प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रमले नयाँ आयाम थप्छ : एआइजी सिंह

हिमाल प्रेस १२ माघ २०७९ १९:००
6
SHARES
प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रमले नयाँ आयाम थप्छ : एआइजी सिंह

काठमाडौँ– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथिगृह भवनको उद्घाटन कार्यक्रममा बिहीबार उनले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकासप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गरे।

महानिरीक्षक सिंहले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन/अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।

चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नवीनतम प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततिमध्ये जेहेन्दार एक जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततिहरू एक/एक जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको जानकारी दिए।

उक्त अवसरमा उनले नवनिर्मित भवनको निरीक्षण तथा भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रममा आबद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्मला रायमाझी र प्रहरी नायव निरीक्षक पुलवराज गिरीलाई पुरस्कार प्रदान गरे।

साथै उनले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अविनाशध्वज जोशी र प्रहरी सहायक निरीक्षक हरिहर थापासमेतलाई पुरस्कार प्रदान गरे। नेपाल प्रहरी कल्याण कोषको आन्तरिक स्रोतबाट निर्मित ज्येष्ठ अतिथिगृह भवन कुल रु दुई करोड ८३ लाख ९२ हजार लागतमा निर्माण सम्पन्न भएको हो।

प्रकाशित: १२ माघ २०७९ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =