माओवादी यसकारण बाध्य छ उपराष्ट्रपति जसपालाई दिन

हिमाल प्रेस १३ माघ २०७९ १४:५५
1.9k
SHARES
माओवादी यसकारण बाध्य छ उपराष्ट्रपति जसपालाई दिन

काठमाडौँ- नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिन बाध्य देखिएको छ। जसपालाई विश्वासमा लिइराख्न माओवादी जसपालाई उपराष्ट्रपति दिन तयार भएको हो।

प्रतिनिधिसभा सदस्य चुनाव हारेका कारण अध्यक्ष यादव तत्काल सत्तामा जाने सम्भावना छैन। उक्त पार्टीलाई उपराष्ट्रपति दिएमा सत्ता गठबन्धनमा साथ रहिरहने माओवादी नेतृत्वको विश्वास छ। माओवादीका एक नेताले भने, ‘लगभग जसपालाई दिने भन्ने छ।’

यस विषयमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उपराष्ट्रपति पद जनता समाजवादीलाई दिने सहमत भएको ती नेताले बताए।
‘सत्ता गठबन्धनको समीकरण कायमै राख्नका लागि उपराष्ट्रपति पद जनता समाजवादीलाई दिने मोटामोटी सहमति भएको छ’, ती नेताले भने।

दुई अध्यक्षबीच बिहीबार बालुवाटारमा भएको भेटमा यस्तो सहमति जुटेको हो।

जसपाले उपराष्ट्रपति पद पाउने सर्तमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सत्ता गठबन्धन दलमध्ये जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ। अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको छ। यस्तै राप्रपाले पनि संघमा उपप्रधानसहित प्रदेश सरकारमा पनि भागबन्डा पाइसकेको छ।

जसपाका एक नेताले भने, ‘नेताहरूबीच उपराष्ट्रपति हाम्रो पार्टीलाई दिने विषयमा कुराकानी भएको छ। तर केकसरी दिने भन्ने विषय भने औपचारिक जानकारीमा छैन।’

रामसहायलाई अघि सारेर सांसद बन्दै उपेन्द्र यादव

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई अघि सारेर आफू संघीय सांसद बन्ने गृहकार्यमा जुटेका छन्। यादव प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट पराजित भएका नेता हुन्।

उनले आफू सांसद बन्ने रणनीतिकै कारण पार्टीको संसदीय दलको नेतामा अशोक राईको सट्टा आफू निकट रामसहायलाई अघि सारेका थिए। रामसहाय उपराष्ट्रपति भएमा बारा संसद् पद रिक्त हुनेछ। रामसहाय बारा निर्वाचन क्षेत्र–२ बाट निर्वाचित सांसद हुन्। रामसहायको ठाउँमा उपनिर्वाचन लडेर संसद छिर्ने उपेन्द्रको तयारी छ।

नेता यादव पनि सबैको चाहना आफू नेतृत्वमा आउनुपर्छ भन्ने रहेको दाबी गरे। उनले भने, ‘अधिकांश नेताहरूले संसद्‌मा मेरो उपस्थिति देख्न चाहनुभएको छ।’ उनले पनि उपराष्ट्रपतिमा आफ्नो दलको दाबी रहेको बताए। यादव पद र शक्तिमा बसिरहन रुचाउने नेता हुन्। २०६३ पछि बनेका हरेक सरकारमा उनी र उनको दलको सहभागिता रहँदै आएको छ।

आफू कसरी संसद् छिर्ने भन्ने विषयमा भने पार्टीमा छलफल नभएको दाबी उनको छ। तर पार्टीमा उनले चाहेको विषयमा निर्णय हुने भएकाले रामसहायलाई राष्ट्रपतिमा अघि सारेर राजीनामा गराउन यादव सफल हुने नेताहरूको बुझाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =