मधेश प्रदेशमा मनाइयो बलिदानी दिवस

सहिद तथा घाइते परिवारका सदस्यलाई राहत र रोजगारीको ग्यारेन्टी

हिमाल प्रेस ५ माघ २०७९ २१:०१
सहिद तथा घाइते परिवारका सदस्यलाई राहत र रोजगारीको ग्यारेन्टी

जनकपुरधाम– मधेश प्रदेशमा पाँचौँ बलिदानी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। मधेश आन्दोलनको क्रममा आजभन्दा १६ वर्षअघि ०६३ माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेश प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी सो दिवस मनाइएको हो।

यसै क्रममा बिहीबार मधेशी सहिद प्रतिष्ठानले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा मधेश प्रदेश सरकारका बिनाविभागीयमन्त्री सञ्जयकुमार यादवले मधेश आन्दोलनका सहिद परिवार र घाइतेको व्यवस्थापनका लागि सरकारले विशेष योजनासहित काम गर्ने बताए। उनले आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्ति तथा घाइतेको छुट तथ्यांक संकलन गरी सबैको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे।

मधेश जनविद्रोहको जगमा देशमा परिवर्तन आएकाले सहिदको सपना साकार गर्न आफूहरु प्रतिबद्ध रहेको बताउँदै मन्त्री यादवले सहिदको सम्मानका लागि सिरहाको लहानमा मधेशी सहिद संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिए।

कार्यक्रममा प्रतिष्ठानका सदस्य रामनरेश यादव, सुरेन्द्रकुमार जयशवालले मधेश जनविद्रोहकै जगमा देशमा संघीयता र समावेशिता सुनिश्चित भएकाले प्रदेश सरकारले सहिद तथा घाइते परिवारका सदस्यका लागि उचित राहत एवम् रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए। उनहरूले सहिदको सपना साकार गर्न सबै राजनीतिक दल तथा सरोकारवालाले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राखे।

यस्तै गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले मन्त्रालयअन्तर्गतको प्रतिष्ठानलाई थप बलियो बनाउँदै राहत तथा अन्य सहयोगका कार्यक्रम गर्न जरुरी रहेको बताए। दिवसकै अवसरमा प्रदेश सरकारले ६१ जना सहिद परिवारलाई जनही दुई लाख रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। घाइते ८१ जनालाई २५ हजारदेखि दुई लाख रुपैयाँसम्म आर्थिक सहयोग र सम्मान प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक छटु चौधरीले जानकारी दिए।

कार्यक्रमस्थलमा मधेश आन्दोलनका घाइतेले आफूहरुलाई उचित राहत दिनुपर्ने माग गर्दै ध्यानाकर्षण गराउनुभयो। आजभन्दा १६ वर्षअघि ०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा संघीयता र समावेशीता नसमेटिएको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा माघ २ गतेदेखि आन्दोलन भएको थियो। सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको प्रहरीको गोली लागेर ज्यान गएको थियो।

०६३ देखि २०७४ सम्म विभिन्न चरणमा भएका मधेश आन्दोलनमा १ सय १७ जनाको ज्यान गएको मेधसकेन्द्रित दलहरूले दाबी गर्दै आएका छन्। प्रतिष्ठानले पहिचान गरेका ६३ मध्ये ६१ जनालाई सहिद घोषणा गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =