मधेश प्रदेश : मन्त्रिपरिषद्‌ विस्तारको तयारी

हिमाल प्रेस १० माघ २०७९ १७:१५
22
SHARES
मधेश प्रदेश : मन्त्रिपरिषद्‌ विस्तारको तयारी छलफलमा जुटेका दलका नेता।

जनकपुरधाम– मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई सातापछि मन्त्रिपरिषद्‌ विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेको समयमा मधेश प्रदेश सरकारको सत्ता साझेदार दलहरू मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाउन छलफलमा जुटेका छन्।

सत्ता साझेदार दलहरूको छलफलबाट एक दुई दिनभित्रै मन्त्रिपरिषद्‌लाई पूर्णता दिने निर्णय भएको हो। मधेश सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्र सत्ता साझेदारी गरेका छन्।

यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई तत्काल मधेश सरकारमा सहभागी नगराउने भएको छ।

यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी भएको बताए पनि संघीय संसद्‌मा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेश सरकारमा सहभागी नगराउने नेकपा एमालेका संसदीय दलका नेता एवं बिना विभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिए।

मंगलबार रातिसम्म बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट हुने पनि उनको भनाइ छ। मन्त्री यादवले सत्ता साझेदार दलको बैठकबाट मन्त्रालय भागबण्डामा सहमति जुटाइने बताए।

अहिलेसम्मको सहमतिअनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।

प्रदेश प्रमुख जनकपुरधाम बाहिर गएको र उनी जनकपुरधाम आए लगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने यादवको दाबी छ।

यसका साथै प्रदेशमा मन्त्रालयहरूको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको उनले बताए।

प्रकाशित: १० माघ २०७९ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =