कक्षा १ मा प्रवेश परीक्षा नलिन केन्द्रको निर्देशन

हिमाल प्रेस २९ पुष २०७९ १५:२६
164
SHARES
कक्षा १ मा प्रवेश परीक्षा नलिन केन्द्रको निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन नगर्न विद्यालयलाई निर्देशन दिएको छ। केन्द्रको प्रारम्भिक बालविकास शाखाले पूर्वप्राथमिक तह र कक्षा १ मा प्रवेश परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो।

केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने जस्ता कार्य भएमा अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्वन गर्न केन्द्रले सवै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।

शिशु विकास केन्द्रको अवधारणाअनुसार स्थापना भएका मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वांगीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने एवम् यस्तै प्रकृतिका गृहकार्य दिने र कतिपय विद्यालयहरूले कक्षा १ मा भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको पाइएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रले गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर प्रारम्भिक बालविकासको समय भएको र यस उमेर समूहका बालबालिकालाई सर्वांगीण विकास हुने खालका क्रियाकलापहरूमा बढी संलग्न गराउनु पर्ने केन्द्रले जारी गरेको निर्देशनमा उल्लेख छ।

प्रवेश परीक्षाका लागि भनेर विभिन्न ठाउँमा तयारी कक्षाका नाममा बालबालिकाहरूलाई महिनौदेखि घोकाउने कण्ठ गराउने जस्ता बालबालिकाको सृजनात्मकता र अन्तर्निहित प्रतिभामा हानी पुग्ने जस्ता कार्य हुने गरेको भनी सरोकारवाला र विज्ञहरूबाट समेत गुनासो आएको हुँदा मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वांगीण विकास हुने क्रियाकलाप मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रले विद्यालयलाई निर्देशन दिएको छ।

राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ ले शिशु विकास केन्द्र, प्रारम्भिक बालविकास पूर्वप्राथमिक शिक्षा र आधारभूत तह (कक्षा १-३) मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्यांकन एवं स्तरीकरण सम्वन्धमा स्पष्ट मार्गदर्शन गरेको छ।

प्रकाशित: २९ पुष २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =