७.४९ प्रतिशत विद्युत् चुहावट, सबैभन्दा बढी मधेश प्रदेशमा

हिमाल प्रेस ५ माघ २०७९ १४:४२
4
SHARES
७.४९ प्रतिशत विद्युत् चुहावट, सबैभन्दा बढी मधेश प्रदेशमा

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ।  प्राधिकरणले चालु आर्थिक वर्षको साउन–मंसिरमा वितरणतर्फको विद्युत् चुहावट घटाएर ७.४९ प्रतिशतमा झारेको हो। यो गत वर्षको मंसिरको तुलनामा १.७४ प्रतिशत बिन्दुले कम हो।

गत वर्षको मंसिरमा विद्युत् चुहावट ९.२३ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८÷७९ मा समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो। चालु आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ। ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ।

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ। प्रसारण र वितरणतर्फ गरी विद्युत् चुहावट १२.५ प्रतिशत छ। गत असारसम्म समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेको बताए। उनले भने, ‘प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टोली परिचालन गरिएको छ।’

प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको मंसिरसम्ममा समग्र विद्युत् चुहावट १२.८० प्रतिशत छ।

अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो। सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत वर्ष मलगंवा वितरण केन्द्रको विद्युत् चुहावट ४३.८२ प्रतिशत थियो।

प्रकाशित: ५ माघ २०७९ १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =