शक्तिमा टिकिरहने प्रचण्डको अर्को प्रयास

किरण पौडेल २७ पुष २०७९ ९:४१
16
SHARES
शक्तिमा टिकिरहने प्रचण्डको अर्को प्रयास

आफू शक्तिमा टिकिरहन पार्टीबाट ‘माओवादी’ शब्द बिसाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम एकताका नाममा डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र उपेन्द्र यादवलाई समेट्दै समाजवादी पार्टी गठनको तयारीमा जुटेका छन्।

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘माओवादी’ शब्द हटाएर पार्टी गठन गर्ने तयारीमा छन्। बृहत् वाम एकताका लागि पार्टीको नाम फेर्न लागिएको बताइए पनि प्रचण्डले आफू शक्तिमा टिकिरहनका लागि यस्तो कसरत गरेका हुन्।

नयाँ पार्टीको नाममा ‘माओवादी’ नराख्ने लगभग निश्चित भएको माओवादीका एक नेता बताउँछन्। ती नेताका अनुसार नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने तयारी छ।
विगतमा पनि प्रचण्डले आफू शक्तिमा टिकिरहन माओवादीमा कहिले एकीकृत र कहिले केन्द्र जोड्दै आएका छन्। अहिले नाम परिवर्तनको प्रयासलाई सत्ता र शक्तिमा टिकिरहन चाहने प्रचण्डको अर्को दाउका रूपमा लिइएको छ।

तत्कालीन नेकपा मशाल विघटन गरेर प्रचण्डले माओवादी गठन गरेका थिए। माओवादीकै ‘नेम प्लेट’मा रहेर प्रचण्डले सशस्त्र युद्ध लडे। खुला राजनीतिमा आएपछि पनि सोही दलमा रहेर तेस्रो पटक प्रधानमन्त्री भए। उनी तेस्रो पटक प्रधानमन्त्री भएकै बेला माओवादी नाम छाड्दैछन्। प्रचण्डले किन छाड्दै छन् त माओवादी?

बाबुरामलाई ‘फेस सेभ’

डा. बाबुराम भट्टराईलाई पार्टीमा ‘फेस सेभ’ का कारण प्रचण्डले माओवादीको नाम फेर्नुको एउटा कारण रहेको ती नेता बताउँछन्। २०५२ पछि १० वर्षसम्म दुवै नेताले सँगै ‘जनयुद्ध’ लडे। खुला राजनीतिमा आएपछि उनीहरूबीच करिब एक दशकसम्म सहकार्य रह्यो। बाबुराम माओवादीबाटै सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बने।

पार्टीभित्रको अन्तरसंघर्षका कारण बाबुराम २०७२ मा माओवादीबाट अलग भए। उनले माओवादी छाड्दै गर्दा ‘चर्किएको घरमा नजाने’ अभिव्यक्ति दिएका थिए। तर माओवादीबाट बाहिरिएपछि बाबुरामको राजनीति सफल भएन। नयाँ शक्तिबाट संघीय समाजवादी हुँदै अहिले बाबुरामले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन्।

पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्डलाई गोरखाबाट चुनाव जित्न पनि बाबुरामले ‘त्याग’ गरेका छन्। प्रचण्डले सोही गुन तिर्न पनि बाबुरामलाई समेट्न लागेको माओवादी नेताहरू बताउँछन्।

माओवादीका ती नेता पनि बाबुरामको प्रवेश सहज बनाउन पार्टीको नाम फेर्न लागिएको बताउँछन्। बाबुरामले चुनावअघि एकता गर्न खोजेका थिए। माओवादी नेताहरूले बृहत् वाम एकता गर्नुपर्ने भन्दै त्यति बेला बाबुरामलाई पार्टी प्रवेश गराएका थिएनन्। साथै माओवादी नामप्रति बाबुराम पनि सहमत छैनन्। अब बृहत् वाम एकताकै लागि नाम फेर्न लागिएको नेताहरूको दाबी छ।

‘हामीले सबै वामपन्थीलाई जोड्न यो प्रयत्न गरेका हौँ। जसपा र एकीकृत समाजवादीसँग पनि एकता हुन लागेको छ’, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले हिमाल प्रेससँग भने, ‘सिद्धान्त मिल्ने पार्टीसँग मिल्न नाम फेर्न लागेका हौँ।’

माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्।

माधव र उपेन्द्रलाई सहज

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले कठिन अवस्थाबाट गुज्रिरहेका छन्। एमालेबाट विभाजन भए पनि संसद्‍मा उनको दलको बलियो उपस्थिति हुन सकेन। माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन गर्दा एकीकृत समाजवादीलाई नसमेटेपछि अध्यक्ष नेपाल दुःखी छन्।

त्यसैले उनी पटकपटक ‘माओवादी’ शब्दबाहेक अन्य विषयमा आफू सहमत रहेको बताउँदै आएका छन्। यसकै सहजताका लागि प्रचण्डले माओवादको भारी बिसाउन खोजेको जानकारहरू बताउँछन्।

एकीकृत समाजवादीले ‘बृहत् वाम एकता’ का लागि पार्टी महासचिव बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाइसकेको छ। जसपा अध्यक्ष उपेन्द्र यादव पनि माओवादी नामप्रति असन्तुष्ट हुँदै आएका छन्। जनता समाजवादी पार्टीले पार्टी एकताकै लागि रकम चेम्जोङको नेतृत्वमा कार्यदल बनाएको छ।

समाजवादी केन्द्रलाई परिष्कृत रूपमा अघि बढाउने प्रयत्न भइरहेको नेताहरू बताउँछन्। माओवादीप्रति जनतामा देखिएको वितृष्णा, घट्दो जनमत, नेताबीचको दरारका कारण प्रचण्डले नयाँ पार्टी बनाउन लागेका हुन्।

गिरेको साख उठाउने दाउ

प्रचण्डले दुई वर्षअघि माओवादको भारी बिसाउन चाहेका थिए। एमालेसँग एकता गर्दा पार्टीमा ‘माओवादी’ थिएन। सर्वोच्च अदालतले पार्टी पूर्वअवस्थामा फर्काएपछि प्रचण्डको थाप्लोमा फेरि माओवादी शब्द आयो।

राजनीतिक विश्लेषक मुमाराम खनाल प्रचण्डले माओवादी ‘ब्रान्ड’ बाट लाभ लिइसकेपछि नयाँ यात्रामा लागेको बताउँछन्। प्रचण्डले पहिले पनि माओवादीले चारित्रिक रूपमा ‘माओवाद’ नअँगालेको उनको टिप्पणी छ।

‘कहिले एमालेसँग एकता त कहिले कांग्रेससँग गठबन्धन। यसरी माओवाद सिद्धान्त कहाँ चल्छ र?,’ उनी भन्छन्, ‘अब प्रचण्ड माओवाद फ्याँकेर कम्युनिस्ट ब्रान्ड मात्र बोक्न चाहन्छन्।’

माओवादीको जनमत बिस्तारै घट्दै गएकाले पनि उनले नाम फेर्न लागेको कतिपयको बुझाइ छ। शान्तिप्रक्रियापछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादी अहिले तेस्रोमा खुम्चिएको छ। सिटका हिसाबले माओवादी कमजोर हुँदै गएको छ। २०७४ सालको प्रतिनिधिसभामा प्रत्यक्षमा ३६ सिट जितेको माओवादी यसपटकको निर्वाचनमा १८ सिटमा झरेको छ।

एक नेता भन्छन्, ‘यसरी घट्दै जाने हो भने भोलिका दिनमा हाम्रो साख नरहन सक्छ। अध्यक्षज्यूलाई पार्टी चलाउन पनि सकस छ। पार्टीभित्र उपगुट निर्माणले माओवादीको सांगठनिक सुधार भएकै छैन।’

पहिलो संविधानसभा निर्वाचनपछि माओवादी सांगठनिक रूपमा कमजोर हुँदै आएको हो। ‘जनयुद्ध’ मा साथ दिएका प्रचण्डका सहयात्रीले छाड्दै गएका छन्। कुनै बेला मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’ र रामबहादुर थापा‘बादल’ प्रचण्डका दाहिने हात थिए। अहिले ती सबैले उनको साथ छाडेका छन्।

माओवादीको तुरूप सकिएपछि सत्तामा टिकिरहन प्रचण्ड–बाबुरामले नयाँ कसरत गरेको विश्लेषक खनालको बुझाइ छ। उनी भन्छन्, ‘बाबुरामजीले त माओवादी छाड्नुभयो। तर उहाँ संगठनात्मक र सैद्धान्तिक रूपमा माओवादीभन्दा फरक हुन सक्नुभएन। उहाँको त्यो कार्य पनि बिकेन। यही कारण अहिले नयाँ तरिकाले आउँदै हुनुहुन्छ।’ खनाल चरित्र भिन्न नभएपछि ‘वाद’ फेरेर केही नहुने बताउँछन्।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको गुटगत क्रियाकलापका कारण संठनात्मक कमजोरी भएको बताउँदै आएका छन्। माओवादीमा जनताको आकांक्षा घट्दै गएको बुझेर अध्यक्ष प्रचण्डले नाम परिवर्तन गर्न लागेको कतिपयको धारणा छ। पूर्वमाओवादी नेता हेमराज भण्डारी जनतामा नयाँपन दिन पार्टी पुनर्गठन गर्न खोजिएको हुन सक्ने बताउँछन्।

‘माओवादी शब्द छाड्दैमा छाडिँदैन। तर अहिलेको माओवादीमा जनताको आकांक्षा छैन,’ भण्डारीले भने, ‘पुरानै पार्टीमा नयाँ कभर लगाएर चलाउने प्रयत्नले यो गर्न खोजिएको हुन सक्छ।’

भण्डारीका अनुसार नेताहरू ‘राजनीति’ जोगाउन यो प्रयत्नमा लागेका हुन्। प्रचण्ड कमजोर हुँदै गएकाले शक्ति बढाउन र त्यसमा आफू टिकिरहन पार्टी एकताको प्रयत्न गरेको उनको बुझाइ छ।

माओवादी शब्दमै ‘हाउगुजी’

माओवादी खुला राजनीतिमा आउँदा ‘नेकपा माओवादी’ थियो। पछि मसाल समूह नारायणकाजी श्रेष्ठसँग एकतापछि ‘एकीकृत नेकपा माओवादी’ भयो। मातृका यादव, रामबहादुर थापा ‘बादल’ समूहसहित १० दलसँग एकता गर्दा पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ भयो। प्रचण्ड आफूलाई गतिशील देखाउन पनि पार्टीको नाम फेरिरहने गरेको टिप्पणी विश्लेषकहरूको छ।

‘पछिल्ला दिनमा नेता-कार्यकर्ताले माओवादी स्वीकार्न छाडेकाले प्रचण्ड नाम उद्दत रहेका छन्,’ विश्लेषक खनाल भन्छन्, ‘माओवादी भन्नेबित्तिकै जनयुद्ध मात्रै सम्झिन थाले। प्रचण्डले यो ह्याङओभर फेर्न चाहेका हुन्।’

नयाँ दलमा नेतृत्व व्यवस्थापन कसरी?

नयाँ पार्टी गठन गर्दा नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि नेताहरूबीच छलफल जारी छ। चारै दलका अध्यक्ष कुनै बेला पार्टीका शीर्ष तहमा रहिसकेकाले पार्टी एक भएपछि कसलाई के भूमिका दिने भन्ने विषयमा छलफल भइरहेको माओवादी कार्यदलका एक सदस्यले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =