भ्रमण अविस्मरणीय छ।

प्रकाशित: १४ माघ २०७९ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =