राजेन्द्र लिङदेनलाई खुलापत्र!

हिमाल प्रेस ६ माघ २०७९ १५:२३
942
SHARES
राजेन्द्र लिङदेनलाई खुलापत्र!

आदरणीय दाजु, नमस्कार!

तपाईँहरूले भित्तामा पुर्‍याउने अथक प्रयासका बीचमा पनि एक दिन आशाको दियो जगाउने प्रयाससहित हामी आरामै छौँ। आशा छ, तपाईँ गणतन्त्र र लोकतन्त्रलाई संस्थागत गर्ने उद्देश्यले बनेको प्रचण्ड सरकारको उपप्रधानमन्त्रीको ओहदामा खादा र मालाको चाङ बोकेर सिंहदरबारको एसी रुममा आरामदायी अवस्थामा हुनुहुन्छ होला।

प्रिय दाजु, पत्र लेख्न व्यक्तिगत रूपमा जरुरी त थिएन तर पनि एक निर्बल मोबाइलको मुहारपुस्तिकाका माध्यमबाट मनमा छचल्किरहेका शब्दको हुटहुटीलाई सम्हाल्न सकिनँ र विद्युतीय यन्त्रमा कैद गर्दैछु।

दाजु, धेरैले हामीलाई राप्रपा विरोधीका रूपमा चित्रण गर्छन्। वास्तवमा हामीलगायत तमाम कार्यकर्ताले हिजो राप्रपाकै लागि मेहनत, रगतपसिना बगाउँदा पनि हाम्रो नाम थाहा नपाउने तर हाल ती महाजनहरुको मुखमा राप्रपाको विरोध गर्नेहरू कोको हुन् भन्दा केही नाममध्ये सानो हैसियतका नाममा हाम्रो नाम पनि आउँछ रे। तर केही छैन, पञ्चायतदेखिका दिग्गज नेताहरुसँगै नयाँ जोगीहरूको पनि हुल नै छ त्यता।

प्रिय दाजु! तपाईँलाई पनि राम्रोसँग थाहा छ देशमा ६२/६३ पछि राजनीतिमा धेरै उतारचढाव आए। त्यही परिवर्तनका क्रममा शासनव्यवस्था, शासकीय स्वरूपमा पूर्ण रुपमा बदलाव आयो। पञ्चायतदेखि राजतन्त्र हुन्जेलसम्म दरबारको आशीर्वादले राजनीतिमा जजमानी गर्नेहरूले आफूलाई गणतन्त्रवादीमा रूपान्तरण गरे।

तत्कालीन गणतन्त्रवादी सबै दलले राप्रपा नेपाल र कमल थापालाई निषेध गर्दा अदालतबाट दल खोल्न पाउने अधिकार ल्याएर थापाको नेतृत्वमा तपाईँहामीले वैकल्पिक शक्तिको आवश्यकताका रूपमा फरक धारका रूपमा संघर्ष गर्‍यौँ। राप्रपा नेपालका माध्यमबाट तपाईँहरू नेताका रूपमा हामी नयाँ कार्यकर्ताका रूपमा।

तत्कालीन समयमा राप्रपालगायत सबै शक्ति गणतन्त्रवादी हुँदा राजसंस्था बोक्ने एक मात्र पार्टी राप्रपा नेपालको पनि संविधानसभामा अस्तित्व महत्त्वपूर्ण रह्यो। त्यस बखतदेखि नै देशीविदेशी शक्तिद्वारा राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा कमजोर बनाउने षड्यन्त्रमा लागिरहेकै थिए।

प्रिय दाजु, हिजो त्यही कमल थापाकै कारणले दुलाभित्र लुकेका हिन्दुवादी र राजावादीहरूले आज खुलेआम आफ्नो मुद्दा बोक्न पाएका छन्। तर मौका पाउनेबित्तिकै तपाईँले आफ्नै गुरुलाई समाप्त पार्न पिठ्युँमा छुरा हान्नुभयो।

तपाईँले पार्टीको महाधिवेशनमा भन्नुभएको थियो, राप्रपा बूढाहरूले बिगारे, राप्रपा कसैको भाइ पार्टी बनाउने छैनौँ, दुईचार सिट जितेर राष्ट्रिय पार्टी बनाएर २/४ थान संसद्, मन्त्री खाने र अरुको पुच्छर पार्टी राप्रपा बनाउने छैनौँ भनेर। त्यसपछि भन्नुभयो, विचार नमिल्नेसँग, गणतन्त्रवादीसँग गठबन्धन गर्दैनौँ, छ महिनामा राजा ल्याउँछौँ, साढेको टाङमुनि बाल्टी थाप्दा दूध आउँदैन, सबै नेता चोर।

तर दाजु तपाईँले भनेको तीन महिना पनि नपुग्दै साँढेको टाङमुनि बाल्टी थाप्न आफैँ जानुभयो। चोर भनेकासँग आफू मात्र जित्नकै लागि गठबन्धन गरेर महाचोर निस्कनुभयो। भाइ पार्टी र पुच्छर पार्टी बनाउनुभयो। हिजो प्रचण्ड सरकारमा जानु गल्ती भयो भनेर कमल थापालाई माफी माग्न लगाउने आज सबैभन्दा पहिले समर्थन गरेर आफैँ सरकारमा जानुभयो। युवालाई लत्याएर पार्टीका सबैभन्दा वृद्धलाई सांसद बनाउनुभयो।

हिन्दुहरू र समग्र ओमकार परिवारको भोट हिन्दु धर्मका लागि भनेर मागेर इसाई पास्टरलाई समानुपातिक सांसद बनाउनुभयो। संघीयता खारेज गर्ने भन्नुभयो तर १/१ थान मन्त्रीका लागि प्रदेशमा उठाएर मन्त्री, सभामुख बनाउनुभयो। आफू अनुकूलका व्यक्तिलाई पार्टीमा स्थान दिनुभयो। अब भन्नुस् तपाईँको बोली र व्यवहार कहाँनेर मेल खाएको छ?

अन्तमा, राप्रपा र राप्रपाको विचारलाई चार थान मन्त्रीका लागि प्रचण्ड महाराजको बाहुलीमा आत्मसमर्पण गराउनुभएको छ। हिजो बूढा टोली, कतिपटक मन्त्री, प्रधानमन्त्री बने देश बन्छ भन्नुहुन्थ्यो। तिनै गणतन्त्र जोगाउन बनेको बूढा प्रचण्ड सरकारको उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री हुनुभएको छ। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह भन्नुहुन्थ्यो। आज भ्रष्टहरूसँगै हुनुहुन्छ। हिजो एमसीसीको विरोध गर्ने तर भोट हाल्ने बेलामा अनुपस्थित रहेर एमसीसी पास गर्न सघाउनुभयो भन्ने आरोप छ। आज त्यही ऊर्जा मन्त्रालय सम्हाल्नुभएको छ।

तपाईँको बोली र व्यवहारमा इमानदारी र एकरूपता त छैन। तैपनि कहीँकतै अलिकति बचेको छ भने संसद्बाट एमसीसी खारेज गर्न पहल गर्नुहोला। त्यो नसके पनि तपाईंको कार्यकालमा एमसीसीसम्बन्धी कुनै काम हुँदैन होला भन्ने आशा छ। देशभर पाँच दर्जन बढी पालिकामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन। त्यो काम पूरा गर्नुहोला।

जलविद्युत् परियोजनाहरू सञ्चालन गरेर जलविद्युतबाट देशले अर्थतन्त्र बलियो बनाउने गरी काम गर्नुहोला। तमाम मानिसको तपाईँप्रति लाग्दै गरेका आरोप र बुझाइलाई सुधार गर्दै समाप्त होइन सबल र चीरस्थायी बन्न सफलहुनहोला। हार्दिक शुभकामनासहित नमस्कार!

उही तपाईँको शुभचिन्तक
महेशबहादुर सिंह

प्रकाशित: ६ माघ २०७९ १५:२३

प्रतिक्रिया

One thought on “राजेन्द्र लिङदेनलाई खुलापत्र!

  1. कमलेको टट्टु वनेर नकारात्मक मुसा भाषा वोलेर हुन्छ? एमसिसी को कमल मुसा होनहार समर्थक हो नि याद छ कि छैन?खैर कमल एक्लै जता पनि मुन्त्रि हुन पुग्थे भने यहां लगभग सिंगो दलका युवाहरूलाई गरेर देखाउने अवसर दिएका छन तसर्थ पर्ख र हेर हतार नगर भाई धैर्य गर्न जान्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =