यस्तो छ प्रतिनिधिसभाको आजको कार्यसूची

हिमाल प्रेस ५ माघ २०७९ १०:२३
8
SHARES
यस्तो छ प्रतिनिधिसभाको आजको कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ। बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ।

त्यस क्रममा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नेछन्।

त्यस्तै सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उक्त प्रस्तावलाई
प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची छ।

सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेससहितका केही दलले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेका छन्।

सभामुख/उपसभामुखसम्बन्धी संवैधानिक व्यवस्था

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख निर्वाचनसम्बन्धी व्यवस्था छ।

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन्।

निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्नेछ। तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन।

प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन्।

प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ।

प्रकाशित: ५ माघ २०७९ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =