जाभीका चेलाहरूकाे उद्घाेष : यो नयाँ बार्सिलोना हो

हिमाल प्रेस ३ माघ २०७९ २२:०४
4
SHARES
जाभीका चेलाहरूकाे उद्घाेष : यो नयाँ बार्सिलोना हो

काठमाडौँ- बार्सिलोनाले आइतबार राति स्पेनिस सुपर कप जित्न रियल म्याड्रिडलाई हरायो। प्रतिद्वन्द्वीलाई हराएका कारण पनि बार्सिलोनाका लागि यो मिठो सफलता थियो। उपाधि त आफैँमा महत्त्वपूर्ण भइगयो। यीबाहेक बार्सिलोनाको फुर्किने अर्को कारण पनि छ। त्यो हो, दुई वर्षपछि जितेको उपाधिमा युवा खेलाडीहरूको भूमिका।

साउदी अरबको राजधानी रियादमा रियललाई पराजित गर्न गाभीले एक गोल गरे। बाँकी दुई गोल रोबर्ट लेवान्डोस्की र पेड्रीले गरे। तर यी दुवैले गरेको गोल गाभीकै कारण सम्भव भएको थियो।

रियललाई हराउँदा गाभी र पेड्रीबाहेक रोनाल्ड अराउओ गतिलो प्रदर्शन गर्ने अर्का युवा खेलाडी थिए। जितपछि उनै अराउओ बेस्सरी चिच्याउँदै ड्रेसिङ रुम छिरे। ‘अब नयाँ युग सुरु भएको छ,’ खुसीयाली मनाउँदै गर्दा उनले प्रयोग गरेको वाक्य यस्तो थियो।

अराउओले भनेझैँ बार्सिलोनामा नयाँ युग सुरु भएको छ। यसो किन पनि भनिएको हो भने बार्सिलोना २१ औँ शताब्दीमा लियोनल मेस्सीबिना पहिलो पटक उपाधि विजेता बनेको छ। सन् २०२१ मा मेस्सी पेरिस सेन्ट जर्मेन पीएसजी सँग अनुबन्ध हुँदा बार्सिलोना कसरी अघि बढ्ला भन्ने संशय व्यक्त भएको थियो।

सबैभन्दा ठूला स्टारले छाडेर हिँडेपछि बार्सिलोनाले सरुवा बजारमा ठूलो खर्च गर्‍यो। त्यो पनि ऋणमा छँदाछँदै। टेलिभिजन प्रशारण अधिकार बिक्री गरेर अग्रिम पैसा लिइयो। अरु उपाय पनि अपनाइए। यी सबै गरेकाे युरोपियन क्लब फुटबलमा स्थापित स्टार खरिद गर्ने योजना अघि बढाउनका लागि थियाे।

यही योजनाको हिस्सा बनेर लेवान्डोस्की क्याम्प नौउ पुगेका हुन्। लेवान्डोस्कीसँगै साउदीको मैदानमा उत्रिएका नयाँ खेलाडीमा युल्स कौन्डे र रफिन्हा पनि थिए।

कुनैबेला बार्सिलोना युरोपकै सबैभन्दा बलियो टिम थियो। सन् २००९, २०११ र २०१५ मा च्याम्पियन्स लिग जितेपछि बार्सिलोनाको त्यो टिम भत्कियो। थोरै खेलाडी टिममै रहे। तर ती सबै करियरको उत्तराद्र्धमा थिए।

सन् २०१५ मा तीन उपाधि जितेका बार्सिलोनाको टिमबाट अलग्गिने पहिलो खेलाडी थिए, जाभी हर्नान्डेज। जो हाल प्रशिक्षक छन्। जाभीलाई हाल दिइएको जिम्मेवारी हो, बार्सिलोनाको पुनःउत्थान गर्ने।

जोआन लापोर्ट अध्यक्ष बनेपछि भन्थे, बार्सिलोना नाजुक अवस्थामा थियो। त्यही बार्सिलोनालाई पहिलेको अवस्थामा फर्काउन जाभी लागि परेका छन्। यो अभियानमा उनलाई गाभी, पेड्री, अराउओ, कौन्डे लगायतका खेलाडीको साथ छ। यी सबै खेलाडी करियरको सुरुवाती र मध्य बिन्दूमा छन्।

गाभी १८ र पेड्री २० वर्षका हुन्। अराउओको उमेर २३ वर्ष छ भने कौन्डे एक वर्षले जेठा छन्। भेट्रान फुलब्याक जोर्डी अल्बालाई प्रतिस्थापन गरेका अलेहान्द्रो बाल्डे भर्खर १९ वर्षका भए। त्यसैगरी आन्सु फाती २० वर्ष कटेका छैनन्।

रियलविरुद्ध गाभीको प्रदर्शन अद्भुत थियो। लेफ्ट विंगरको भूमिकामा देखिएका उनी बारम्बार रियलको बक्समा पुग्थे। सेन्ट्रल मिडफिल्डमा रहेर खेल्न मन पराउने स्वाभाव भएका गाभीका कारण बार्सिलोना बल पोसेसनमा रियलभन्दा अघि रह्यो। गाभी र बाल्डेको जोडीले रियलका राइटब्याक डानी कार्भहाललाई हैरान बनायो।

‘१८ वर्षका गाभीको प्रदर्शनबारे जति प्रशंसा गरे पनि कम हुन्छ। उनी यसरी खेल्छन् कि मानौँ उनलाई केही कुराको प्रवाह छैन। मैदानमा उत्रिएपछि बाँकी सबै कुरा बिर्सन्छन्,’ जाभीले गाभीबारे भने।

लापोर्टले गाभीसँगै पेड्रीको पनि प्रशंसा गरेका छन्। ‘यी दुई खेलाडी बार्सिलोनाको वर्तमान र भविष्य हुन्। उनीहरूले बार्सिलोनालाई भविष्यमा धेरै उपाधि जिताउने छन्। पेड्री जादुगर हुन्। गाभी दर्शनीय खेल देखाउँछन्,’ लापोर्टले भनेका छन्।

गाभी र पेड्रीको जाभी र आन्द्रेस इनिएस्टासँग तुलना हुने गरेको छ। यो तुलनामाथि प्रतिक्रिया दिँदै जाभीले एक महिनाअघि भनेका थिए, ‘म र इनिएस्टा किशोर उमेरमा यी दुई खेलाडी जत्तिको प्रतिभाशाली थिएनौँ।’

साउदीका पूर्वराजा फाहदको नाम राखिएको रंगशालामा रियललाई सजिलै पन्छाएपछि बार्सिलोनाका खेलाडीले मैदानमा निकैबेर खुसीयाली मनाए। डे«सिङ रुमभित्र नाचगान गरे। ‘यो एल क्लासिको हो। जसमा हामी विजेता बनेका छौँ। खुसीयाली त मनाउनै प¥यो नि। फेरि प्रशिक्षक बनेदेखि नै उपाधि जितको प्रतीक्षा थियो,’ जाभीले रंगशालामा उपस्थित पत्रकारहरूसँग भनेका थिए।

जाभीका लागि यो उपाधि जितको सुरुवात हुनसक्छ। उनीसँग ला लिगा जित्ने अवसर पनि छ। लिगका लगभग आधा खेल सकिँदा बार्सिलोना शीर्षस्थानमा छ। त्यो पनि रियललाई तीन अंकले पछि पारेर। यसकारण अराउओले झैँ भन्न सकिन्छ, बार्सिलोना नयाँ युगमा प्रवेश गरेको छ।

प्रकाशित: ३ माघ २०७९ २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast