लुम्बिनीमा पाँच हजार मानिसको उपस्थितिमा मोरारी बापुको कथावाचन

हिमाल प्रेस ११ माघ २०७९ २०:४४
14
SHARES
लुम्बिनीमा पाँच हजार मानिसको उपस्थितिमा मोरारी बापुको कथावाचन

बुटवल- बुद्धजन्मस्थल लुम्बिनीमा माघ २१ गतेदेखि २९ गतेसम्म भारतका प्रसिद्ध मोरारी बापुद्वारा कथावाचन हुने भएको छ। नौ दिन लामो रामकथाको ९ सय १२ औँ शृंखलाका लागि प्रसिद्ध कथावाचक बापु लुम्बिनी आउन लागेका हुन्।

बुुद्धजन्मस्थल लुुम्बिनीको महत्त्वलाई थप प्रवर्धन गर्ने उद्देश्यले पवित्र भूमिमा नौ दिन लामो कथा प्रवचन शृंखलाको आयोजना गरिएको हो।

श्रीरामकथा प्रेमयज्ञ समिति लुुम्बिनीले बुधबार पत्रकार सम्मेलन गरी लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा पाँच हजार मानिसको उपस्थितिमा कथावाचन गर्ने जनाएको हो। प्रसिद्ध कथावचक बापु माघ २० गते भारतबाट विमान चार्टर्ड गरेर भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र सीधै लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

कथावाचन माघ २१ गते साँझ ४ बजेदेखि सुरु भई साँझ ७ बजेसम्म र अन्य दिन बिहान १० देखि दिउँसो १ ः३० बजेसम्म हुने संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए। कथाश्रवणका लागि भारतका विभिन्न सहरबाट दुई हजारभन्दा बढी मानिस लुम्बिनी आउने संयोजक अग्रवालले बताए।

‘मोरारी बापु लुम्बिनी आएर कथावाचन गर्नु भनेको हाम्रा लागि गौरवको विषय हो। उहाँमा बुद्ध भगवानप्रति श्रद्धा छ। त्यसैले बुद्धजन्मस्थलमा हुने रामकथा वाचन विशेष रहनेछ’, संयोजक अग्रवालले भने, ‘त्यसमा पनि दुई हजार मानिसले लुम्बिनी, भैरहवा र बुटवलका होटल बुक गरेकाले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्नेछ।’

साँचो प्रेम र करुणाको सन्देश लिएर मोरारी बापु लुम्बिनीमा आउन लागेको आयोजक संस्थाका कृष्णकुमार जालनले बताए। उनका अनुसार यसअघि बोधगया, सारनाथ तथा कुसीनगरमा रामकथा आयोजना गरिसकिएको छ। सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथावाचन भइसकेको छ। यस्तै काठमाडौँ, जनकपुर एवम् तिलिचो तालमा रामकथा प्रस्तुत गरिसकिएको जालनले जानकारी दिए।

लुम्बिनीमा रामकथासँगै बुुद्धको जीवनसँग जोडिएका कथासमेत प्रस्तुत हुनेछ। कथाश्रवणमा सहभागी हुनेलाई दिनको तीनपटक निःशुल्क भोजनको व्यवस्था गरिएको छ। आयोजकले दैनिक पाँचदेखि १० हजारसम्मलाई भोजन गराउने लक्ष्य राखेको बताएको छ।

प्रमुख तीर्थस्थलमा मोरारी बापुले कथावाचन गरिसकेकाले बुुद्ध भगवानको जन्मस्थलमा गरिने कार्यक्रमले पर्यटकलाई आकर्षित गर्ने लुम्बिनी विकास कोषले अपेक्षा राखेको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले भारतीय पर्यटकको आवागमन बढाएको बताउँदै कथावाचनले लुम्बिनीको प्रचार हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्रय) ले बताए। ‘लुम्बिनीमा इभेन्टहरू बढ्दै गएका छन्। यो हाम्रा लागि खुसीको कुरा हो’, उनले भने।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले रामकथासँगै बुद्ध जीवनीका कथा पनि प्रस्तुत गरी लुम्बिनीको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत उपयोग गर्ने गरी कार्यक्रम गर्न दिइएको बताए।

दुई वर्षअघि नै लुम्बिनीमा कथावाचन गर्ने भनिए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो। कथावाचनका लागि भारतबाटै प्राविधिक टोली आएर लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको हलमा साउन्ड सिस्टम र मञ्च व्यवस्थापन भइरहेको छ। कार्यक्रमको भारतको आस्था च्यानलबाट एक सय ७० देशमा प्रत्यक्ष प्रसारण गरिनेछ।

प्रकाशित: ११ माघ २०७९ २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =