लहान– सिरहाको लहान बजारमा व्यवस्थित ढल निकास नहुँदा स्थानीयहरु समस्यामा परेका छन्। बजार क्षेत्रबाट बग्ने ढल कतै भत्किने त कतै जाम पर्ने समस्याले फोहोर पानी घरभित्र पस्न थालेपछि स्थानीय समस्यामा परेका हुन्।
ढल निकास थुनिएर सार्वजनिक बाटोमा फोहोर जम्मा हुँदा आवतजावत गर्दा नाक थुनेर हिँड्नु पर्ने अवस्था रहेको लहान नगरपालिका-८ का सत्यनारयण चौधरीको भनाइ छ। ‘ढल निकासको उचित व्यवस्था नहुँदा बारम्बार बजार क्षेत्रको फोहोर पानी घरभित्र पस्ने गरेको छ र यसले निकै दुःख दिएको छ,’ उनले भने।
ढल निकासका लागि नगरपालिकालाई पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ। इलाका प्रशासन कार्यालय ग्रामीण चोकदेखि जम्मा हुँदै आएको ढल दक्षिण तिर हुलाकको बाटो हुँदै पूर्व-पश्चिम महेन्द्र राजमार्ग आइपुग्दा ढलको नाली जाम भइ बीच बजार जलमग्न भएको छ।
कञ्चनपुर-कर्जना सडकखण्ड अन्तर्गत चार लेनको बाटो बिस्तारका क्रममा चाइना रेलवे कम्पनीले लहान बजारमा कलभर्ट बनाउने क्रममा तत्कालका लागि ढल निकासामा समस्या आएको लहान नगरपालिका-७ का वडाअध्यक्ष राम औतार शर्माको भनाइ छ।
नगरपालिकाले लामो समयदेखि फोहोरमैला र ढलको उचित व्यवस्थापन नगर्दा यो समस्या आएको चाइना रेलवे कम्पनीका जनसम्पर्क अधिकृत नवीन दुवाडीले बताए। कलभर्ट बनाउने काम १० दिनभित्रै सकिन्छ। त्यतिञ्जेलसम्मका लागि जम्मा भएको पानी ट्यांङ्रबाट अन्यन्त्र विस्थापित गरेर भए पनि ढलमा पानीको सतह बढ्न दिएका छैनौँ’, उनले भने।
फोहोरमैला तथा ढलको दीर्घकालिन व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएको उनले बताए।
नगर प्रमुख महेश चौधरीले नगरपालिका ढल निकाससम्बन्धी व्यवस्थित योजना ल्याउने तयारीमा रहेको जानकारी दिए। ‘फोहोरमैला तथा ढलको उचित व्यवस्थापन नगरको समस्या हो, वृहत योजनासहित चाँडै समाधान गर्ने तयारीमा छौँ,’ उनले भने। -राससको सहयोगमा