हत्याकाण्डका नाइके २३ वर्षपछि चितवनबाट पक्राउ

हिमाल प्रेस २४ पुष २०७९ १८:२१
12
SHARES
हत्याकाण्डका नाइके २३ वर्षपछि चितवनबाट पक्राउ हत्याकाण्डका नाइके गिरी।

पोखरा– हत्याकाण्डका नाइके २३ वर्षपछि चितवनबाट पक्राउ परेका छन्। ०५६ साउन २२ गते पोखरा ३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीको हत्याका नाइके उमेश गिरीलाई प्रहरीले शनिबार दिउँसो साढे ४ बजे भरतपुर महानगरपालिका १२ धनगडा मन्दिरनजिकै नौरंगी टोलमा सीमा अधिकारीको घरमा कोठाबाट पक्राउ गरेको हो।

हत्याकाण्डमा संलग्नलाई प्रहरीले कसुरको मात्राअनुरूप केहीलाई सर्वस्वसहित जन्मकैद त केहीलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अरू प्रतिवादीहरूले सजाय भुक्तान गरे पनि हत्याकाण्डका नाइके गिरी हालसम्म फरार थिए।

गिरीलाई २३ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। उक्त हत्याकाण्डमा करिब १० जना संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

घटनापछि भागेर काठमाडौँ गई बसेको, वैदेशिक रोजगारीको सिलसिलामा कतार गएर त्यहाँ १२ वर्षजति बसेको, त्यहाँबाट फेरि इराक गएर ३ वर्ष बसेको, त्यहाँबाट अफ्गानिस्तानमा ७/८ वर्षजति बसेर चितवनमा आई व्यवसायमा संलग्न भएको उनले प्रहरीसँगको बयानमा भनेका छन्।

पछिल्लो समय भरतपुर महानगरपालिका वडा १२ मा डेरा गरी बस्दै आएका उनले चितवनमा रहँदा कहिले वाइन शप त कहिले आफ्ना बुवाआमा युकेमा छन् भनी आफू पनि युके जाने बताउने गरेको प्रहरीको भनाइ छ।

सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका गिरीलाई २५ वर्षसम्म जेल सजायका लागि जिल्ला अदालतको आदेशले कारागार कार्यालय कास्की चलान गरिएको छ।

सोही मुद्दामा १० जना पक्राउ परेकोमा अर्का प्रतिवादी पेले भन्ने प्रेमकुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दीपक पुनलाई सर्वस्वसहित जन्मकैद, पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिकप्रसाद पुन, लक्ष्मीप्रसाद पराजुलीलाई ३ वर्ष कैद सजाय सुनाइएको थियो।

प्रकाशित: २४ पुष २०७९ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =