योजना अलपत्र पार्ने सात कम्पनीसँग स्पष्टीकरण माग

हिमाल प्रेस १० माघ २०७९ १५:१८
6
SHARES
योजना अलपत्र पार्ने सात कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ– सार्वजनिक निकायका विभिन्न योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ।  यी कम्पनीलाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट उजुरी परेकाले राख्नु नपर्ने आधार वा प्रमाण ३० दिनभित्र पेस गर्न स्पष्टीकरण सोधिएको हो।

लिखित स्पष्टीकरण पेस नगरेमा वा चित्तबुझ्दो जवाफ नआएमा कालोसूचीमा राखिने कार्यालयले जनाएको छ। खरिद अनुगमन कार्यालयले सुशील कार्की मुख्य सञ्चालक रहेको सिरुवा कन्ट्रक्सन कम्पनी लिमिटेडलाई लिखित जवाफ पेस गर्न भनेको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको काम अलपत्र पारेपछि यो कम्पनीविरुद्ध उजुरी दिएको थियो।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्साको बिजनेस नेपाल कन्सल्टेन्सी प्रालिलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ। राजेशप्रसाद चौहान मुख्य सञ्चालक रहेको यो कम्पनीले मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको काम अलपत्र पारेको जनाइएको छ।

खैरहनी नगरपालिका कार्यालय चितवनको काम अलपत्र पार्ने युनाइटेड एग्रो इञ्जिनियरिङ प्रालिलाई कालोसूचीमा राख्न आग्रह गरेको छ। यसका सञ्चालक सुरेशकुमार बुढाथोकी हुन्। सडक बोर्ड नेपालले सुकबहादुर गुरुङ सञ्चालक रहेको नवलपरासीको भोलेबाबा कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न पत्राचार गरेको थियो।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले विज्ञानकुमार अर्याल मुख्य सञ्चालक रहेको डाइग्नोकेम इन्टरनेसनललाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ। त्यस्तै, बर्दियाको बारबर्दिया नगरपालिकाले कल्पना ज्ञवाली सञ्चालक रहेको कल्पना कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको छ।

गोदावरी नगरपालिका नगरपालिकाको कार्यालय कञ्चनपुरले आशिषकुमार खत्री सञ्चालन रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न अनुरोध गरेको खरिद अनुगमन कार्यालयले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =