निर्णायक डेम्बेले, तीक्ष्ण सिल्भा

हिमाल प्रेस २५ पुष २०७९ १३:३६
6
SHARES
निर्णायक डेम्बेले, तीक्ष्ण सिल्भा

काठमाडौँ- औसमाने डेम्बेलेले निर्णायक गोल गरेपछि बार्सिलोनाले आइतबार राति एट्लेटिको म्याड्रिडमाथि १–० को साँघुरो जित दर्ता गर्‍यो। यो जितले ला लिगामा बार्सिलोनाको शीर्षस्थानको माथिको पकड बलिया बनेको छ। वान्डा मेट्रिपोलिटानोमा तनावग्रस्त बनेको खेल जितेपछि बार्सिलोनाले रियल म्यड्रिडसँग तीन अंककाे दूरी कायम गर्नसक्याे।

शनिबार राति भिल्लारियलसँग हारेको रियलसँग ३८ छ भने र बार्सिलोनाले ४१ अंक जम्मा गरेको छ।

तीन खेलको प्रतिबन्ध भोगिरहेका रोबर्ट लेवान्डोस्कीबिना मैदान उत्रिएको बार्सिलोनाका लागि फ्रेन्च विंगर डेम्बेलेले २२ औँ मिनेटमा गोल गरेका थिए। जारी सिजन डेम्बेलेको गोल संख्या पाँच पुगेको छ। उनले पाँच असिस्ट पनि दर्ता गरेका छन्।

गोल खाएपछि केही मुभ बनाएको एट्लेटिकोले बराबरी गोल भने फर्काउन सकेन। एन्टोइन ग्रिजमन गोलको नजिक त पुगेका थिए तर उनको प्रहार बार्सिलोनाका रक्षक रोनाल्ड अरौओले ‘गोललाइन’ बाट क्लियर गरिदिए।

खेल सकिनै लाग्दा दुवै टिमका एक–एक खेलाडीले रातो कार्ड पाए। बार्सिलोनाका स्टेफन साभिच र बार्सिलोनाका फेरान टारेस सिधैँ रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। यी दुईको नोकझोक चलेको थियाे। जसकारण रेफ्रीले दुवै टिमलाई १०–१० खेलाडीमा सीमित गरिदिएका थिए।

‘यो मैदानमा खेल जित्न सजिलो हुँदैन। एट्लेटिकोलाई हराउन कठिन हुने थाहा भए पनि रियलको पराजयबाट फाइदा उठाउनु पर्छ भन्ने योजना थियो। यसकारण हामी जसरी हुन्छ जित्नुपर्छ भन्ने मनस्थितिबाट खेल्यौँ,’ बार्सिलोनाका कप्तान तथा मिडफिल्डर सर्जियो बुस्क्वेट्सले भने, ‘विशेषगरी दोस्रो हाफमा हामीले दबाब खेप्नुपर्‍यो। तर खेललाई नियन्त्रणबाट बाहिर जान दिएनौँ। अन्तिममा हाम्रो साथीले रातो कार्ड खाँदा खिन्न लागे पनि तीन अंकका कारण सन्तुष्ट छौँ।’

‘हामीले नराम्रो खेलेको होइन। केही राम्रा मौका पाएका थियौँ तर दुर्भाग्यवश गोल भएन। सायद भाग्यले पनि साथ दिएन। सुरुवाती २५ मिनेट सोचे जस्तो खेल्न नसके पनि त्यसपछिको समयमा भने हामीले बार्सिलोनालाई कडा टक्कर दियौँ। बार्सिलोना जस्तो टिमसँग खेल्दा सुरुमै गोल खाएपछि खेलमा फर्कन कठिन हुन्छ। तर हामीले अन्तिमसम्मै प्रयास गरेको हो,’ एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले भने।

लेवान्डोस्कीको अनुपस्थितिमा आन्सु फातीलाई खेलाएको बार्सिलोनाको आक्रमण चित्तबुझ्दो थिएन। उसका नाममा जम्मा दुई सट ‘अन टार्गेट’ रहे। सामान्यतया तीन मिडफिल्डर खेलाउने जाभी हर्नान्नडेजले एट्लेटिकोविरुद्ध चार मिडफिल्डर उतारेका थिए। कप्तान बुस्क्वेट्स र फ्रेन्की डे योङसँगै गाभी र पेड्री पनि मिडफिल्डमा देखिए।

दुई युवा मिडफिल्डरको साझेदारीमा गोलको अवसर सिर्जना भएको थियो। बल लिएर एट्लेटिकोको मिडफिल्ड छिचोल्दै अघि बढेका पेड्रीले पेनाल्टी बक्समा गाभीलाई पास दिएका थिए। त्यसपछि गाभीले डेम्बेलेलाई छाेटाे पास दिए, जसलाई फ्रेन्च फरवार्डले सजिलै गोलमा परिणत गरे।

एट्लेटिकोलाई हराएर रियलसँग दूरी बढाएको बार्सिलोनामाथि रियल सोसिडाडले दबाब सिर्जना गरिरहेको छ। अल्मेरियामाथि २–० को जित हासिल गरेको सोसिडाड तेस्रो स्थानमा छ। रियलभन्दा ६ र बार्सिलोनाभन्दा नौ अंकले पछि भए पनि सोसिडाडले दुई ठूला टिमलाई पछ्याउन छाडेको छैन।

सोसिडाडाले लिगमा १० औँ जित हासिल गर्दा भेट्रान प्लेमेकर डेभिड सिल्भाले एक गोल गरे। आफैँले गोलको मुभ बनाएका सिल्भाले टाके कुबोलाई अल्मेरियाको क्षेत्रमा पास दिएका थिए। कुबोले फर्काएको बललाई नियन्त्रणमा लिएका सिल्भाले अल्मेरियाका दुई खेलाडीलाई छक्याउँदै गरेको प्रहार सुन्दर गोलमा परिणत भयो।

सोसिडाडको दोस्रो गोल नर्वेका एलेक्जान्ड सोरलोथले गरे। मिकेल मेरिनोको लामो पास नियन्त्रणमा लिँदै सोरलोथले नजिकबाट गोल गरेका थिए।

ला लिगामा भएका अन्य खेलमा सेभियाले गेटाफेलाई र रियल बेटिसले रायो भाएकानोलाई समान २–१ ले पन्छाए। सेभियाको जितमा विश्वकप विजेता मार्कस एकुना र राफा मिरले एक–एक गोल गरेका थिए। गेटाफेका तर्फबाट बोर्जा मायोरालले एक गोल फर्काए।

बेटिसको जितमा लुइस हेनरिकले एक गोल गरे भने अर्को गोल उसले भाएकानोबाट उपहार पायो। पहिलो हाफको सातौँ मिनेटमै भाएकानोका इभान बालिउले आत्मघाती गोल गरेका थिए। २० औँ मिनेटमा सर्जियो कामेलोले गोल गरेर भाएकानोलाई खेलमा फर्काए पनि पहिलो हाफ सकिनै लाग्दा हेनरिकले गोल गरेपछि बेटिसले अग्रता पुनः स्थापित गरेको थियो।

ला लिगामा १६ औँ चरणका खेल सकिँदा बेटिस २८ अंकसहित चौथो स्थानमा छ। पाँचौँ स्थानको एट्लेटिको र छैटौँ स्थानको भिल्लारियलको २७–२७ अंक छ। लगातार दोस्रो जित निकालेपछि सेभिया रेलिगेसन क्षेत्रबाट बाहिर निस्किएको छ। काडिथसँग अंक (१५) बराबर भए पनि गोल अन्तरमा सेभिया १७ औँ स्थानमा उक्लिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast