बाँकेका ७ वटा छोटी भन्सार पुनःस्थापना हुन सकेनन्

हिमाल प्रेस ४ माघ २०७९ २०:२०
4
SHARES
बाँकेका ७ वटा छोटी भन्सार पुनःस्थापना हुन सकेनन् फाइल तस्बिर।

बाँके– द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन्। ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ।

अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन्। यी सबै छोटी भन्सारका केही भवन भत्किएर काम नलाग्ने अवस्थामा रहेका र केहीको भवन नै नभएको बताइएको छ। यी भन्सार कार्यालयबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएकोसमेत पाइँदैन।

‘भएका छोटी भन्सार सञ्चालनमा आउन भारतले पनि सञ्चालनमा ल्याउनुपर्छ त्यसपछि मात्रै यहाँबाट भन्सार सञ्चालन हुन सक्छ,’ भन्सार कार्यालय, नेपालगञ्जका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लु शर्माले भने।

उनले भारतमा पनि ‘काउन्टर पार्ट’ स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिँदै नेपालले चाहेर मात्रै सञ्चालन नहुने बताउनुभयो। यस्ता छोटी भन्सारबाट साना सामग्री धेरै आउने गरेको बताइएको छ।

चोरी पैठारी बढ्दै

नेपालगञ्ज भन्सारबाट चिनीको आयात कोटा प्रणालीमा हुने भएपछि चिनीको चोरी, पैठारी हुने गरेको छ। चिनीमा ४० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि चिनीको चोरी, पैठारी हुने गरेको हो। ‘जुन वस्तुमा भन्सार महसुल बढी हुन्छ त्यस्तो वस्तुको चोरी, पैठारी बढी हुन्छ,’ भन्सार अधिकृत शर्माले भने।

भारतले चिनी आयातमा प्रतिबन्ध लगाएपछि बरुण वेभरेज र बोटलर्स नेपालले नेपालगञ्ज भन्सार हुँदै करिब ५०० मेट्रिक टन चिनी नेपाल भित्र्याउने गरेको छ तर पनि नेपाली बजारमा भारतीय चिनी छयाप्छयाप्ती देखिएको छ।

गत असारमा मात्रै नेपालगञ्जस्थित बजारबाट ४ सय २० बोरा अवैधरूपमा ल्याइएको चिनी प्रहरीले बरामद गरेको थियो। करिब २१ टन सो चिनी २२ लाख रुपैयाँमा लिलामीसमेत भइसकेको भन्सार कार्यालय, नेपालगञ्जले जनाएको छ। चिनीबाट गत आर्थिक वर्षमा मात्रैएक अर्ब १४ करोड राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५० करोड रुपैयाँ राजश्व उठेको छ।

यसबाहेक गहुँ र मैदामा पनि भारतले प्रतिबन्ध लगाए पनि यसको चोरी पैठारी हुने गरेको पाइएको छ तर गहुँ र मैदाको कोटा प्रणाली लागू नभएको र कोटा प्रणाली दिने सूचना आएको भन्सार अधिकृत शर्माले जानकारी दिए।

गहुँको कृषि शुल्क नौ प्रतिशत रहेको छ। मैदाको भन्सार शुल्क १० प्रतिशत रहेको छ। चोरी गरेर ल्याएको करिब २४ टन गहुँ गत कात्तिकमा प्रहरीले डुडुवा गाउँपालिकाबाट बरामद गरेको थियो।

प्रकाशित: ४ माघ २०७९ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =