गण्डकी प्रदेशसभा सभामुखमा माओवादीका धिताल निर्वाचित

हिमाल प्रेस ३० पुष २०७९ १६:५०
6
SHARES
गण्डकी प्रदेशसभा सभामुखमा माओवादीका धिताल निर्वाचित

पोखरा– गण्डकी प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन्। प्रदेशसभाको शनिबारको बैठकमा धिताललाईसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ३२ मत परेको हो। विपक्षीमा २६ मत परेको छ।सभामुखको निर्वाचन मतविभाजन प्रक्रियाबाट हुने व्यवस्था छ।

मतदान प्रक्रियामा सहभागी ५८ सांसदमध्ये धिताललाईसभामुखमा निर्वाचित गरिओस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएसँगै उनी संसदको दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। धितालको पक्षमा माओवादी केन्द्रका ८ सहित एमालेका २१, राप्रपाका २ सांसद र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मत जाहेर गरेका हुन्।

नेपालको संविधानको धारा १८२ (१) बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्रसभामुख वा उपसभामुख निर्वाचित भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा यसअघि एमालेले मुख्यमन्त्री पाइसकेको छ। एमाले संसदीय दलका नेता खगराज अधिकारी २५ पुसमा नेपालको संविधान १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले २९ पुसमा संसदबाट विश्वासको मत पनि पाइसकेका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिएको भोलिपल्टै गण्डकी प्रदेशमासभामुखको निर्वाचन भएको हो। उपसभामुख निर्वाचन २ माघमा हुँदैछ।

केन्द्रीय तहमा सत्तागठबन्धनअन्तर्गत माओवादीलाई गण्डकीमा सभामुख र उपसभामुख एमालेलाई परेको छ।

सभामुख निर्वाचित ६२ वर्षीय धिताल गोरखाका हुन्। भीमसेन थापा गाउँपालिका वडा २ का स्थायी वासिन्दा उनले गोरखा क्षेत्र १ (१) बाट ४ मंसिरको प्रदेशसभाको चुनाव जितेका थिए।

उनको प्रस्तावकमा फणीन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा थिए। माओवादी केन्द्रका गोरखा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य उनी २०४९ सालमा कर्मचारी आन्दोलनको नेतृत्व गरेकै कारण जागिर गुमाएका थिए। त्यसपछि अटुट रूपमा राजनीतिमा सक्रिय धितालसँग नेपालमा चलेको १० वर्षे सशस्त्र माओवादी जनयुद्धको अनुभव पनि छ।

उनले गोरखासहित छिमेकी लमजुङ र कास्की जिल्ला इन्चार्ज भई काम गरेका थिए भने जनमुक्ति सेनाको कमिसारसम्म बनेका थिए। चुनाव जितेपछि उनले प्रदेशसभाको कामकारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाटसभामुखमा सरस्वती अर्याल तिवारी उम्मेदवार थिइन्। स्याङ्जाको वालिङ नगरपालिका वडा ८ की स्थायी वासिन्दा हुन्। उनी समानुपातिक कोटाबाट प्रदेश सांसद निर्वाचित भएकी हुन्।सभामुखका लागि ४८ वर्षीय अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा. टकराज गुरुङ थिए।

२७ सिटसहित गण्डकीमा प्रमुख प्रतिपक्षमा बसेको कांग्रेसले अर्याललाई अघि सारेको हो। कांग्रेस संसदीय दलको बैठकलेसभामुखको उम्मेदवार तय गर्ने जिम्मा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई दिएको थियो।

नेपालको संविधानको धारा १८२ (२)(१) बमोजिम प्रदेशसभामासभामुख वा उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्छ र प्रदेशसभामुख वा उपसभामुख फरक फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर, प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्यसभामुख वा उपसभामुख हुन बाधा पर्ने छैन उल्लेख छ।

०७४ सालको चुनावबाट गठित प्रदेशसभाको पहिलो कार्यकालमा माओवादीबाटै नेत्रनाथ अधिकारी सभामुख बनेका थिए। ५ वर्षपछि दोस्रो कार्यकालमा पनि सत्तासाझेदार माओवादीले नै सभामुख पाएको हो। ६० सदस्यीय प्रदेशसभामा सत्ता पक्षमा ३२ र प्रतिपक्षमा २८ सांसद छन्। एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र १ सदस्य हुन्। प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसको सर्वाधिक २७ सिट छ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका थिए। उनलाई ३१ सांसदले समर्थन गरेका हुन्। सरकार गठनका बेला समर्थन गरेका स्वतन्त्रका दीपक मनाङे भने संसद बैठकमै उपस्थित भएनन्।

प्रकाशित: ३० पुष २०७९ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =