होटल ‘हब’ बन्दै बाँके

हिमाल प्रेस ८ माघ २०७९ १६:४७
6
SHARES
होटल ‘हब’ बन्दै बाँके

नेपालगञ्ज– पश्चिम नेपालको आर्थिक केन्द्रको रूपमा चिनिने बाँकेको नेपालगञ्ज ‘होटल हब’को रूपमा अघि बढ्दै गएको छ। नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको छ।

होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ।

होटल व्यवसायी संघका अनुसार जिल्लाभरी साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन्। जसमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ।

बाँकेमा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्नेक्रम पनि बढेको छ। बाँकेमा हालसम्म दुई वटा पाँचतारे होटल खुलिसकेका छन् भने दुई वटा चारतारे होटल छन्। बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन्।

विशेषगरी भारतीय धार्मिक पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुने भएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो।

मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन्। होटलको संख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपाने बताउँछन्।

व्यवसायीहरू नेपालगञ्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीयस्थलमा लगानी बढाउन थालेको बताउँछन्। बाँकेमा पर्यटक आकर्षित गर्न निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ।
नेपालगञ्ज उपमहानगरपालिका-१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरिरहेको छ। त्यस्तै राँझा विमानस्थलनजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ। कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ।

पर्यटनको सम्भावना

बाँकेमा पर्यटन व्यवसायको पनि ठूलो सम्भावना छ। यहाँका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्ने व्यवसायीको भनाइ छ।

बाँकेमा पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर भ्याली होमस्टे, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्य छन्।

बाँकेमा धार्मिक पर्यटनकोसमेत ठूलो सम्भावना रहेको बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले जानकारी दिए। उनका अनुसार बाँकेमा बागेश्वरीका साथै जुगेश्वर महादेवको मन्दिर, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्र छन्। -रासस

प्रकाशित: ८ माघ २०७९ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =