कूटनीतिक क्षेत्रमा जागेको आशा

लक्की शेर्पा ६ माघ २०७९ १६:२३
260
SHARES
कूटनीतिक क्षेत्रमा जागेको आशा

आमनिर्वाचनपछि बनेको सरकारले पूर्णता पाउँदै गर्दा कूटनीतिको मियोले अब्बल नेतृत्व पाएको छ। अर्थात् परराष्ट्र मन्त्रालयको बागडोर डा. विमला राई पौडेलले सम्हाल्नुभएको छ। शपथ लिएर पदबहाली गर्नेबित्तिकै उहाँले कूटनीतिक अभ्यासमा असन्तुलन हुन नदिने प्रतिबद्धता जनाएर आफूलाई परिपक्व व्यक्तित्वका रूपमा चिनाउने प्रयास गर्नुभयो।

कतै पनि नढल्कने कूटनीतिको अवलम्बन गर्ने, दूतावासलाई सक्रिय राख्ने, छिमेकीसहित सबै मित्रराष्ट्रसँग राष्ट्रहितलाई ध्यान दिएर सुमधुर सम्बन्ध राख्ने बाचा उहाँले गरिसक्नुभयो। अलमलिएको कूटनीतिलाई गति दिने बाचा गरेसँगै उहाँले नेपालको कूटनीतिक छवि उकास्न प्रयास गर्नुहुने आशा बढेको छ।

नवनियुक्त परराष्ट्रमन्त्रीले तत्काल ध्यान दिनुपर्ने विषय मन्त्रालयको संरचना र कर्मचारीतन्त्र हो। परराष्ट्रका कैयन् कर्मचारी अब्बल छन् भने कतिपय त परराष्ट्र सेवाका भन्दा पनि लाज लाग्ने खालका छन्। कूटनीतिक सम्बन्धमा भनेजति सफलता पाउन नसक्नुको एउटा कारण यो पनि हो।

मन्त्रालयबाहिरबाट नियुक्त राजदूतले केकस्तो काम गर्‍यो भनेर निगरानी गरिरहने तर मन्त्रालयभित्रबाट गएका राजदूतहरू कामै नगरी बस्दा पनि चुइँक्क नबोल्ने प्रवृत्ति छ। अर्को कुरा, परराष्ट्रका सबै सहसचिव राजदूत हुन योग्य छन् त? राजदूत भएर गएका सबै अब्बल छन्? कसले के काम गरे? उनीहरूले नियुक्त गरेका मानिस कहाँ छन्? त्यसबारे खोजी हुनु पर्दैन?

परराष्ट्र सेवामा रहेकाहरूले कूटनीतिको बेइज्जत गर्ने अनि त्यसको दोष सकेसम्म बाहिरबाट गएका राजदूतलाई लगाउने र उम्कने बानी छ। यो मन्त्रालयको पुरानो रोग हो। यसमा तत्काल सुधार हुनुपर्छ। मन्त्रालयबाट राजदूत बनेर गएकाहरूको पनि मूल्यांकन हुनुपर्छ। हेड अफ दी मिसनले उनीहरूको मूल्यांकनसमेत गर्न पाउँदैनन्।

सामान्य अर्थमा कूटनीति मुलुकमुलुकबीचको सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति हो। एक मुलुक र अर्को मुलुकबीच सम्बन्ध चुस्तदुरुस्त रहनुपर्छ। त्यसको कार्यान्वयन गर्ने निकाय परराष्ट्र मन्त्रालय हो। कुनै बेला परराष्ट्र मन्त्रालय कतिपय राजनीतिज्ञको रुचिमा पर्दैन थियो।

यसअघिका परराष्ट्रमन्त्री डा. नारायण खड्का कूटनीति बुझेका व्यक्ति भए पनि उहाँ राजनीतिमै बढी सक्रिय रहनुभयो। जसले गर्दा कूटनीति ओरालो लाग्यो। पहिलो चरणको राजदूत नियुक्ति ठिकै ढंगले भए पनि नातावाद कायमै रह्यो। सरकार परिवर्तन हुनेबित्तिकै फिर्ता बोलाउनु नपर्ने गरी राजदूत नियुक्ति गर्नुपर्छ। राजनीतिमा मात्र प्रत्यक्ष संलग्न भएका व्यक्तिलाई भन्दा राजनीतिमा लागेका विज्ञलाई पठाउँदा उचित हुन्छ।

परराष्ट्र मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने हो। जसरी श्रम हेर्न श्रम सहचारी खटिन्छन्, त्यसैगरी आर्थिक कूटनीति हेर्न अर्थ वा वाणिज्य मन्त्रालयबाट विज्ञ अधिकारी जानुपर्छ। भिसाका लागि गृह मन्त्रालयबाट योग्य कर्मचारी खटाउन सक्नुपर्छ।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त गरेपछि बिजनेस पनि दिनुपर्छ। यसका लागि मन्त्रालयका हरेक डेस्क सक्रिय हुनुपर्छ। कूटनीतिक क्षेत्रमा कहाँ के भएको छ त्यसको रिपोर्ट दैनिक रूपमा एकपटक परराष्ट्रमन्त्रीसमक्ष पेस गर्ने प्रचलनको थालनी आवश्यक छ। यसमा मन्त्रालयबाट निरन्तर फलोअप गरिरहनुपर्छ।

यसका लागि महाशाखा प्रमुखहरूले सक्रियता देखाउनुपर्छ। तर महाशाखा प्रमुखहरू दिनभर गफ गरेर बस्ने गरेको देखिन्छ। उनीहरू कर्मचारी पुगेन भनेर दरबन्दी थप्ने प्रपञ्चमा लागिरहेका हुन्छन्। त्यस्तो प्रवृत्तिलाई मत्थर गर्दै अत्यावश्यक मुलुकमा मात्र दूतावास राख्ने, रिक्त भएमा स्थानीय कर्मचारी थप्ने, अन्य मन्त्रालयबाट पनि विज्ञ नियुक्त गर्ने परिपाटी हुनुपर्छ।

परराष्ट्र मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने हो। जसरी श्रम हेर्न श्रम सहचारी खटिन्छन्, त्यसैगरी आर्थिक कूटनीति हेर्न अर्थ वा वाणिज्य मन्त्रालयबाट विज्ञ अधिकारी जानुपर्छ। भिसाका लागि गृह मन्त्रालयबाट योग्य कर्मचारी खटाउन सक्नुपर्छ।

परराष्ट्र मन्त्रालयको प्रशासन सामान्य प्रशासन मन्त्रालय मातहत हुनुपर्छ। प्रशासन, लेखा, भिसा, पासपोर्ट जस्ता विषयको जिम्मेवारी बोकेर परराष्ट्र अघि बढ्न सक्दैन। मन्त्रालय यी सबै जिम्मेवारीबाट मुक्त भएर कूटनीतिक कार्यमा मात्र संलग्न हुनुपर्छ। बरु परराष्ट्रले अर्थ मन्त्रालयमा रहेको वैदेशिक सहायता महाशाखालाई आफू मातहत ल्याउने र अर्थका केही अधिकारीलाई पनि परराष्ट्रभित्र राख्दा फलदायी हुनेछ।

अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीति भनेको कुनै पनि मुलुकले अन्य मुलुकलाई हेर्ने आँखा र सुन्ने कान हो। तर अहिले यसलाई अन्तर्राष्ट्रिय व्यापारको राजनीतिक खेलका रूपमा लिइन्छ। यसमा पनि राजनीतिक दाउपेच, व्यवहार र चलाखी रहन्छ नै। सञ्चार, यातायात, हवाई सेवालगायतको व्यापक विस्तारले विश्व राजनीतिको घेरा साँघुरो बन्दै गएको छ। त्यसैले अन्तर्राष्ट्रिय राजनीतिले सबै मुलुकलाई प्रभाव पारिरहेको हुन्छ। कमजोर मुलुकले शक्तिशालीको ओत खोज्ने र शक्ति मुलुकले कमजोर मुलुकलाई आफूमा केन्द्रित गराउने होड पनि चलिरहेकै छ।

पछिल्लो समय शक्तिशाली मुलुकका लागि कूटनीतिको अर्थ अरू मुलुकलाई आफ्नो प्रभाव वा नियन्त्रणमा लिनु हो भन्ने परेको छ। कतिपयले यसलाई बिजनेसका रूपमा लिएका छन्। राष्ट्रले गर्ने बिजनेसको कार्यकारी राजदूत हो भन्दै कतिपय विदेशी राजदूतको कार्डमा सीईओसमेत लेखिएको हुन्छ।

हाम्रोजस्तो भूराजनीतिक मुलुक त कुनै न कुनै रूपमा विश्वका शक्ति राष्ट्रबाट प्रभावित हुन्छन् नै। कतै न कतै झुकाव देखिन्छ। त्यसको कारण हो नेतृत्व। नेतृत्व अब्बल नपाउँदा यस्तो अवस्था भोग्नुपरेको छ। सबल नेतृत्वले त संविधान जारी भएपछिको राजनीतिक नाकाबन्दी पनि खुलाउन सकेको थियो। सोही कारण अझै पनि आमनागरिक केपी शर्मा ओलीका पक्षमा छन्।

ओलीले त्यति बेला देखाएको राष्ट्रवाद र तत्कालीन परराष्ट्रमन्त्रीको खटाइ साँच्चै लोभलाग्दो थियो। तर पछि अनेकन बहाना देखाएर के भयो? केही वर्षअघिकै गतिविधि हेर्दा थाहा भइहाल्छ। कूटनीति राजनीतिक विषयसँग मात्र जोडिँदैन यसले त धर्म, संस्कृति, शिक्षा, अर्थ, सामाजिक गतिविधि, सीमा व्यापार जस्ता विषयमा पनि सरोकार राखेको हुन्छ।

अन्तर्राष्ट्रिय व्यापारको हिस्सा बढ्दो छ। बसाइ सराइँको लहडले सम्पर्कको व्यापक विस्तार भएको छ। जसले गर्दा व्यापार व्यवसाय फस्टाएको देखिन्छ। अर्थात् एकअर्का मुलुकसँगको आर्थिक सम्पर्क बढेको देखिन्छ। मुलुक–मुलुकबीच द्वन्द्व चलिरहँदा पनि कतिपय मुलुकबीच व्यापार व्यवसाय चलिरहेको हुन्छ। यसैले भनिन्छ, विश्व अहिले आर्थिक कूटनीतिले ओगटेको छ। कतिपयले त विश्व सैन्य कूटनीतिमा गयो पनि भनेका छन्। तर सबैले आर्थिक कूटनीतिमा जोड दिएका छन्। सैन्य कूटनीति पनि आर्थिक कूटनीतिभित्रै पर्छ। किनकि त्यहाँ हतियारको व्यापार हुन्छ।

नेपाल दुई उदीयमान मुलुकबीचमा रहेका कारण हामीले उनीहरूसँग जोगिएर सन्तुलित कूटनीतिमा जोड दिनुपर्छ। ठूलाठूला गफभन्दा सानासाना विषयमा सुधार गर्न सके कूटनीतिक संयन्त्र सीधै सच्चिनेछ। हामी अघि बढ्ने भनेकै कूटनीतिक शैलीमा परिवर्तन गरेर हो।

भारत र चीनसँगको व्यवहार पनि समान देखिँदैन। चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे नेपालले कति अध्ययन गरेको छ र उसको रणनीति के हो? यस विषयमा खासै चासो राखिएको पाइँदैन। अनि अमेरिकाले दिने सहयोगका बारेमा यहाँ आन्द्राभुँडी खोतल्ने काम हुन्छ।

हामीले पर्यटन र कृषिमा जोड दिएर त्यसअनुरूपको बजार व्यवस्थापन गर्न सक्नुपर्छ। युरोपेली मुलुकले कसरी आफूलाई विकास गरे त्यसको अध्ययन जरुरी छ। अहिले इथोपियामा के हुँदैछ? त्यो मुलुक कसरी त्यस्तो अवस्थामा पुग्यो भन्ने कुरा पनि हामीले सिक्नैपर्छ। गरिबी निवारणका लागि धनी मुलुकको सहायताले साँच्चै भूमिका खेल्ने भए पनि हामी त्यसतर्फ गएका छैनौँ। सहायतालाई श‌ंकाको रुपमा मात्र हेर्छौ, त्यसो गर्न हुँदैन।

मुलुकैपिच्छे स्वार्थ फरक हुन्छ। त्यसैले हामीले अन्योलमा नपरी मुलुकअनुरुपको कूटनीतिक संयन्त्र वा ‘गाइडलाइन’ बनाउन ढिलाइ गर्नु हुँदैन। हरेक मुलुकका अधिकारीसँग हुने भेटघाट र पत्राचार परराष्ट्र मन्त्रालयमार्फत भएमा कैयन् समस्या तत्काल समाधान हुन्छन्। तर नेपालले त्यसो गरिरहेको छैन। जसका कारण हामी अलमलमा पर्दै आएका छौँ।

भारत र चीनसँगको व्यवहार पनि समान देखिँदैन। चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे नेपालले कति अध्ययन गरेको छ र उसको रणनीति के हो? यस विषयमा खासै चासो राखिएको पाइँदैन। अनि अमेरिकाले दिने सहयोगका बारेमा यहाँ आन्द्राभुँडी खोतल्ने काम हुन्छ। हामीले कूटनीतिमा विशेष ध्यान दिनुपर्ने भनेको छिमेक, युरोप, अमेरिका, सार्क र खाडी मुलुक हुन्। अन्य स्थानमा रहेका दूतावासका क्रियाकलाप पनि हेर्नैपर्छ।

कार्यकारी प्रमुखले राजदूतलाई सहज भेट दिने, कुनै विषयमा आफैँ ‘कोट’ दिने जस्ता गतिविधिले मुलुकको इज्जत कमजोर बन्छ। कूटनीतिक मामिलामा हामी सबै एक हुनुपर्छ। सबै दलको एकै स्वर हुनुपर्छ। सञ्चालन विधि फरक होला तर स्वर भिन्न हुनु हुँदैन। भूगोल सानोठूलो जे भए पनि अस्तित्व समान हुन्छ।

हाम्रो स्पष्ट परराष्ट्र नीति नहुनु र दलैपिच्चे फरक सोचको कूटनीति हुनुले पनि समस्या ज्यूँकात्यूँ छन्। विदेशीसँगको सम्बन्धलाई आर्थिक सहयोग भित्र्याउन मात्र हो भनेर बुझ्नु हुँदैन। यसरी बुझ्दा नेपालको कूटनीति मस्त निद्रामा पर्ने बाहेक अन्य केही हुँदैन।

घरी कूटनीति भनेको भारतसँगको सम्बन्ध मात्रैजस्तो देखिन्छ, घरी चीनसँग मात्रै हो भनेर बुझ्ने गरिन्छ। अनि कहिले अमेरिकासँग मात्रै सम्बन्ध हो भन्ने गरिन्छ। यी सबै गलत हुन्। कूटनीतिक रूपमा हामी स्थिर हुनुपर्छ। हरेक मुलुकसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न सक्नुपर्छ। यसको उदाहरण हो कतार। उसको कूटनीतिलाई हामीले उदाहरणका रूपमा लिनुपर्छ।

कूटनीति राष्ट्रिय हितमा आधारित हुनुपर्छ न कि दल वा व्यक्ति हितमा। हाम्रा कतिपय नेताहरूले आफ्नो सामथ्र्य भुलेर अर्काको टेको लिँदा हामी दिनप्रतिदिन विदेशीसँग आश्रित हुँदै गएका छौँ। त्यसमा पनि सीमा जोडिएको र रहनसहन मिल्ने भएर होला भारतसँग बढी निर्भर हुनुपरेको छ। यसरी कूटनीतिलाई असन्तुलित बनाउनु हुँदैन। कूटनीतिमा सानो भूलले पनि लामो क्षति हुन्छ। त्यसैले मुलुकको कूटनीतिलाई फरक र परिपक्‍व ढंगले अघि बढाउन आवश्यक छ।

मुलुकले तेस्रो पटक महिला अनि साँच्चै सक्षम परराष्ट्रमन्त्री पाएको छ। डा. विमला राई पौडेल नेपालको मात्र होइन अन्य मुलुकको समेत कूटनीति बुझेको व्यक्ति हुनुहुन्छ। त्यसैले उहाँ प्रशासनिक सञ्जालमा नपरी काम गर्न सक्षम हुनेमा विश्वस्त हुन सकिन्छ। म उहाँलाई राजनीतिक नियुक्तिबाट राजदूतको जिम्मेवारीमा बसेर फर्केर आएकाहरूको समूहका तर्फबाट बधाई तथा शुभकामना दिँदै कर्मचारीको फरक सञ्जालबाट जोगिएर आफ्नो निर्णायमा  काम गर्न सुझाव दिन्छु। (कुराकानीमा आधारित)

(शेर्पा पूर्वराजदूतहरूको समूह (आफ्ना) की महासचिव हुन्।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =