सरकारलाई संसदीय समितिको निर्देशन : नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन नदिनू

हिमाल प्रेस १० माघ २०७९ १२:४४
90
SHARES
सरकारलाई संसदीय समितिको निर्देशन : नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन नदिनू

काठमाडौँ- संसद्‍को दिगो विकास तथा सुशासन समितिले आगामी शैक्षिक सत्रमा सबै विद्यालयमा पाठ्यपुस्तक समयमै पुर्‍याउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

सोमबार संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

सम्बन्धित मन्त्रालय र मातहतका निकायसँग गहन छलफल गरी समयमा विद्यालयले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए।

उनले भने, ‘सम्बन्धित निकायसँग गहन छलफल भएको छ। आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्नका लागि हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र मन्त्रालय सम्बद्ध निकायलाई निर्देशन जारी गरेका छौँ।’

बैठकमा विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिक सत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। उनले गत वर्ष कक्षा १० को स्वास्थ्य, जनसंख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको उल्लेख गर्दै अब त्यस्तो नहोस् भन्ने कुरामा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताए।

प्रधानाध्यापक कँडेलले भने, ‘कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको समयमै उपलब्धता गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जीटुजी विधि अपनाउँदा उपयुक्त हुन्छ।’ यसपटक भने २०८० को शैक्षिक सत्रमा सुरुमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नेमा उनी आशावादी छन्।

‘२०७२/०७३ मा भूकम्पको बहाना बनाइयो। त्यसपछि २०७६/२०७७ मा कोभिडलाई दोष दिइयो। २०७८ मा आएपछि मत पत्र छपाइ भनियो। अहिले कागजको बहाना बनाइएको छ। यसलाई फास्ट ट्रयाक जीटुजी विधिबाट सार्वजनिक खरिद ऐनलाई पनि सहज बनाएर यो काम गर्नु पर्दछ,’ उनले भने।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले यसपटक समयमै पाठ्यपुस्तक विद्यालयहरूलाई उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको बताए। उनले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भइरहेको समितिलाई जानकारी दिएका थिए।

प्रबन्ध निर्देशक झाले भने, ‘अहिले कागजको आपूर्ति भइरहेको छ। छपाइ मेसिन पनि थपिएको छ। अब छपाइ क्षमतामा पनि समस्या छैन। म्यान पावरमा पनि समस्या छैन। समय कम भएकाले सबै कर्मचारीहरूले मिलेर काम गरिरहेका छौँ।’

केन्द्रले पाठ्यपुस्तक छपाइका लागि थप मेसिनहरूको पनि व्यवस्था गरिएको जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =