गण्डकीका मुख्यमन्त्री खगराजले १२ बाट ७ मा झारे मन्त्रालय संख्या

हिमाल प्रेस ९ माघ २०७९ १७:००
6
SHARES
गण्डकीका मुख्यमन्त्री खगराजले १२ बाट ७ मा झारे मन्त्रालय संख्या मुख्यमन्त्री कार्यालय गण्डकी

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट ७ मा झारेका छन्। यसअघिका सरकारले विस्तार गरेको मन्त्रालय संख्या मुख्यमन्त्री अधिकारी  नेतृत्वको सरकारले घटाउने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ७ मन्त्रालयको नामावली टुंगो लगाएको छ। त्यसअघि सत्ता गठबन्धनमा आबद्ध ३ दलको बैठकले संख्या टुंगाएको थियो।

अब गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास मन्त्रालय रहने छन्। यस्तै, सामाजिक विकास तथा स्वास्थ्य हुनेछ भने उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय हुने छन्।

यसरी मन्त्रालयको संख्या टुंगो लागेसँगै मुख्यमन्त्री अधिकारी मन्त्रिमण्डल बिस्तार गर्ने तयारीमा छन्। उनले मंगलबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने जनाएका छन्।

६० सदस्यीय गण्डकी प्रदेशमा अधिकतम् २० प्रतिशत अर्थात् १२ मन्त्रालयसम्म बनाउन सकिने कानुनी प्रावधान छ। यसअघि एमालेबाट मुख्यमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेतृत्वको पहिलो सरकारले प्रदेशमा ७ बाट ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो।

तर मन्त्री नियुक्त नहँदै उनी सरकारबाट बाहिरिएका थिए। त्यसपछि आएका कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सरकारले अधिकतम् १२ मन्त्रालय बनाएर सत्तागठबन्धनको भागबण्डा पुर्‍याएका थिए।
अहिले एमालेका अधिकारी नेतृत्वको सरकारले मन्त्रालय घटाउने निर्णयको सर्वत्र स्वागत गरिएको छ।

प्रकाशित: ९ माघ २०७९ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =