राजनीतिक खेल हारेका कमल थापा

केशव राना क्षेत्री २ माघ २०७९ १७:३६
राजनीतिक खेल हारेका कमल थापा तस्बिर : टेनिस नेपालको फेसबुकबाट

गत मंसिर ४ को आमनिर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिह्नबाट चुनाव लडे। मकवानपुर-१ मा थापा आफ्नै पूर्वसहकर्मी दीपक सिंहसँग पराजित भए। एमालेको साथ पाउँदासमेत थापाले २५ हजार ४६० मत मात्र पाए। उनको पार्टीले त देशभरको समानुपातिक मत १२ हजार ३४० मात्रै पायो।

त्यसो त कमल थापाले आफ्नो पार्टीबाट चुनाव लड्दा हार्ने संकेत पाएरै एमालेसँग साँठगाँठ गरे र कार्यकर्तालाई राप्रपा नेपालको चुनाव चिह्न तीरबाटै लड्न लगाए। तर पनि उनको रणनीति सफल हुन सकेन।

यद्यपि थापाप्रति सदासयता राख्नेहरू भने उनलाई राजनीतिक ‘ट्रयाप’मा पारेको भन्छन्। ‘खासगरी दिल्ली र युरोपियन युनियनको कुरा नमान्दा थापालाई ट्रयापमा पारिएको हो,’ एक नेताले भने, ‘दिल्लीबाट सीधै कमल जीको फोन देदो हम दिल्लीसे बोल रहे है (कमलजीलाई फोन दिनुस्, म दिल्लीबाट बोलिरहेको छु) भनेर फोन आउँथ्यो, मिटिङमा हुनुहुन्छ भन्दा कोन जगा कोन मिटिङ हो रहा है हमको मालुम है (कुन ठाउँमा कुन बैठक भइरहेको छ, हामीलाई थाहा छ) भनेर थर्काउँथ्यो।’

जानकारहरू कमल थापाको राजनीतिक खेलको ओरालो यात्रा सत्ता र शक्तिको त्यही बिन्दुबाट सुरु भएको बताउँछन्। गत महाधिवेशनमा पराजित भएपछि त उनको यात्रा झन् तीव्ररूपमा झर्‍यो।

थापाले भारतको कुरा नसुनेपछि उनको राजनीति सिध्याउन चलखेल गरेको थापा निकट एक नेताले बताए। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि पार्टी नेतृत्वप्रति नियोजित र षड्यन्त्रपूर्वक भ्रम फैलाइएको बताउँछन्। ‘पार्टीलाई पुनर्जागृत गरेको छोटो समयमै निर्वाचनमा होमिनुपर्‍यो, धेरै ठूलो अपेक्षा थिएन,’ उनले भने, ‘हाम्रो पार्टी र नेतृत्वप्रति फैलाइएको भ्रम तोड्न सकेनौँ। संगठन गर्ने, जनतामाझ गएर आफ्नो कुरा राख्ने, भ्रम निवारण गर्ने र हामीमाथि लगाइएका आरोपहरूको खण्डन गर्ने पर्याप्त समय भएन, जसकारण चुनावमा असफलता मिल्यो।’

ओरालो यात्रा

कुनै बेला राप्रपा नेपाल एउटा शक्तिका रूपमा थियो। पहिलो संविधानसभा निर्वाचनमा चार सदस्य भएको राप्रपा नेपालका २०७० मा भएको दोस्रो संविधान सभामा सदस्य २४ पुगे। २०७२ को संविधानप्रति फरक मत राख्ने राप्रपा नेपाल र यसको नेतृत्व गरिरहेका थापा त्यही संविधानभित्र बनेको सरकारमा पटकपटक गए। उपप्रधानसहित परराष्ट्रमन्त्रीसमेत बने।

जानकारहरू कमल थापाको राजनीतिक खेलको ओरालो यात्रा सत्ता र शक्तिको त्यही बिन्दुबाट सुरु भएको बताउँछन्। गत महाधिवेशनमा पराजित भएपछि त उनको यात्रा झन् तीव्ररूपमा झर्‍यो।  थापाले पराजय स्वीकार्न सकेनन्। दरबारियाको नांगो हस्तक्षेप भएको भन्दै त्यसको छानबिनको माग गरे। तर उनको त्यो मागलाई नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले वास्तै गरेन, आवश्यक पनि ठानेन।

जहिल्यै नेतृत्वमा बस्नुपर्ने प्रवृत्ति बोकेका थापा आफ्नो हातबाट राप्रपाको बागडोर खोसिँदा छट्पटिए। राप्रपासँग एकता गर्दा ‘गीता’ छोएर पार्टी नफुटाउने कसम खाएका थापाले कसमसमेत पूरा गरेनन्। यद्यपि उनले आफूले पार्टी नफुटाएको बरु पार्टीबाट राजीनामा दिएको दाबी गर्दै आएका छन्।

तर महाधिवेशनको दुई महिनामै उनले आफू निकटकालाई समेटेर नयाँ पार्टी गठन गर्ने घोषणा गरेका थिए। पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ र चुनाव चिह्न ‘पशुपतिनाथको मन्दिर’ राख्नेबारे लगभग तयसमेत भइसकेको थियो।

त्यही बेला पुरानो पार्टी जोगाइराखेका अध्यक्ष लाक्पा तामाङले राप्रपा नेपाल थापालाई बुझाए। तामाङले विज्ञप्ति जारी गरेरै भने, ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ। एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो सोचाइ अहिले प्रमाणित भएको छ।’

तर, थापा निकटस्थहरूका अनुसार तामाङलाई पार्टी चलाउन गाह्रो भएको थियो। त्यहीबेला कमल थापाले नयाँ पार्टी खोजिरहेकाले तामाङले राप्रपा नेपाल बुझाएका हुन्। त्यसको घोषणा २०७८ फागुन ७ गते गरियो। केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा थापाको कूटनीतिक र नेगोसियसन शैलीबाट नाकाबन्दी हटेको थियो। संविधान जारी भएपछि भारतले एकतर्फी नाकाबन्दी लगाएको थियो। त्यसलाई खुलाउन ओलीले बाहिर जस पाए तर भित्री काम भने थापाले गरेका थिए।

राप्रपा नेपाल ब्युताउँदा राप्रपामै रहेका उनी निकटका नेताहरू पनि आउन चाहेका थिए। राप्रपाको कार्यसमितिमा पनि कमल थापा पक्षधरकै बहुमत थियो। तर, थापाले उनीहरूलाई वास्तै गरेनन्। उनले ‘तिमीहरू निर्वाचित भएका हौ, त्यहीँ बस, नयाँ साथीहरूसँग मिलेर संगठन बनाउँछु’ भनेपछि उनीहरू उतै रोकिए। त्यसैले पनि थापाले आफूले पार्टी नफुटाएको दाबी गर्नु स्वाभाविकै भएको नेताहरू बताउँछन्।

अहिले राप्रपाका पूर्व अध्यक्ष तामाङलाई जस्तै थापालाई पनि पार्टी चलाउन गाह्रो भएको छ। कुनै बेला कमल थापाको ब्रान्डका रूपमा रहेको राप्रपा नेपाल अहिले उनकै लागि ‘घाँडो’ बनेको छ। ‘अध्यक्षले आफ्नो भविष्य त बिगारे, हामी भर्खरै राजनीति बुझ्दै गएकाहरूको पनि बर्बाद गर्दैछन्,’ उनी निकट एक युवा नेताले भने, ‘राप्रपा छाडेर थापाको पछि लागेर आइयो। अहिले घरको न घाटको जस्तो भइएको छ।’

थापाको यो हाल हुनुमा उनी आफैं कारक रहेको ती नेता बताउँछन्। ‘कमल थापाको राजनीति सकिनुमा अरू कुनै कारण छैन। मात्र उनको अहम् र घमण्डले काम गरेको छ,’ उनले भने, ‘अझै उनीमा पञ्चायतमा जस्तै अहम् छ। अहिलेको पुस्ताले यस्तो रुचाउँदैन।’

महाधिवेशनमै पनि थापाले केन्द्रीय प्रतिनिधिसँग मत नमागेको एक अर्का नेताले बताए। ‘भृकुटीमण्डपमा भएको महाधिवेशनमा थापा दक्षिण भारतीय चलचित्रको हिरो शैलीमा गाडीबाट झरेर हात हल्लाउँदै भोट हालेर दरबारमार्गको एक होटलमा कफी खाएर बसे,’ उनले भने, ‘उनले भोट माग्न पनि आवश्यक ठानेनन्।अनि कसरी जितिन्छ चुनाव?’

थापा राम्रा नेगोसियटर र अध्ययनशील नेता भने हुन्। उनी साँच्चै लाग्दा धेरै काम फत्ते गर्न सक्छन्। तर, कतिपय अवस्थामा उनले त्यसलाई वेवास्ता गर्ने गर्छन्। थापाले सन् १९९७ मा आफू पहिलो पटक परराष्ट्रमन्त्री हुँदा भारतलाई १९५० को सन्धि असमान छ भनेर ‘ननपेपर’ दिएका थिए। उनले परराष्ट्र सचिवमार्फत् पठाएको पत्रलाई पछि भारतले ‘ननपेपर’ भनेर वर्गीकृत गरेको थियो। उनले त्यसलाई फत्ते गर्न सकेनन्। हुन त पछि मनमोहन प्रधानमन्त्री हुँदा त्यो पत्राचार भएको थियो।

कांग्रेस, एमाले र राप्रपामध्ये कसैले बहुमत प्राप्त गर्न नसक्दा राप्रपाले जसलाई समर्थन गर्थ्यो उसैको सरकार बन्थ्यो। त्यतिबेलै हो उनले सत्ताको स्वाद राम्रैसँग चाखेको।

पछिल्लो पटक परराष्ट्रमन्त्री हुँदा सन् १९५० लगायतको असमान सन्धिलाई परिमार्जन र दुई पक्षीय समग्र विषयमा अध्ययन गर्न नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को थालनी गराएका थिए। नेपाल-भारत सम्बन्धको विविध आयमबारे छलफल र स्थलगत अध्ययनसहितको त्यो रिपोर्ट अहिले परराष्ट्र मन्त्रालयको दराजमा थन्किएको छ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा थापाको कूटनीतिक र नेगोसियसन शैलीबाट नाकाबन्दी हटेको थियो। संविधान जारी भएपछि भारतले एकतर्फी नाकाबन्दी लगाएको थियो। त्यसलाई खुलाउन ओलीले बाहिर जस पाए तर भित्री काम भने थापाले गरेका थिए। थापा पाँच पटकसम्म भारत गएर विभिन्न हाँगा समातेर नेतृत्वलाई नेपालतर्फको नाकाबन्दी ‘वाइह्यात’ हो भन्ने स्पष्ट पारेका थिए।

संकटमा अस्तित्व

अहिले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको लोकप्रियता आकासिएको छ। २०७४ को निर्वाचनमा एक्ला लिङ्देनले मात्रै चुनाव जितेका थिए। उनैले पार्टीको नेतृत्व लिएको एक वर्ष नपुग्दै भएको निर्वाचनमा राप्रपाले १४ सिटसहित सानदार नतिजा ल्याएको छ।

राप्रपाको यही बढ्दो लोकप्रियता कमल थापा नेतृत्वको राप्रपा नेपाललाई अर्को चुनौती बनेको छ। थापासँगै रहेकाहरू पनि अहिले कोही राप्रपा फर्किएका छन् त कोही एमाले प्रवेश गरिरहेका छन्। पछिल्लोपटक राप्रपा नेपाल निकट युवा संगठनका अध्यक्ष कैलाश कटवाल राप्रपा फर्किए। गत कात्तिकमा नेता श्रीधर सुवेदी एमाले प्रवेश गरे।

कटवाल र सुवेदी कुनै बेला थापाका विश्वासपात्र मानिन्थे। आखिर उनीहरूले नै थापाको साथ किन छाडे त? सुवेदी भन्छन्, ‘आफ्नो भविष्य नदेखेर।’ उनले आफ्नो निर्वाचन क्षेत्रमा राप्रपा नेपाल कुनै पनि ‘पोजिसन’मा आउन नसक्ने भएपछि पार्टी छाडेको बताए। ‘मेरो निर्वाचन क्षेत्र बाँके क्षेत्र नं. १ मा राप्रपा नेपाल १५/२० वर्षसम्म पनि कुनै पोजिसन आउने देखिएन,’ उनले भने, ‘५०/६० वर्षको उमेरमा फेरि वडाध्यक्ष लडेर त काम छैन।’

विश्वासपात्रले छाड्दै गएपछि राप्रपा नेपालसँगै अध्यक्ष कमल थापालाई थप संकट परेको छ। जानकारहरूका अनुसार राप्रपा नेपालको अस्तित्व संकटमा पर्नुको मुख्य कारण उनको ‘अवसरवादी’ चरित्र नै हो। उनको अवसरवादी चरित्रबारे थाहा पाउन २०४७ सालमै फर्किनुपर्छ।

२०४७ सालको संविधान जारी भएपछि पूर्वपञ्चहरूले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भएका थापा २०४८ को आमनिर्वाचनमा मकवानपुरबाट पराजित भए। तर २०५१ सालको मध्यावधि निर्वाचनमा भने उनी विजयी भए।

त्यसपछि उनले नेपाली राजनीतिमा ‘मुसा प्रवृत्ति’लाई जन्म दिए। कांग्रेस, एमाले र राप्रपामध्ये कसैले बहुमत प्राप्त गर्न नसक्दा राप्रपाले जसलाई समर्थन गर्थ्यो उसैको सरकार बन्थ्यो। त्यतिबेलै हो उनले सत्ताको स्वाद राम्रैसँग चाखेको।

यतिसम्म कि उनले अवसरवाद र सत्तालिप्साकै कारण आफैँ मन्त्री रहेको सरकारसमेत ढाल्न सहयोग गरेका थिए। कुरा लोकेन्द्रबहादुर चन्दले सरकार नेतृत्व गरेका बेलाको हो। थापा चन्द नेतृत्वको सरकारमा २०५३ चैतदेखि २०५४ असोज २१ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री बनेका थिए। चन्दविरुद्ध अविश्वास प्रस्ताव आउँदा थापा परराष्ट्रमन्त्रीको हैसियतमा विदेश भ्रमणमा थिए। उनी प्रस्तावमाथि मतदान हुनु एक दिनअघि स्वदेश फर्किए।

तर उनले आफ्नै सरकारविरुद्धको प्रस्तावमा मतदान गरे। थापाको त्यही व्यवहारलाई लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्ति’को नाम दिए। उनले भनेका थिए, ‘मुसा पानीजहाजमा पस्यो भने त्यही जहाज प्वाल पार्न थाल्छ। त्यो जहाज डुब्न थाल्यो भने सर्वप्रथम जहाज छाडेर अर्कोमा हामफाल्छ। अर्को जहाजलाई पनि त्यसरी नै कोतरेर प्वाल पारी डुबाइदिन्छ। यिनै मुसा बोक्न रहर गर्ने जहाजवाला मेरो जहाज डुबेकामा खुसी नहुनुहोस्। यी मुसालाई जहाजमा चढाएपछि कुनै दिन तपाईंहरूको जहाज पनि डुबाइदिनेछन्।’

थापाको व्यवहारले पनि चन्दको भनाइलाई पुष्टि गर्छ। जतिबेला शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। त्यतिबेला कांग्रेसलाई राप्रपाले साथ दिएर सरकार बनेको थियो।

कुनै बेला राजा र हिन्दु धर्मको एजेन्डा बोक्ने एक मात्र नेताको रूपमा चिनिएका थापा अहिले भने राजामाथि नै रोष प्रकट गरिरहेका छन्। अहिले उनले राजाको एजेन्डा छाडेका छन्। हिन्दु राष्ट्रको एजेन्डा भने कायमै राखेका छन्। तर, उनको ‘मार्ग परिवर्तन’लाई जनताले पत्याइदिएनन्।

देउवा प्रधानमन्त्री हुँदा २०५२ भदौदेखि ५३ असोजसम्म थापाले कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका थिए। तर, उनले देउवालाई अविश्वास प्रस्तावमा समर्थन गर्ने अभिव्यक्तिले सधैँ तर्साइरहे।

६ महिना पूरा गर्न नपाउँदै प्रतिपक्षी एमालेले अविश्वासको प्रस्ताव ल्याएको थियो। अविश्वासको प्रस्ताव पारित हुने संकेत पाएपछि थापाले मन्त्री पदबाट राजीनामा दिए। उनी एमालेका पक्षमा उभिए। तर, प्रस्ताव असफल हुने अवस्था देखिएपछि फेरि उनी सरकारकै पक्षमा मतदान गर्न आइपुगे। त्यसैले उनलाई कतिपयले ‘राजनीतिक चरित्रहीन’को संज्ञा पनि दिन्छन्।

राजाको फेरो समाउँदा

२०५९ सालमा शेरबहादुर देउवाको सरकार विघटन भयो। तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन थाले। राजाको शासनकालमा २०५९ असोज २५ गते लोकेन्द्रबहादुर चन्दको नेतृत्वको मन्त्रिपरिषद् र २०६० जेठ २२ को सूर्यबहादुर थापाको सरकारमा पनि कमल थापा राजाको फेरो समाउँदै मन्त्री बने।

त्यसपछि २०६१ माघ १९ मा तत्कालीन राजाले सम्पूर्ण शासनसत्ता हातमा लिएपछि थापा अझ शक्तिशाली गृहमन्त्री बने। २०६२/२०६३ को दोस्रो जनआन्दोलन दबाउन थापाले ‘खलनायक’कै भूमिका निर्वाह गरेका थिए।

यद्यपि ज्ञानेन्द्रले शासन छाडेपछि आन्दोलनमा भएका दमनबारे छानबिन समिति गठन गरिएको थियो। समितिले थापालाई कारबाही गर्न सिफारिस गरे पनि उनीमाथि छानबिनसमेत भएन।

कुनै बेला राजा र हिन्दु धर्मको एजेन्डा बोक्ने एक मात्र नेताको रूपमा चिनिएका थापा अहिले भने राजामाथि नै रोष प्रकट गरिरहेका छन्। अहिले उनले राजाको एजेन्डा छाडेका छन्। हिन्दु राष्ट्रको एजेन्डा भने कायमै राखेका छन्। तर, उनको ‘मार्ग परिवर्तन’लाई जनताले पत्याइदिएनन्।

अबको बाटो के?

पार्टीले लज्जास्पद मत प्राप्त गरेपछि अहिले थापालाई पार्टी कसरी जोगाउने भन्ने चिन्ता छ। त्यसैले उनले राप्रपा नेपाललाई कुनै पार्टीसँग मिसाउने हुन् कि भन्ने आकलन गर्न थालिएको छ। तर, राप्रपा नेपालका महामन्त्री बर्तौला भने कसैसँग पार्टी एकता गर्ने योजना नरहेको बताउँछन्। यद्यपि उनले आफूहरू खुला भने रहेको बताए।

‘हामी खुल्ला हृदयका साथ फराकिलो ढंगको सोचाइ राख्छौँ, विचार, नीति, कार्यक्रम र भावना मिल्नेसँग मिल्न सक्ने अवस्था सधैँ रहन्छ,’ उनले भने, ‘मिल्ने नाममा कुरेर बस्ने कुरा हुँदैन, यात्राका क्रममा कहीँ कतै केही त्यस्तो सम्भावना रहे सबैलाई गोलबद्ध गराउँदै राप्रपा नेपाल अघि बढ्छ।’

उनका अनुसार अब नयाँ शिराबाट राप्रपा नेपाल अघि बढ्छ। राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूलाई गोलबद्ध गराउँदै अघि बढ्ने उनी बताउँछन्।

‘हामी अब पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रित हुन्छौँ, जनता केन्द्रित हुन्छौँ,’ उनले भने, ‘जनसरोकार र जनजीविकाको सबाल हाम्रो निमित्त महत्त्वपूर्ण हुन्छ। राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वलाई उच्च प्राथमिकतामा राखेर जनताको माझमा जान्छौँ।’

बर्तौलाले सबै विषयको निर्मम समीक्षा गर्दै उच्च मनोबलसहित अघि बढ्ने बताए। ‘अहिले पनि नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपालले बोकेको मूल्य,मान्यता र मार्गचित्र हितकर छ भन्नेमा हामी दृढ छौँ,’ उनले भने, ‘पराजयले केही धक्का लागेको छ, निराशा पनि छ। हामी अब नयाँ ऊर्जाका साथ, नयाँ शिराबाट राप्रपा नेपाललाई अघि बढाउँछौँ।’

प्रकाशित: २ माघ २०७९ १७:३६

प्रतिक्रिया

One thought on “राजनीतिक खेल हारेका कमल थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast