दुई शताब्दी पुरानो गोरखाको गुम्बामा आगलागी, मूर्ति र ग्रन्थ नष्ट [फोटो फिचर]

हिमाल प्रेस ११ माघ २०७९ १८:५६
28
SHARES
दुई शताब्दी पुरानो गोरखाको गुम्बामा आगलागी, मूर्ति र ग्रन्थ नष्ट [फोटो फिचर]

काठमाडौँ- गोरखाको चुमनुब्री गाउँपालिका-२ स्थित ल्हो गाउँको प्राचीन ‍पुङ्चे हिनाङ गुम्बामा आगलागी भएको छ। मंगलबार अपराह्न ४ बजेतिरबाट लागेको आगो स्थानीय, प्रहरीको प्रयासमा राति १०:१५ मा नियन्त्रणमा आएको थियो।

बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। आगलागीबाट गुम्बा र गुम्बामा भएका सबै धार्मिक सामग्रीहरू नष्ट भएको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण नआए पनि प्राम्भीक विवरणमा ३० करोड रुपैयाँ बढीको क्षति भएको अनुमान गरिएको गण्डकी प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेले हिमालप्रेसलाई जानकारी दिए।  बुधबार न्यौपानेसहित प्रमुख जिल्लाअधिकारी शंकरहरि आचार्य, गोरखा प्रहरी प्रमुख एसपी केदार खनाललगायतको टोलीले हेलिकप्टरमार्फत ल्हो पुगेर आगलागी भएको गुम्बाको स्थलगत निरीक्षण पनि गरे।

‘यो मेरो निर्वाचन क्षेत्र (गोरखा-१(ख)मा पर्छ। आगो लागेको खबर सुनेपछि आज प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितलाई लिएर गएर त्यहाँको निरीक्षण गरियो,’ ल्हो पुगेर फर्किएका सांसद न्यौपानेले भने, ‘भवन त पुरै क्षति भइहाल्यो। भवनसँगै मूर्ति, सुनले लेखेको, चाँदीले लेखेको ग्रन्थहरूसहित अन्य सबै ग्रन्थहरू जलेर खरानी भएछन्।’ बाँकी रहेका सामानहरू पनि केही काम लाग्ने अवस्थामा नरहेको उनको भनाइ छ।

स्थानीयले गुम्बा दुई सयवर्ष पुरानो भएको बताएको जानकारी दिए। ‘बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको तथ्यांकमा यो गुम्बा १८७० मा दर्ता भएको रहेछ,’ स्थानीय छेवाङ ग्याल्जेन लामा।

सांसद न्याैपानेले स्थानीयले प्रारम्भीक रुपमा ३० करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको बताएको जानकारी दिए।  न्यौपानेले स्थानीयको धार्मिक आस्था जोडिएको गुम्बा पुन:निर्माण नै अबको मुख्य काम रहेको बताए।

उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य राजेन्द्र बज्गाइँले उक्त घटनाले मर्माहत बनाएको बताएका छन्। ‘यसको पुरातात्विक महत्व सबै नष्ट भयो। यसको फोटो छ या छैन। यो त अब सकियो,’ बज्गाइँले भने, ‘ गुम्बा त बनाउनुपर्छ यो बनाउन म मेरो तर्फबाट  संघ सरकारमा बजेट माग गर्ने योजना बनाउने काम गर्छु।’

‘गुम्बा पुन:स्थापनाका लागि स्थानीय सरकार, प्रदेश र संघ सरकार समन्वय गर्छु’ उनले भने। गाउँपालिका अध्यक्ष निमा लामाले पनि अब स्थानीय सरकारले प्रदेश र संघ सरकारसँग समन्वय गरेर गुम्बा पुन:निर्माणको काम गर्ने बताए।

 

 

 

प्रकाशित: ११ माघ २०७९ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =