राजदूत फर्काउ अभियानमा जुटे अस्ट्रेलियामा रहेका नेपाली

राजदूत पोखरेलमाथि मृतक नेपालीको शव स्वदेश पठाउन पहल नगरेको आरोप

हिमाल प्रेस ८ माघ २०७९ २२:२७
360
SHARES
राजदूत फर्काउ अभियानमा जुटे अस्ट्रेलियामा रहेका नेपाली अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोखरेल।

काठमाडौँ– दुई मुलुकको सम्बन्ध सुदृढ गर्न र नेपालीलाई अभिभावकत्व दिन भनेर गएका राजदूतले नेपालीको समस्या नसुनेको भन्दै अस्ट्रेलियामा रहेका नेपाली आन्दोलित बनेका छन्। राजदूत कैलाश पोखरेललाई तत्काल फिर्ता पठाउन उनीहरूले अभियान थालेका हुन्। उनीहरूको अभियान हो, ‘राजदूत फर्काउ’। राजदूतले अस्ट्रेलियामा रहेका नेपालीको दुःखमा साथ नदिएको भन्दै फिर्ता पठाउन उनीहरूले सामाजिक सञ्जालमार्फत खुला पत्र लेखेका छन्।

यसबारेमा नेपाल र अस्ट्रेलिया सरकारलाई पनि जानकारी दिइएको छ। हप्तामा तीन जना नेपालीको अकालमा ज्यान गएको घटनालाई सामान्य घटनाका रूपमा लिएको  आरोप नेपालीहरूको छ। राजदूत फर्काउ अभियन्ताले ‘एक नेपाली तीन कल र इमेल गर्न’ आग्रह गरेका छन्।

प्रवासी नेपालीले राजदूत  पोखरेललाई खुला पत्रसमेत लेखिसकेका छन्। हरि पोखरेलले लेखेको खुला पत्रमा नेपाल र अस्ट्रेलियाका विभिन्न निकायलाई ध्यानाकर्षण गराइको छ। नेपालीलाई अभिभावकत्व दिनुपर्ने राजदूत आफैँ नेपालीलाई हेला गर्ने र नेपालीका कुरा नसुन्ने जस्ता काम गरिरहेको भन्ने आरोप पत्रमा छ। हरिले आफ्नी भान्जीको शव नेपाल पठाउन दूतावासले कुनै पहल नगरेको गुनासो गरेका छन्। यसबारे राजदूतले झुट बोलेको र अन्तर्वार्ताको पनि कुनै सत्यता नभएको हरिको भनाइ छ।

‘मैले जानकारी पाएपछि एनआरएनएका भाइ देव गुरुङलाई पठाएका थियौँ। उहाँले हामीलाई अहिले केही आवश्यक छैन भनेपछि फर्केका थिए। उहाँले नम्बर पनि दिनुभएको तर पछि फोन आएन,’ राजदूतले अस्ट्रेलियमा पत्रकारिता गरिरहेका सरल गुरुङसँग भने, ‘हामी क्यानबेरामा छौँ। घटना विभिन्न स्थानमा हुने हुँदा संयन्त्रमार्फत सम्पर्क गराउने गरेका छौँ।’

हरिले भने राजदूतले  सम्पर्क नै नगरेको पत्रमा लेखेका छन्। ‘यो सबै ढाटेका हुन्। राजदूत पोखरेलले आफू पासपोर्टमा व्यस्त हुन परेकाले कतिपय समयमा फोन नउठेको पनि हुन सक्छ तर म सम्पर्कमा नै छु। मेरो फोन उठ्ने मात्र होइन, म त सञ्जालमा नै छु। जतिबेला पनि फेसबुकमा छु।’

यसैगरी कन्सल्टेन्सीहरूले विद्यार्थीसँग मोटो रकम लिएको विषयमा गुनासो गर्दा पनि राजदूत पोखरेलले बेवास्ता गरेको आरोप नेपालीहरूको छ। कलेजले नेपालीको करोडौँ रूपैयाँ लिइरहेका छन्। कन्सलटेन्सीमार्फत नभई विद्यार्थीले अमेरिकामा झैँ सीधै आवेदन दिन पाउने व्यवस्था बनाउन लाग्नुपर्ने हो।

राजदूत पोखरेलको गैरजिम्मेवारी कारण नेपालीले लज्जा महसुस गर्नुपरेको नेपालीहरूको भनाइ छ। नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले दूतावास जाँदा आफ्नो घर आएको अनुभूति होस् भनिरहँदा  राजदूत पोखरेलको भने फरक चाल-ढाल रहेको हरि बताउँछन्। उनी भन्छ, ‘दूतावास जान १५ दिनअघि नै निवेदन दिनुपर्छ। अनि सीधै दूतावास पस्न नपाइने नियम छ।’ दूतावासको फोनसमेत नउठ्ने उनी बताउँछन्।

गत साता सिड्नीमा चार युवाको मृत्यु भएको थियो। दुई जनाले आत्महत्या गरेका थिए भने एक जना समुद्रमा डुबेका थिए भने अर्का एक जनाको सडक दुर्घटनामा ज्यान गएको थियो। घटनापछि अस्ट्रेलियामा रहेको नेपाली समुदाय स्तब्ध छ। तर यसबारे दूतावासले चासो नै नदिएको आरोप नेपाली समुदायको छ। त्यसमध्ये एक शव नेपाल ल्याउने प्रयास गरिदिन आग्रह गर्दा दूतावास कानमा तेल हालेर बसेको उनीहरूले बताएका छन्।

राजदूत पोखरेल पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका बहिनी ज्वाइँ हुन्। उनलाई दाइजोस्वरूप जसरी अस्ट्रेलियाको राजदूत बनाएको भन्दै आलोचना हुँदै आएको छ।  अब नेपालीको समस्यामा ध्यान नदिएपछि उनको विरोध हुन थालेको छ।

परराष्ट्र मन्त्रालयले भने यसबारे गम्भीर अध्ययन गर्ने जानकारी दिएको छ। परराष्ट्र प्रवक्ता एवम् राष्ट्रसंघ महाशाखा प्रमुख सेवा लम्सालले भनिन्, ‘शव नेपाल ल्याउने प्रक्रिया  देशैपिच्छे फरकफरक नियम कानुन र कागजी प्रक्रिया हुन्छ। यसमा दूतावासले सहजीकरण गरेकै हुनुपर्ने हो। के भएको रहेछ म थप बुझेर जानकारी दिनेछु। दूतावास सबै नेपालीको साझा थलो हो। यसले नेपाली समुदायको हितमा काम गर्नुपर्छ।’

कतिपय स्थानमा राजदूत पुग्न नसक्दा अवैतनिक दूत र गैरआवासीय नेपाली संघको प्रतिनिधि पठाएर भए पनि सहयोग गर्नुपर्ने हुन्छ।  प्रवक्ता लम्सालले भनिन्, ‘राजदूतले पक्कै पनि नेपालीको समस्या बुझ्नुपर्ने हो।  त्यो सबै बुझेर मात्र आफूले भन्नेछु।’

मृतकको शव नेपाल ल्याउने हो भने त्यसअनुरूपको प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउन आवश्यक रहेको उनले बताइन्।

राजदूत पोखरेलले सिड्नीमा रहेर पनि नेपालीको दु:खमा साथ नदिएर नेपालीलाई चोट पुर्‍याउने काम गरेको भन्दै उनीविरुद्ध अधिक नेपाली एक भएका हुन्। उनीहरूका अनुसार राजदूत २४ सै घण्टा नेपालीका लागि उपलब्ध हुनुपर्छ र बिदा भनेर कूटनीतिक कार्यमा सुख पाइँदैन।  यसबारे अन्य मुलुकको अभ्यास हेर्नसमेत उनीहरूले आग्रह गरेका छन्।

सरकारले धनी मुलुकसरहको सेवासुविधा दिएर राजदूतलाई सम्बन्धित मुलुकमा पठाएकाे हुन्छ। तर राजदूतको प्रवृत्ति नेपालीको सेवा गर्ने भन्दा राजनीतिक पहुँचका आधारमा मोटो रकम आर्जन गरेर स्वदेश फर्कने प्रवृत्ति रहेको गुनासो पीडित नेपालीको छ।

उनीहरूलाई मस्ती गर्न भन्दा पनि दुईपक्षीय सम्बन्धमा रहेका समस्या सहजीकरण गर्न पठाएको हो। शव तत्काल दिन नमिल्ने वयस्था छ भने त्यसमा दुईपक्षीय छलफल गर्ने हैसियत राजदूतले राख्नुपर्ने पीडित हरि पोखरेल बताउँछन्। यस्ता व्यक्तिलाई आगामी दिनमा राजदूत बनाएर पठाउन नहुने नेपालीहरूको आग्रह छ।

राजदूत पोखरेल पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका बहिनी ज्वाइँ हुन्। उनलाई दाइजोस्वरूप जसरी अस्ट्रेलियाको राजदूत बनाएको भन्दै आलोचना हुँदै आएको छ।  अब नेपालीको समस्यामा ध्यान नदिएपछि उनको विरोध हुन थालेको छ।

नेपाल सरकारको सहयोग गर्ने भन्नुको सट्टा एनआरएनए देखाएर पन्छने प्रवृत्ति अधिकांश राजदूतहरूको हुन्छ। सबै जिम्मा एनआरएनएलाई दिने हो भने किन दूतावास चाहियो र? बन्दगरे भइहाल्यो भन्ने आवाज पनि उत्तिकै छ। नेताका नातेदार भएको नाताले सबै कुरामा बन्देज लगाउने र कसले के गर्छ हेरौँ भन्ने जस्ता अहं देखिएको भन्दै नेपालीले बहिष्कार अभियान चलाएका हुन्।

नेपालीहरूले चलाएको अभियानको पोस्ट:


प्रतिक्रिया

One thought on “राजदूत फर्काउ अभियानमा जुटे अस्ट्रेलियामा रहेका नेपाली

  1. Madhab Nepal ko kanchho jwai hun uni farkie prachan DHal chhan tyasai kasaile sundain sarb sadharan Nepali ko pida

Leave a Reply to Shekhar Dhungel Cancel reply

Your email address will not be published. Required fields are marked *

three × two =