सुध्रिएन सार्वजनिक शिक्षा

गणितमा सबैभन्दा कमजोर उपलब्धि

हिमाल प्रेस ३ माघ २०७९ ६:००
82
SHARES
सुध्रिएन सार्वजनिक शिक्षा फाइल तस्बिर

काठमाडौँ– विद्यालय शिक्षाको उपलब्धि परीक्षणले नेपालको शैक्षिक गुणस्तरमा सुधारको आवश्यकता औंल्याएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सार्वजनिक गरेको कक्षा ८ का विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण प्रतिवेदन (नासा) २०२०अनुसार देशभरको शैक्षिक गुणस्तर कमजोर पाइएको हो।

केन्द्रका निर्देशक चन्द्रकान्त भुसालकाअनुसार नाशा प्रतिवेदनमा शैक्षिक उपलब्धि परीक्षण गरिएका कक्षा ८ का गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयमध्ये गणितको शैक्षिक उपलब्धि कमजोर पाइएको छ।

उनले प्रतिवेदनमा नेपालका १८ सय विद्यालय, १८ सय विषय शिक्षक, १८ सय प्रधानाध्यापक र ४३ हजार ४९७ विद्यार्थीहरूको चार विषयको नमुना परीक्षण गर्दा विद्यार्थीहरूलाई नमुना प्रश्नावली, विषय शिक्षक प्रश्नावली र प्रधानाध्यापकहरूलाई विद्यालय सर्वेक्षण प्रश्नावलीमार्फत तयार गरिएको जनाएका छन्।

प्रतिवेदनमा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयको शैक्षिक सुशासनमा नै सुधार गर्न आवश्यक रहेको उल्लेख छ। केन्द्रले कक्षा ८ को सन् २०११, २०१३, २०१७ र २०२० मा उपलब्धि परीक्षण मूल्यांकन गरिसकेको छ।

शिक्षण सिकाइ उपलब्धिलाई ध्यान दिँदै सरकारले विद्यालयमा पठनपाठनको अवस्था, शिक्षकको योग्यता, विद्यालयको कार्यसम्पादन परीक्षण, शिक्षक दरबन्दी, भौतिक शैक्षिक पूर्वाधार, शिक्षामा समुदायको सहभागिता र लगानी, विद्यार्थीको सिकाइ मूल्यांकन, विद्यालय छाड्ने बालबालिकाको दरजस्ता विषयमा अध्ययन गर्दै आएको छ।

शैक्षिक उपलब्धिको घट्दो ढाँचा र नासा परिणामहरूको स्थिरताले गणित र विज्ञानमा एक तिहाइ विद्यार्थी र झण्डै आधा विद्यार्थीहरूमा अंग्रेजी राष्ट्रिय औसतभन्दा कम उपलब्धि हासिल गरेको उल्लेख छ। शिक्षामा सरकारले गरेको लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको, गुणस्तरीय शिक्षा अभिवृद्धि गर्न पर्याप्त सरकारी हस्तक्षेप सुनिश्चित गर्न आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ।

सरकारले समस्याको विषयमा अनुसन्धान गरी शैक्षिक नोक्सानीबारे ख्याल गर्न, क्रियाकलापमा आधारित, विद्यार्थी केन्द्रित र अनुसन्धानमा आधारित शिक्षण सिकाइलाई पालन गर्न सुझाव दिइएको छ। शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माले शिक्षामा राज्यको लगानीअनुसारको प्रतिफल हासिल गर्न नसकेको स्वीकारे।

‘शिक्षण सिकाइ उपलब्धि नहुनुमा कोभिडकका कारण शिक्षामा भएको क्षति पनि प्रमुख कारक हो। शैक्षिक रूपान्तरणका लागि ३ तहको सरकारबीच समन्वय आवश्यक छ। दिगो विकास लक्ष्यभित्रको गुणस्तरीय शिक्षा हासिल गर्न सरकारले योजना बनाएरै अघि बढेको छ। केही ढिलो भएको हो। हामी लक्ष्यसम्म पुग्छौँ,’ उनले भने।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ५ देखि १२ वर्षका ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन्। विद्यालयमा भर्ना भएका विद्यार्थीको सिकाइ उपलब्धि सन्तोषजनक नभएको केन्द्रको प्रतिवेदनले देखाएको छ। कक्षा ३, ५, र ८ का आधा मात्रै विद्यार्थी नेपाली र गणित विषयको शैक्षिक परीक्षामा सफल भएका छन्। प्रारम्भिक बालशिक्षामा उपस्थिति दर ५१ प्रतिशत मात्रै छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना दर ९७ प्रतिशत छ।

केन्द्रको प्रतिवेदनमा गणित विषयको शैक्षिक उपलब्धि राष्ट्रिय औसतभन्दा धेरै कम भएको उल्लेख छ। अध्ययन प्रतिवेदनमा राष्ट्रिय औसत ५सय निर्धारण गरिएकोमा गणितमा ४८३ र विज्ञानमा ४७० मात्र प्राप्त गरेको पाइएको छ। प्रतिवेदनअनुसार गणित विषयमा ३२ प्रतिशत विद्यार्थीले मात्र न्यूनतम सक्षमता हासिल गरेको पाइएको उल्लेख छ। गणितमा ६८ प्रतिशत बालबालिकाले गणित विषयको पठन सिप तथा गणितीय सिप हासिल गर्न सकेका छैनन्।

त्यसैगरी विज्ञान विषयमा ३८ प्रतिशत बालबालिकाले मात्र न्यूनतम सक्षमता हासिल गरेका छन्। त्यसैगरी नेपालीमा ५९ प्रतिशत र अंग्रेजीमा ५२ प्रतिशतले मात्र न्यूनतम सक्षमता हासिल गरेको तथ्यांक नासाको प्रतिवेदनमा उल्लेख छ।

यस अघि २०१७ मा भएको अध्ययन प्रतिवेदनमा गणितमा ४६ प्रतिशत बालबालिकाले न्यूनतम सक्षमता हासिल गरेको उल्लेख थियो। यो विषयमा ३ वर्षको अवधिमा १४ प्रतिशत बालबालिकाको सक्षमता कमजोर भएको पाइएको छ। त्यसैगरी विज्ञानमा २०१७ मा विज्ञान विषयमा ४० प्रतिशत बालबालिकाले न्यूनतम सक्षमता हासिल गरेका थिए। यो विषयमा कम दुई प्रतिशत बालबालिकाको सक्षमता खस्किएको पाइएको हो।

प्रदेशगत रूपमा पनि गणित विषयको विद्यार्थीको सिकाइ उपलब्धि कर्णाली प्रदेशको सबैभन्दा निरासाजनक छ। कर्णाली प्रदेशका १३ प्रतिशत बालबालिकाले मात्र न्यून्तम सिकाइ उपलब्धि हासिल गरेका छन्। कर्णाली प्रदेशका ८७ प्रतिशत बालबालिकाले आधारभूत ज्ञान समेत हासिल गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी सुदुपश्चिमका १५ प्रतिशत बालबालिकाले मात्र न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशका ३१, मधेश प्रदेशका ३५ गण्डकीका ४२ र बागमती प्रदेशका ५३ प्रतिशत बालबालिकाले मात्र न्यून्तम सिकाइ उपलब्धि हासिल गरेका छन्।

नासा प्रतिवेदनकाअनुसार, विद्यार्थीलाई गृहकार्य दिने, गृहकार्यमा पृष्ठपोषण दिने, शिक्षक नियमित हुने र शिक्षक विद्यार्थीको सम्बन्ध राम्रो भएका विद्यालयका उपलब्धि राम्रो देखिएको उल्लेख छ। शिक्षकको अविश्वसनीयता, कक्षाकोठा अभ्यासमा सुधारको अभाव, विद्यालयमा सिकाइ वातावरणको अभाव, पाठ्यपुस्तकको अभाव, विद्यालय/शिक्षकहरूप्रति विद्यार्थीको धारणा, विद्यार्थीहरूको ठूलो संख्या, उपयुक्त सिकाइ अवसरहरूको अभाव, र सुधारका लागि उपचारात्मक कार्यहरूको अभावका कारण शैक्षिक गुणस्तर खस्किएको प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न अनुगमन र विद्यालय सुशासनको मूल्यांकन, प्रधानाध्यापकहरूलाई सशक्तिकरण, शिक्षकलाई पुरस्कृत र दण्डित गर्ने व्यवस्था ल्याउन सके विद्यालयको सुशासन सुधार हुने सुझाव प्रतिवेदनमा समेटिएको छ।

सामाजिक सञ्जालको पहुँचले विद्यार्थीको उपलब्धिमा पनि सकारात्मक प्रभाव पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यार्थीको शिक्षाको माध्यम, जाति जनजाति, बाबुआमाको पेशा, शैक्षिक योग्यताले प्रभाव पार्ने गरेको उल्लेख छ। प्रतिवेदनकाअनुसार शिक्षणपेशामा रहेका अभिभावकका छोराछोरीको सिकाइ उपलब्धि सबैभन्दा राम्रो र ज्याला मजदुरी गर्ने (अरूको घरमा काम गर्ने) अभिभावकका सन्तानको शैक्षिक उपलब्धि कमजोर भएको उल्लेख छ।

जनजाति र दलित बालबालिकाको उपलब्धि अन्य जातजातिको तुलनामा कम भएको प्रतिवेदनमा उल्लेख छ। केन्द्रले कक्षा ३, ५, ८ र  १० गरी विद्यालय शिक्षाका ४ बिन्दुमा विद्यार्थीको शैक्षिक उपलब्धि परीक्षण गर्दै आएको छ।

प्रकाशित: ३ माघ २०७९ ६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =