टाइगर कप भलिबल : एपीएफ क्लब २ खेल जित्दै शीर्षस्थानमा

हिमाल प्रेस ९ माघ २०७९ १९:५९
6
SHARES
टाइगर कप भलिबल : एपीएफ क्लब २ खेल जित्दै शीर्षस्थानमा

पोखरा– सशस्त्र प्रहरी बलको एपीएफ क्लब २ खेल जित्दै पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा शीर्षस्थानमा उक्लिएको छ। पहिलो दिन आइतबार आर्मीलाई पराजित गरेको एपीएफले दोस्रो दिन सोमबार नेपाल पुलिसलाई हराएर थप अंक जोड्दै सर्वाधिक ६ अंक प्राप्त गरेको हो।

पुरुषतर्फ ५ टिमले भाग लिएको प्रतियोगितामा एपीएफले सोमबार पुलिसलाई ४-१ सेटले हराउन सफल भयो। उसले २५-१९, २१-२५, २५-१९ र २५-१८ को सेटमा हराएको हो। खेलमा एपीएफकै विजय थापा प्लयेर अफ दी म्याच र टेकराज अवस्थी स्पाइक अफ दी म्याच घोषित भए। दोस्रो स्थानमा ३ अंकका साथ त्रिभुवन आर्मी क्लब छ। उसले २ खेल खेलिसकेको छ। सोमबारको श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३-० ले हराएको हो। जसमा २५-२०, २५-१७, २५-१० को सोझो सेट कायम भयो।

यस्तै, नेपाल पुलिस र श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लब अंकविहीन छन्।

महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी र एपीएफले समान ३ अंक जोडेका छन्। सोमबार एपीएफले गण्डकी प्रदेशमाथि ३-० को सोझो सेटमा जीत हात पारेको छ। जसमा २५-११, २५-१९ र २५-१६ को सेट कायम भयो। एपीएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच र स्पाइकर अफ दि म्याच बनिन्।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतियोगिता १४ माघसम्म चल्नेछ। प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी, गण्डकी प्रदेश, एपीएफ र न्यु डायमण्ड स्पोर्टस् क्लब तथा पुरुषतर्फ त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरी, एपीएफ र गण्डकी प्रदेशको टिमले भाग लिएका छन्। गत संस्करणमा महिलातर्फ एपीएफ र पुरुषतर्फ त्रिभुवन आर्मी विजेता हुन्।

पुरस्कार राशि यसपालि गत वर्ष तुलनामा दोब्बर छ। महिला-पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छन्। तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक देवेन्द्र केसीले बताए।

हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ। दुवै इभेन्टमा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागत पुरस्कार १० हजार रहेको आयोजक क्लब अध्यक्ष नारायणप्रसाद शर्माले बताए। प्रतियोगिता गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार उद्घाटन गरेका हुन्।

प्रकाशित: ९ माघ २०७९ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =