म राष्ट्रपति बन्न इच्छुक छैन : डा. सन्दुक रुइत

हिमाल प्रेस ४ माघ २०७९ १७:५०
6
SHARES
म राष्ट्रपति बन्न इच्छुक छैन : डा. सन्दुक रुइत

काठमाडौँ- वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नबनाएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन्।

उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेरै आफूले गर्नुपर्ने काम धेरै रहेको बताए।

उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस्। हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्नेछ। भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ। तर यो मेरो लागि होइन। मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’

राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै काम रहेको उनको भनाइ छ। हालै बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि उनले पत्रकार सम्मेलन गरेका थिए। इसा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेको थियो।

डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले भने, ‘यस्तो खालको एउटा ग्लोवल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो। संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्ने थाहा भयो। नेपालीको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ। यो मेरो जीवनकै कमाइ हो। यो जिन्दगीको तपस्याको फल हो।’

उनले यही कुरा पाउन विदेशीले भन्दा नेपालीले दुईतीन गुणा बढी मेहनत गर्नुपर्ने उनले बताए। रुइतले भने, ‘मैले पहिला पनि पाउँथे होला यस्तो तर नेपाली भएको हुनाले समय लाग्यो।’  डा. रुइतले राज्यले आफूलाई कसरी लिन्छ भनेर आफूले हेरिरहेको बताए।

उनले भने, ‘अवार्डले नेपालको आत्मसम्मान र चिनारीलाई कति माथि लगेको छ भन्ने यो राज्यले बुझ्नुपर्ने कुरा हो। म राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु।’ उनले नेपालका धेरै क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए। रुइतले भने, ‘राज्यले स्वास्थ्यको क्षेत्रलाई धेरै विस्तार गर्न आवश्यक छ। तिलगंगा आँखा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय इन्स्टिच्युसन बनाउनुपर्छ।’  –न्युज एजेन्सी नेपाल

प्रकाशित: ४ माघ २०७९ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =