राजनीतिक तरलताकैबीच स्वास्थ्य परीक्षणका लागि दिल्ली पुगिन् आरजु

हिमाल प्रेस १ माघ २०७९ २०:१७
78
SHARES
राजनीतिक तरलताकैबीच स्वास्थ्य परीक्षणका लागि दिल्ली पुगिन् आरजु फाइल तस्बिर: जनकपुरधाममा कांग्रेस नेता निधिसँगै आरजु।

काठमाडौँ– नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि कांग्रेससभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन्।

प्रतिनिधिसभामा पिछडा क्षेत्रबाट समानुपातिक सांसद्समेत रहेकी आरजु आफ्नो स्वास्थ्यको फलोअपका लागि दिल्ली पुगेको पूर्वप्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनले केही समयदेखि आफ्नो उपचार भारतमा गराइरहेकी छन्।

आमा प्रतिभा राणा जापानमा राजदूत रहँदा र कांग्रेस प्रतिपक्षमा रहँदा ६ महिना टोकियोस्थित नेपाली दूतावासमा रहेर नै आरजुले उपचार गराएकी थिइन्। केपी शर्मा ओलीको सरकार ढलेर देउवा प्रधानमन्त्री बन्ने भएपछि उनी नेपाल फर्केकी थिइन्। त्यसपछि उनको उपचार भारतमा हुन थालेको हो।

आरजु आइतबार दिउँसो नेपाल एअरलाइन्स उडानबाट दिल्ली पुगेकी हुन्। कांग्रेसभित्रको आन्तरिक राजनीतिमा पछिल्लो समय दबदबा राखेकी आरजु अहिलेको अवस्थामा दिल्ली जानुलाई स्वास्थ्य परीक्षण मात्र मान्न सकिने अवस्था छैन। आरजु र उनीनिकट केहीको सल्लाहमा परेर सरकारलाई विश्वासको मत दिँदै संसदीय अभ्यासबाट समेत बाहिर रहेको कांग्रेसलाई पुनः सत्तामा लैजान उनी लागि परेकी छन्। त्यसका लागि छिमेकी ढाप पनि सहयोगी हुनसक्ने आकलन छ।

जस्तो सुकै उपाय अवलम्बन गरेर वा बाह्य शक्ति रिझाएर पनि आफ्नो दललाई सत्ताको नेतृत्वमा ल्याउने चाहना आरजुमा देखिएको उनीनिकट सांसद्हरू बताउँछन्।

पछिल्लो पटक देउवा प्रधानमन्त्री भएपछि आरजुले दिल्लीसँग हिमचिम बढाएकी हुन्। विशेष गरी दिल्ली संस्थापन पक्षसँग उनी निकट छिन्। देउवाले अन्यको विश्वास गर्न नसकेपछि पत्नीमार्फत भारतीय जनता पार्टी (भाजपा)सँग आफ्नो सम्पर्क बढाएका हुन्।

फाइल तस्बिर: निर्वाचनअघि दिल्लीस्थित नेपाली दूतावासमा प्रचण्ड र आरजु।

भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग दिदी-भाइको नाता जोडेकी आरजुले कांग्रेस र विजेपी सम्वन्ध विकासको मियोको काम गर्न खोजेकी छन्। उनले गत वर्ष चौथाइवालेलाई जनैपूर्णिमाका दिन बालुवाटारमा बोलाएर राखी बाँधिदिएकी थिइन्। त्यसपछि उनको भारत आउजाउ बाक्लिएको छ।

आम निर्वाचनअघि पनि आरजु स्वास्थ्य उपचारका लागि भन्दै लामो समय दिल्ली बसेकी थिइन्। उनी उपचारमा रहँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतीबेला भारत पुगेका थिए। राजदूत डा. शंकर शर्माले दूतावासमा जुराएको उनीहरूको त्यो भेटले त्यतीबेला निकै चर्चा पाएको थियो।

देउवाले मुखमा आएको सत्तालाई चुकाउन परेको अवस्थामा पुनः कसरी फर्काउने भन्दै राजनीतिक वहस र छलफलको लागि पनि आरजुको भ्रमण भएको हुनसक्ने आकलन दलका नेताहरूको छ। यद्यपि उनले आफ्नो स्वास्थ्यको उपचार भारतमा नै गराइरहेकी छन्।

उनको स्वास्थ्य चेकअपकै लागि भारत गएकी भए पनि पूर्वप्रधानमन्त्री पत्नी ठूलो दलको सांसद त्यहाँ पुग्दा पक्कै राजनीतिक गफ र भेटघाट हुने निश्चित छ। केही दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि पनि दिल्ली पुगेका थिए। अचानक चुनावी गठबन्धन फुटेर नेकपा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि कांग्रेसी नेताहरू यसरी भेटभाटमा जुटेका हुन्।

प्रकाशित: १ माघ २०७९ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =